लन्डनमा यसपटक पृथक शैलीमा पृथ्वी जयन्ती मनाउने तयारी



गत वर्ष आयोजित कार्यक्रम
लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको छ ।
पुस २७ अर्थात ११ जनवरी आइतबार मध्यान्ह लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा विगतभन्दा पृथक ढंगले पृथ्वी जयन्ती मनाउन लागिएको हो ।
संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले यो वर्ष बेलायतका अग्रज अभियन्ताहरुलाई विशेष सम्मान तथा सांस्कृतिक कार्यक्रम समेत थपेर पृथ्वी जयन्तीलाई पृथक एवं परिष्कृत बनाउने योजना रहेको सुनाए ।
उक्त कार्यक्रममा लन्डनस्थित नेपाली राजदूतावासदेखि एनआरएनए यूके लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, वुद्धिजिवी, विद्यार्थी लगायतलाई आमन्त्रण गरिएको छ ।
अध्यक्ष क्षेत्रीले सबैमा निम्ता पठाइसकिएको जनाउंदै यदि प्राप्त नभएको भए यसैलाई निमन्त्रणा स्वीकार गरेर सहभागिता जनाइदिन आग्रह गरेका छन् ।
अध्यक्ष भरत क्षेत्रीले बेलायतमा विगत १८ वर्षदेखि एक्लो प्रयासमा पृथ्वी जयन्ती मनाउंदै आएका छन् । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वी नारायण शाहको योगदान कहिल्यै भुल्न नहुने क्षेत्रीको धारणा छ ।

संगठनका अध्यक्ष भरत रोका क्षेत्री
पृथ्वी पुरस्कार नदिइने
यसपटक पृथ्वी पुरस्कार नदिइने भएको छ । अध्यक्ष क्षेत्रीका अनुसार, संगठनले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा सुर्खेतमा टाउकोमा गोली लागेर दुवै आंखाको ज्योति गुमाएका सन्तोष बोहोरालाई एक लाख रुपैयां आर्थिक सहयोग गरेका कारण यसपटक पुरस्कार वितरण नगरिने भएको हो ।
अध्यक्ष क्षेत्रीले एकजना कुनै पनि पार्टीमा आवद्ध नभएको स्वतन्त्र बुद्धिजिवी साथै पृथ्वी नारायण शाहका बारेमा गहिरो दख्खल राक्ने व्यक्तिलाई एक लाख रुपैयांको पुरस्कार दिंदै आएका थिए ।
३०० औं पृथ्वी जयन्तीबाट शुरु गरिएको पुरस्कार पहिलोपटक राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसी, दोश्रो पुरस्कार राजनीति विश्लेषक डा. राजेश अहिराज, तेश्रो पुरस्कार पर्यटन व्यवसायी एवं समाजसेवी भरत बस्नेत र चौंथो पृथ्वी पुरस्कार बर्दिया गुलरियाका स्वतन्त्र सामाजिक अभियन्ता कमलराज पौडेललाई प्रदान गरिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



