शुक्रबार, २६ डिसेम्बर, २०२५
10:54 | १६:३९

तमु समाज यूकेलाई तेश्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डमा ऐतिहासिक सफलता

नेपाली लिङ्क डिसेम्बर २६, २०२५

लन्डन । तमु समाज यूकेले तेश्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डमा ऐतिहासिक सफलता प्राप्त गरेको छ ।

नेपालका आदिवासी जनजाति समुदायको कला, संस्कृति, भेषभूषा, गीत–संगीत तथा चलचित्र संरक्षण र प्रवर्धन गर्ने उद्देश्यका साथ चलचित्र विकास बोर्ड, चावहिलमा बिहीबार आयोजित अवार्ड समारोहमा समाजले विभिन्न ५ विधामा अवार्ड जितेको हो ।

समाजले कुल ३५ विधामध्ये आदिवासी सर्वोत्कृष्ट गीत विधासहित विभिन्न पाँच विधामा जनमत (भोटिङ) का आधारमा प्रथम स्थान हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ ।

तमु समाज यूकेले आदिवासी सर्वोत्कृष्ट गीत, आदिवासी गीतकार विधा– सूर्य गुरुङ (तमु समाज यूके), आदिवासी म्यूजिक भिडियो निर्देशक विधा – श्रीमती तन्याङ सरु गुरुङ राना (तमु समाज यूके), मौलिक गीत गायन विधा – आर. के. गुरुङ (तमु समाज यूके) र मौलिक गुरुङ गीत गायिका विधा – अनिता गुरुङ (तमु समाज यूके) मा अवार्ड जितेको छ ।

आदिवासी जनजातिको भाषा, कला संस्कृति, गीत–संगीत तथा चलचित्र संरक्षण, प्रवर्धन र पहिचानको महान उद्देश्यका साथ निरन्तर क्रियाशील तमु समाज यूकेको यो उपलब्धि सम्पूर्ण तमु-गुरुङ समुदायका लागि गर्वको विषय बनेको संस्थाको दावी छ । यस सफलताले संस्थाको एकता, नेतृत्व क्षमता, सृजनशीलता र समर्पणलाई उजागर गर्नुका साथै भावी पुस्तालाई समेत सकारात्मक प्रेरणा दिएको विश्वास लिइएको छ ।

समाजले संस्थाको तर्फबाट प्रतिनिधित्व गर्दै कार्यक्रममा उपस्थित भएका सल्लाहकार तथा पूर्व महासचिव ज्ञानबहादुर गुरुङ, वरिष्ठ पत्रकार लाला गुरुङ, मेजर डिल बहादुर गुरुङ (एमभिओ), गायक आर के गुरुङ तथा शिरज गुरुङप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।

यसैगरी कार्यक्रम भव्य, मर्यादित र सफल बनाउन नेतृत्व प्रदान गर्ने राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डका अध्यक्ष उमेश गुरुङ, क्वालिटी फिल्मस् नेपाल, आयोजक टिम, स्वयंसेवकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैको योगदान अत्यन्तै प्रशंसनीय रहेको पनि जनाएको छ ।

समाजले यूकेबाट विभिन्न समयमा नेपालसँग समन्वय गर्दै व्यवस्थापनमा सहयोग पुरयाउनुका साथै यूके र नेपाल दुवै स्थानमा भोटिङ अभियानलाई सशक्त रूपमा अघि बढाउन सक्रिय भूमिका निर्वाह गर्ने संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ तथा अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेप्रति पनि विशेष धन्यवाद व्यक्त गरेको छ ।

उक्त समारोहमा प्रमुख अतिथी चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, विशेष अतिथी कविता आले, धिरेन शाक्य, राजेन्द्र खड्की लगायतले अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा पत्रकार अनिल गुरुङ र अग्रज गायक तथा संगीतकार कृष्ण गुरुङलाई सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू