मंगलबार, ९ डिसेम्बर, २०२५
07:53 | १३:३८

बेलायतमा युवा बेरोजगारी कम गर्न सरकारको विशेष योजना

नेपाली लिङ्क डिसेम्बर ९, २०२५


लन्डन । बेलायतमा बढ्दै गएको युवा बेरोजगारी कम गर्न सरकारले एउटा व्यापक योजना सार्वजनिक गरेको छ।

यसअनुसार राज्यबाट सहायता लिइरहेका युवाहरूलाई निर्माण, आतिथ्य, स्वास्थ्य तथा सामाजिक हेरचाह जस्ता क्षेत्रमा रोजगारी र प्रशिक्षण अवसर उपलब्ध गराइनेछ।

सरकारले ३ लाख ५० हजार प्रशिक्षण तथा कार्य-अनुभव प्लेसमेन्ट उपलब्ध गराउनेछ, भने ५५ हजार रोजगारी गरिबी तथा बेरोजगारीले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा सन् २०२६ को वसन्तबाट लागू गरिनेछ।

यो योजना गत महिनाको बजेटमा चान्सलर राचेल रिभ्सले घोषणा गरेको ८२० मिलियनपाउण्डको कोषबाट सञ्चालन गरिनेछ, जसको उद्देश्य युवा पुस्तालाई युनिभर्सल क्रेडिटमा बसिरहनुभन्दा रोजगारी तथा सीप विकासतर्फ लैजानु हो।

वर्क एण्ड पेन्सन सेक्रेटरी प्याट म्याकफेडनका अनुसार यो कार्यक्रमले बेरोजगार युवालाई ‘जीवनमा केही बनाउने अवसर’ प्रदान गर्नेछ। तर विपक्षी कन्जर्भेटिभ पार्टीले भने बजेटकै कारण युवा बेरोजगारी बढेको आरोप लगाएको छ।

बेलायतमा १६–२४ वर्ष उमेरका रोजगार, शिक्षा वा तालिममा नरहेका युवाहरूको संख्या सन् २०२१ देखि निरन्तर बढ्दै आएको छ, र अहिले करिब १० लाख युवा न त आय आर्जन गरिरहेका छन् न त अध्ययनमा संलग्न छन्।

सरकारले यसअघि सेप्टेम्बरमा घोषणा गरिसकेको थियो कि १८–२१ वर्षका ती युवा, जो १८ महिनाभन्दा बढी बेरोजगार वा शिक्षाबिहीन छन्, उनीहरूलाई अनिवार्य कार्य-अनुभव प्रदान गरिनेछ। प्रस्ताव अस्वीकार गर्दा उचित कारण नभएमा सुविधा कटौतीसमेत हुन सक्छ।

डिपार्टमेन्ट फर वर्क एण्ड पेन्सन (डीडब्लुपी) ले जनाएअनुसार युनिभर्सल क्रेडिटमा रहेका युवाहरूका लागि नयाँ प्रशिक्षण र कार्य-अनुभवका अवसरहरू विशेष गरि कन्स्ट्रक्सन, हस्पिटालिटी, हेल्थ एण्ड सोसियल केयर क्षेत्रमा उपलब्ध गराइनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू