बुधबार, १७ डिसेम्बर, २०२५
12:55 | १८:४०

इंग्ल्यान्डमा चिकित्सकहरूको पाँच दिने हड्तालले बिरामीहरू थप मारमा

नेपाली लिङ्क डिसेम्बर १७, २०२५

लन्डन । इंग्ल्यान्डमा आवासीय (जुनियर) डाक्टरहरूले आज बुधबारदेखि पाँच दिने हड्ताल सुरु गरेका छन्। हड्तालका कारण बिरामीहरूले सास्ती खेप्नुपर्ने बताइएको छ।

एनएचएसका अधिकारीहरूले यसअघिका हड्तालहरूमा जति धेरै सेवा सुचारु राखेका थिए, यस पटक त्यति राख्न निकै संघर्ष गरिरहेको बताएका छन्।

हाल अस्पतालहरूमा फ्लूका बिरामीहरूको चाप बढिरहेको बेला आज बुधबार बिहान ७:०० बजेदेखि सुरु भएको हड्तालले महत्वपूर्ण सेवाहरू प्रभावित हुने एनएचएस इंग्ल्यान्डले जनाएको छ। यो लामो समयदेखि चलिरहेको तलब विवादमा चिकित्सकहरूको १४औँ हड्ताल हो।

स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले यो हड्ताल एनएचएसलाई धेरै क्षति पुर्‍याउने र बिरामीहरूलाई जोखिममा पार्ने उद्देश्यले गरिएको बताएका छन्। तर ब्रिटिश मेडिकल एसोसिएसनले सेवा सुचारु गर्न एनएचएसका अधिकारीहरूसँग सहकार्य गर्ने जनाएको छ।

दुवै पक्षबीच मङ्गलबार दिउँसो अन्तिम समयमा वार्ता भएपछि हड्ताल गरिएको हो। सरकारले बैठकलाई ‘सकारात्मक’ भनेको छ, तर हडताल रोक्न पर्याप्त प्रगति हुन सकेन।

हड्तालमा उत्रिएका चिकित्सकहरूले एनएचएसमा काम गर्ने लगभग आधा चिकित्सकहरूको प्रतिनिधित्व गर्छन्। उनीहरूले आपत्कालीन लगायतका सेवाहरू बहिष्कार गर्नेछन्, र वरिष्ठ चिकित्सकहरूले त्यसको व्यवस्थापन गर्नेछन्।

जुलाई र नोभेम्बरमा भएका दुईवटा पछिल्ला हड्तालहरूमा एनएचएस इंग्ल्यान्डले धेरैजसो ननअर्जेन्ट शल्यक्रिया उपचारहरू, जस्तै हिप र घुँडाको शल्यक्रियालाई निरन्तरता दिएको बताएको थियो।

तर एनएचएस इंग्ल्यान्डले यस पटक थप अवरोध हुने अपेक्षा गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू