लन्डन अन्डरग्राउन्ड रेलमा पाँच वर्षयता सबैभन्दा धेरै यौन अपराध



लन्डन । लन्डन अन्डरग्राउन्ड रेलमा पाँच वर्षयता सबैभन्दा धेरै यौन अपराध भएको नयाँ तथ्याङ्कले देखाएको छ ।
सन् २०२४–२५ मा ट्यूब लाइनहरुमा ५९५ यौन अपराध भएका छन् । सन् २०१९–२० मा भएका ७७६ अपराध पछिको यो सबैभन्दा बढी भएको बीबीसीले जनाएको छ ।
यस वर्ष अप्रिल र अक्टोबरको बीचमा ब्रिटिश ट्रान्सपोर्ट पुलिसमा ३४१ यौन आक्रमणको उजुरी गरिएको थियो ।
अप्रिल २०१५ देखि ३१ अक्टोबर २०२५ सम्म ट्युबमा कुल ६,४७५ यौन अपराधका घट्ना भए, जुन प्रतिदिन औसत १.७ थियो । धेरैजसो अपराध अक्टोबर र जुलाईमा भएका तथ्याङ्कले देखाएको छ ।
सेन्ट्रल र नर्दर्न लाइनमा प्रत्येकमा एकहजार बढी आक्रमण भएका तथ्यांक छ । त्यस्तै, किंग्स क्रस स्टेशनमा ११८ यौन आक्रमण भएको छ भने त्यसपछि अक्सफोर्ड सर्कस (११७) र ब्यांक स्टेशनमा ९८ घट्ना भएका छन् ।
ट्रान्सपोर्ट फर लन्डन (टिएफएल) ले सार्वजनिक यातायातमा महिला र युवतीहरूविरुद्ध हुने हिंसा सम्बोधन गर्नु आफ्नो लामो समयदेखिको प्रमुख प्राथमिकता बताउंदै सशक्त कारबाही गरिएको जनाएको छ ।
तथ्यांक अनुसार यौन अपराधको सबैभन्दा खराब वर्ष सन् २०१८–१९ बन्यो जसमा ८६२ अपराधबारे ब्रिटिश ट्रान्सपोर्ट पुलिसलाई उजुरी गरिएको थियो ।
बीबीसीका अनुसार, ‘फ्रिडम अफ एक्सप्रेसन’ अन्तर्गत भएको अनुरोधमा टिएफएलले यो तथ्यांक सार्वजनिक गरेपनि लन्डन ओभरग्राउन्ड, डिएलआर वा एलिजावेथ लाइनमा भएका अपराध भने यहां समावेश गरिएको छैन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



