‘मोतीलाल सिंह फेलोसीप’का लागि रकम संकलन गर्दै सिएनएस युके



लन्डन– ‘सेन्टर फर नेपाल स्टडिज’ (सिएनएस) युकेले बेलायत आउने पहिलो नेपाली मोतिलाल सिंहको नाममा स्थापना गरेको शोध छात्रवृत्ति कोषका लागि रकम संकलन अभियान सुरु गरेको छ । शैक्षिक एवं प्राज्ञिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको यो छात्रवृति वार्षिक रूपमा नेपालमा रहेर स्नातकोत्तर वा उच्च अध्ययन गर्ने एकजनाले पाउने गर्दछन् ।
वार्षिक पचास हजार रुपियाँ प्रदान गरिने सो छात्रवृत्ति पाउने विद्यार्थी छनोटका लागि सिएनएस युकेले नेपालमा ‘सोसल साइन्स बहा’ संस्थासँग सहकार्य गर्ने गरेको छ । सिएनएस युकेले सो छात्रवृत्ति कोषका लागि बेलायत तथा बेलायतबाहिरका दाताहरूसित सहयोग संकलन गरिरहेको छ ।
अक्सफोर्ड विश्वविद्यालयका अवकासप्राप्त प्रोफेसर डेभिड गेल्नर तथा नेपालमा राष्ट्रिय इतिहास पुरस्कार पाएका अध्येता जोन ह्वेल्पटनले पुरस्कारवापतको राशी सो कोषलाई प्रदान गरेका छन् । यस्तै बेलायतमा बस्ने अन्य नेपालीहरूले पनि कोषको लागि आर्थिक सहयोग गरिरहेका छन् ।
हालसम्म यो अभियनमा करिब आठ लाख नेपाली रुपैयाँ संकलन भएको बताइएको छ । संस्थाका पूर्व कार्यकारी निर्देशक डा. कृष्ण अधिकारीले बेलायत तथा विश्वको विभिन्न भूभागमा बसोबास गरिरहेका सबै नेपालीलाई सो अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।
‘बेलायतमा पहिलो पाइला राख्ने हाम्रा पुर्खा मोतिलाल सिंहको नाममा स्थापित यस छात्रवृत्ति कोषमा तपाईंको सानो सहयोग पनि भविष्यका अनुसन्धानदाता बन्ने बिद्यार्थीहरूका निकै ठूलो सहयोग बन्न सक्छ’- डा अधिकारीले भने ।
सन् २००६ मा युकेमा रहेका नेपाली अध्येताहरूद्वारा खडा गरिएको गैर नाफामूलक संस्था ‘सेन्टर फर नेपाल स्टडिज’ (सिएनएस) युकेले बेलायतको नेपाली समाजमा आधारित विभिन्न विषयमा खोज–अनुसन्धान तथा विमर्श गर्दै आएको छ । यद्यपि, सीमित स्रोत र बजेटका कारण कतिपय अनुसन्धान र पुस्तक प्रकाशनका काम सोचेअनुसार गर्न नसकिएको संस्थाका कार्यकारी निर्देशक लोकेन्द्र पुरुष ढकाल बताउँछन् ।
सो छात्रवृत्तिमा सहयोग गर्न इच्छुक दाताहरूले संस्थाको निम्न खातामा रकम जम्मा गर्न सकिने बताइएको छ ।
CNSUK LTD
Sort code: 60-01-08
AC No: 42089670
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



