मंगलबार, १६ डिसेम्बर, २०२५
18:53 | ००:३८

बेलायती रक्षा मन्त्रालयमा गोर्खा वार्ता-पेन्सनविनाकै समाधानमा बेलायतको अडान

नेपाली लिङ्क डिसेम्बर १६, २०२५

लन्डन- भूतपूर्व गोर्खाहरुको मुद्धामा झण्डै डेढ वर्षपछि भएको मन्त्रीस्तरीय वार्ता सकारात्मक भएपनि बिना कुनै निष्कर्ष सकिएको छ।

मंगलबार दिउंसो लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा गोर्खा प्रतिनिधिसमेतको सहभागितामा भएको त्रिपक्षीय वार्ता थप छलफल गर्ने सहमतिसहित टुंिगएको हो ।

वार्तामा नेपाल सरकारको प्रतिनिधित्व गर्दै सहभागी बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले वार्ता सकारात्मक भएको तर निष्कर्षका लागि थप छलफल आवश्यक भएको बताए ।

समग्र विषयमा सकारात्मक रुपमा छलफल भएको तर मुद्धाहरु केन्द्रित छलफल हुन बाँकी रहेकाले अब अर्को चरणमा वार्ता गर्ने सहमति भएको कार्यवाहक राजदूत दुवाडीले बताए ।

वार्तामा सहभागी बेलायती मन्त्रीको टोन र प्रस्तुति सकारात्मक रहेको भन्दै उनले थप छलफलबाट सकारात्मक नतिजा निस्किने आशा व्यक्त गरे ।

चाँडै अर्को चरणको वार्ता गर्ने सहमति भएपनि मिति तय हुन बाँकी रहेको दुवाडीले बताए ।

वार्तामा सहभागी भूतपूर्व गोर्खाका प्रतिनिधि वार्ताकार मेजर जुदबहादुर गुरुङले पनि वार्तामा एजेन्डागत रुपमा ठोस छलफल हुन बाँकी रहेको बताए ।

वार्तामा सहभागी बेलायत सरकारकी मन्त्रीले पेन्सन बाहेकको विकल्पमा समाधान खोज्नुपर्ने आफूहरुको अडान दोहोर्याएको उनले जनाए।

मुद्धाहरुमा थप छलफल र नेगोसिएसन बाँकी रहेकाले अहिले नै केही भन्न नसकिने गुरुङको भनाइ छ ।

झण्डै एकघण्टा चलेको वार्तामा बेलायतका तर्फबाट भेट्रान्स मन्त्री लुइस स्यान्डर जोन्स तथा नेपालका तर्फबाट कार्यवाहक राजदूत विपिन दुवाडीका साथमा सैनिक सहचारी सहायक रथी अनुप शाह सहभागी थिए।

भूतपूर्व गोर्खाको प्रतिनिधित्व गर्दै जी१० समूहबाट मेजर जुदबहादुर गुरुङ, मेजर टिकेन्द्र दल देवान, मेजर उदयबहादुर गुरुङ, पुष्पा राणा घलेले भाग लिएका थिए।

गत २७ मार्च २०२४ पछि गोर्खा मुद्धामा मन्त्रीस्तरमा पहिलोपटक वार्ता भएको हो ।

यसअघि पछिल्लो चार वर्ष तीन महिना अवधिमा प्राविधिक तहका दर्जन बैठक र मन्त्रीस्तरीय करिब आधा दर्जन वार्ता भए पनि निष्कर्ष भने निस्किन सकेको छैन।

तस्विर: प्रकाश कंडेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू