मंगलबार, ३ मार्च, २०२६
12:09 | १७:५४

लन्डनमा विविध सांस्कृतिक कार्यक्रमसहित साउथ इष्ट रिजनल तमुधिंको ल्होछार

नेपाली लिङ्क डिसेम्बर २९, २०२५

लन्डन-साउथ इष्ट रिजनल तमुधिं यूकेले आइतबार साँझ लण्डन प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा भव्य कार्यक्रमका साथ तमु ल्होछार कार्यक्रम सम्पन्न गरेको छ।

तमु समुदायको मौलिक भाषा, धर्म, संस्कृति र परम्परा झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरु गरिएको कार्यक्रममा स्थानीय तमु समुदाय साथमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता गरेका साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष शिवराम गुरुङ बीईएम, प्रमुख अतिथि तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, स्थानीय ग्रीनवीच बरोका पूर्व मेयर जित रानाभाट, संस्थाकी संस्थापक आमा प्रमुख मायारानी गुरुङ, तथा डायमण्ड बुद्धिस्ट सेन्टरका पूजा प्रमुख लोप्पेन रामप्रसाद गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले तमुधिं यूके सबै तमुहरूको आस्था र विश्वासको साझा धरोहर बन्न सफल भएको भन्दै संस्थालाई यहाँसम्म ल्याइपुर्‍याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

मौलिक भाषा, धर्म र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न जरूरी रहेकाले यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता अध्यक्ष गुरुङले औंल्याए।

स्थानीय ग्रीनवीच पूर्व मेयर जित रानाभाटले बेलायतमा नेपाली समुदायको पहिचान जोगाइराख्न तमुधिंले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए।

समापन मन्तव्यमा अध्यक्ष शिवराम गुरुङ बीईएमले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद ज्ञापन गरे। उनले मौलिक कला र संस्कृति तमुहरूको पहिचान भएको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवर्द्धनमा एकजुट हुन सबैलाई आग्रह गरे।

कार्यक्रम संयोजक तथा संस्थाका पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ का साथ् कार्यक्रमको रुपरेखाबारे संक्षिप्त जानकारी गराएका थिए।

उपाध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिंदै अतिथिहरुको स्वागत गरेका थिए भने आमा समूहका सदस्यहरूले सुन्दर स्वागत नृत्य प्रस्तुत गरेका थिए।

उक्त अवसरमा संस्थाका पूर्व अध्यक्ष ह्यारी गुरुङको संयोजनमा सन् २००२ मा स्थापना भएदेखि संस्थाको हालसम्मको नेतृत्व र गतिविधिबारे एक भिडियो वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।

सोही अवसरमा संस्थाले संस्थाप्रति पुर्‍याएको विशेष योगदानको कदर गर्दै डम्मरकाजी गुरुङलाई सम्मान प्रदान गरेको थियो। साथै विभिन्न संघसंस्थामा उल्लेखनीय सफलता हासिल गरेका तथा अध्यक्ष पदमा निर्वाचित भएका व्यक्तित्वहरू रामचन्द्र सुर्जे गुरुङ, श्रीचन्द्र गुरुङ, ह्यारी गुरुङ, सूर्य गुरुङ, डेभिड गुरुङ र योगेश गुरुङलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा तमु तथा नेपाली संस्कृति झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार केश गुरुङ र सलोमी गुरुङको विशेष सांगीतिक प्रस्तुतिले उपस्थित दर्शकहरूको मन जितेको थियो। अन्य स्थानीय कलाकारले पनि आकर्षक नृत्यसहितका विविध मनोरन्जन पस्किएका थिए। अन्त्यमा डिजे हेम विष्टले नचाएका थिए।

औपचारिक कार्यक्रम सञ्चालन महासचिव कमल गुरुङले गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सूर्य गुरुङ र अंशु गुरुङले सञ्चालन गरेका थिए।

कार्यक्रममा तमुधिं यूके, तमु समाज यूके, तमु फोरम यूकेसहित बेलायतका विभिन्न तमु संस्थाका अध्यक्ष, पूर्व अध्यक्ष, प्रतिनिधिहरु साथै साउथ इष्ट लन्डनस्थित गैरतमु नेपाली समुदायबाट पनि विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेखनीय सहभागिता थियो।

कार्यक्रममा राफल ड्र मार्फत संकलित ५ सय पाउण्ड ‘हस्पिस यूके’ लाई सहयोग गरिएको छ।

      

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू