बेक्सली नेपाली समाज यूकेको एक वर्षे ध्यान, जुम्बा तथा फिटनेस कक्षा शुभारम्भ हुंदै


लन्डन- विश्व ध्यान दिवसको अवसर पारेर बेक्सली नेपाली समाज यूकेले २१ डिसेम्बरमा एक वर्षे योग, ध्यान, जुम्बा र फिटनेस कक्ष शुभारम्भ गर्ने भएको छ ।
नेश्नल लटरी कम्युनिटी फण्डको आर्थीक सहयोगमा सञ्चालन गरिन लागेको यो कार्यक्रमले बेक्सलीमा बसोबास गर्ने नेपाली समुदायको शारीरिक, मानसिक, तथा सामाजीक स्वास्थ्य प्रवर्द्धन गर्न महत्वपुर्ण योगदान गर्ने अपेक्षा छ ।
कक्षा उद्घाटन गर्न स्थानीय बेक्सली बरोकी मेयर र काउन्सिलरहरुलाई आमन्त्रण गरिएको तथा उनीहरुले सहभागिता पक्का गरिसकेको महासचिव उमेश गौतमले जानकारी दिए।
सो अवसरमा योगा, जुम्बा तथा फिटनेस प्रशिक्षकले ‘इण्डक्सन’ समेत दिनेछन्।
समाजकी अध्यक्ष विजिता गौतमले संस्थाका सदस्यहरुको मानसिक, शारीरिक र मनोवैज्ञानिक स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य-मैत्री कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिइन् । ‘मन र शरीर दुवैलाई स्वस्थ राख्न ध्यान, योग र नियमित व्यायाम अत्यावश्यक हुन्छ, । हाम्रो उद्देश्य समुदायलाई स्वस्थ जीवनशैली अपनाउन पे्ररित गर्नु हो’, उनले भनिन् ।
लामो समयदेखि नेपाली समुदायसंग नजिक रहेर काम गरेकी अध्यक्ष गौतमको अनुभवमा समुदाय स्तरमा सञ्चालन गरिने यस्ता कार्यक्रमले मानिसलाई एकआपसमा नजिक ल्याउन, साझा समस्याबारे बोल्ने वातावरण बनाउन र समुदायमा सकारात्मकता फैलाउन सहयोग गरेको छ ।
विश्व ध्यान दिवस आत्मअनुशासन, शान्ति र मानसिक सन्तुलनको सन्देश बोकेको दिन भएकाले सोही अवसरमा समुदायकै लागि दीर्घकालिन स्वास्थ्य कार्यक्रम सुरु गर्न लागिएको संस्थाका ट्रस्टी तथा कार्यक्रम संयोजक दिपेन सिटौलाले जानकारी दिए ।
समाजले गत वर्ष पनि बेक्सली क्षेत्रमा बस्ने नेपालीहरुलाई लक्षित गर्दै योग, ध्यान, जुम्बा तथा फिटनेसको कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रम अत्यन्त सफल भएको स्मरण गर्दै संस्थाका ट्रष्टी सिटौलाले यस्ता गतिविधिले विदेशमा व्यस्त दिनचर्याबीच पनि नेपालीहरुलाई हप्तामा एक–दुई दिन भेट्ने, सम्बन्ध मजबुत बनाउने र स्वास्थ्यमा ध्यान दिन पे्ररित गर्ने बताए ।
‘एउटा व्यक्ति परिवर्तन भए लाखौंमा प्रभाव पर्छ’ भन्ने मूल नाराका साथ विश्व स्वास्थ्य संगठनले यो वर्षको विश्व ध्यान दिवस–२०२५ मनाउँदैछ । दिवसको मूल सन्देश ‘शान्त मन, स्वस्थ शरीर, समृद्ध समाज’ लाई व्यवहारमै उतार्दै बेक्स्ली नेपाली समाज यूकेले पनि फिटनेस, योग र ध्यानलाई समुदाय स्तरमा जीवनशैलीको हिस्सा बनाउने अभियान थालेको छ । एक वर्षभर चल्ने यो कार्यक्रमले समुदाय स्तरमा भावनात्क सम्बन्ध बलियो बनाउने विश्वास गरिएको छ ।
-मिना शर्मा
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



