बेलायतबाट नेपाल लगेर सुधार केन्द्रमा राखिएका युवाको मृत्यु ‘शंकास्पद’ भन्दै जाहेरी



लन्डन–नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग गरेको छ ।
विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुनःस्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गरयो ।
ढकालको केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएका बिरामीको कुटपिटबाटै मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । केन्द्रले भने ढकाल भाग्नका लागि भवनमाथिबाट हामफाल्ने क्रममा लडेर घाइते भएको र त्यसपछि उपचारका क्रममा मृत्यु भएको दावी गरेको छ ।
स्वर्गीय ढकालका परिवारले सुधार केन्द्रभित्र कुटपिटबाटै मृत्यु भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । पीडितको जाहेरीपछि केन्द्रका कर्मचारी र त्यहाँ उपचारका लागि राखिएका समेत ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले केन्द्रका कर्मचारी आशिष विकसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।
पीडितका मामा रामगोपाल भण्डारीले भान्जालाई १३ दिनअघि सुधार केन्द्रमा राखिएको, त्यसपछि परिवार र आफन्त कसैलाई पनि भेट गर्न नदिइएको र मृत्यु भएपछि मात्र खबर गरिएको बताए । डिपेन्डेन्टका रुपमा बेलायतमा बस्दै आएका ढकाल लागूऔषध दुर्व्यसनमा परेपछि उपचारका लागि नेपाल लगिएको थियो । उनलाई परिवारले कात्तिक २५ गतेदेखि केन्द्रमा राखेको थियो ।
मामा भण्डारीका अनुसार केन्द्रले तीन महिनाका लागि १ लाख रुपैयाँ रकम लाग्ने जनाएपछि पहिलो महिनाको ३० हजार रुपैयां भुक्तानी गरी सकिएको थियो । ‘भित्र राखेपछि कसैलाई भेट गर्नै दिइएन,’ उनले भने, ‘एकै पटक मृत्यु भएपछि मात्र खबर गरियो ।’
केन्द्रले चौतारी हस्पिटल प्रालिका नाममा नशा, स्नायू तथा मनोरोग अस्पताल पनि सञ्चालन गर्दै आएको छ ।
मृतक नारायण ढकालका बुवा धर्म ढकाल लगायत परिवारले आफ्नो छोराको हत्या गरिएको भन्दै पुनःस्थापना केन्द्रले नै उक्त घटनाको पूर्ण जिम्मेवारी लिनुपर्ने र दोषीहरुलाई कडा कारवाही गरिनुपर्ने माग गरेका छन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



