आइतबार, ७ डिसेम्बर, २०२५
17:06 | २२:५१

बेलायतमा नेपाली युवाको लोभलाग्दो कफी कला, कफीबाटै झल्काउंछन् नेपाल

नेपाली लिङ्क डिसेम्बर ७, २०२५

लन्डन । काठमाडौं छंदा बुबाको कार्पेट फ्याक्ट्रीमा सघाउंथे उनी । तिब्बेत सप्लाई हुन्थ्यो कार्पेट, बौद्धमा शो रुम थियो । फिजिक्स पढेकाले उनी पढाउने काम पनि गर्थे । तर, ८ वर्षअघि बेलायत आएपछि उनी फरक क्षेत्रमा स्थापित भए ।

कफी कलाका कारण बरिष्टा श्याम लामा यतिखेर चर्चामा छन् । अझ बीबीसी बर्कसायरले उनको कफी कौशल ‘कभर’ गरेपछि उनको लोकप्रियता आकासिएको छ ।

मास्टर्स अध्ययनरत छंदै सन् २०१७ मा फिएन्से यतै भएर यूके आएका थिए श्याम लामा ।

बेलायत आएपछि केही काम त गर्न परिहाल्छ । आफन्त दावा स्याङ्बो तामाङले रेडिङस्थित मन्चिज क्याफेमा काम गर्न अफर गरेपछि उनले नाइ भनेनन् । त्यहींबाट कफी यात्रा शुरु भयो श्यामको ।

नेपालमा कफी पिउन बाहेक कफीको ‘क’ समेत नजानेका उनले आफैं रिसर्च गरेर कफी बनाउन सिके मन्चिज क्याफेमा । उनी युट्यूबमा नयां नयां डिजाइन् हेर्थे । अहिले उक्त क्याफे बन्द छ ।

सन् २०१८ पछि यस क्षेत्रमा फूलटाइम लागेका उनी अहिले आर्बरफिल्ड ग्रीनको स्टेबल्स् कफी सपमा काम गर्छन् हेड बरिष्टाका रुपमा । ‘इन हाउसमा सिकाउने काम पनि गर्छु’, उनले सुनाए ।

उनले कफीमा बनाउने आकर्षक आकृतिका कारण अहिले स्टेबल्समा ग्राहकको निकै भीड लाग्ने गरेको छ ।

उनी विगत तीन वर्षदेखि यूके लाट्टे आर्ट च्याम्पियनसीपमा प्रतिष्पर्धा पनि गर्दै आएका छन् । हालै लन्डनमा आयोजित प्रतिष्पर्धामा उनी 
चौंथो स्थानमा आएपछि थप उत्साहित बनेका छन् । ‘अब विश्व लाट्टे आर्ट च्याम्पियनसीपमा प्रतिस्पर्धा 
गर्ने लक्ष्य छ’, उनले सुनाए ।

विश्व च्याम्पियनसीपमा नेपालको हिमाल, पहाड, तराई झल्काउने श्यामको योजना छ । ‘हाम्रो देशमा धेरै विविधता छ । कफी कलामार्फत नेपाल चिनाउने मेरो धोको छ’, उनले नेपालीलिंकसंग भने ।

श्यामले आफूले बनाउने कफीमा प्रायः फूल र 
खरायो, कछुवा आदि जनावरका आकृति सिर्जना गर्ने गरेका छन् । उनलाई बढी त पुतली बनाउन मन पर्छ ।

बीबीसी रिपोर्टर कफी पिउन आउंदा लोभिए उनको कलामा

श्यामले दिनमा सयौं ग्राहकलाई कफी बनाएर दिने गर्छन् । त्यसैक्रममा एकदिन बीबीसी बर्कसायरका रिपोर्टर त्यहां कफी पिउन पुगेका रहेछन् । उनले चिनेका पनि थिएनन् । अर्डरपछि नर्मल डिजाइन खरायोको आकृति बनाएर कफी दिए ति पत्रकारलाई । ‘उनलाई मेरो डिजाइन मन परेछ, अप्रोच गरेर झण्डै महिना दिनपछि आएर भिडियोसहित अन्तर्वार्ता लिए’, उनले भने ।

श्यामको भनाइमा कफी बनाउने बेग्लै रिसिपी हुन्छ । स्पेशालिटी कफी एसोसिएसन (एससीए) ले बनाएको मापदण्ड अनुरुप कफी बनाउनु पर्ने उनले बताए ।

राम्रो कफी हुन तापक्रम, मात्रा, समय, दुध, बास्ना, गुलियो, अमिलो, तीतो स्वाद सबैको संयोजन हुन जरुरी देख्छन् उनी ।

‘कफी बनाउन हेर्दा जस्तो सजिलो छैन् । यसमा साइन्स र आर्ट मिश्रित हुन्छ’, उनले भने, ‘अहिले नयां नयां इनोभेसन आइरहेको छ । समय अनुसार चल्न पनि सक्नुपर्छ ।’

उनलाई भविष्यमा जागिरमात्र भन्दा आफ्नै केही गरौं भन्ने छ ।

श्याम श्रीमति र एक छोराका साथ रेडिङमा बस्छन् । उनका बुबा आमाको बसाइ भने सिन्धुपाल्चोकबाट अहिले बौद्ध जोरपाटीमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू