शुक्रबार, ५ डिसेम्बर, २०२५
15:15 | २१:००

एनपीएलः प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो

नेपाली लिङ्क डिसेम्बर ५, २०२५

काठमाडौं । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने चौथो टोली बनेको छ।

शुक्रबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो पटक प्लेअफमा स्थान बनाएको हो।

लुम्बिनीको जितपछि प्लेअफमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ भने जनकपुरसँगै पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि प्लेअफ पुग्ने झिनो सम्भावना सकिएको छ। कर्णाली याक्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ।

यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन्। सुदूरपश्चिम बाहेक बाँकी तीन टिमले पहिलो पटक एनपीएलमा प्लेअफमा स्थान पक्का गरेका हुन्।

सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने पक्का छ। यस्तै लुम्बिनीले पनि एलिमिनेटर खेल्नेछ।

अब शनिबार हुने सुदूरपश्चिम र विराटनगरको खेलपछि लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ।

आजको खेलमा जनकपुर बोल्ट्सले दिएको १३३ रनको लक्ष्य लुम्बिनी लायन्सले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू