विश्व कीर्तिमानको संघारमा पूर्व गोर्खा बुढामगर: ‘सेभेन समिट’ पूरा गर्न १ पाउण्ड सहयोग अपील


लन्डन । नेपाली कीर्तिमानी आरोही तथा पूर्व गोर्खा सैनिक हरि बुढामगर अर्को ऐतिहासिक विश्व कीर्तिमान नजिक पुगेका छन्। दुबै खुट्टा (घुँडामुनिको भाग) गुमाएर पनि सगरमाथाको सफल आरोहण गरी विश्वलाई चकित पारेका बुढामगर विश्वका सात महादेशका अग्ला शिखरहरू आरोहण गर्ने ‘सेभेन सामिट’ अभियानको अन्तिम चरणमा प्रवेश गरेका हुन्।
अबको उनको लक्ष्य अन्टार्कटिकाको सबैभन्दा अग्लो शिखर ‘माउन्ट विन्सन (४,८९२ मि) आरोहण गर्नु रहेको छ। यो शिखर सफल भएसँगै उनी ‘सेभेन सामिट’ पूरा गर्ने विश्वकै पहिलो ‘डबल–एबभ–नी एम्प्युटी’ (घुँडा भन्दा माथि दुबै खुट्टा नभएका व्यक्ति) बन्नेछन्। यो केवल उनको व्यक्तिगत सफलता मात्र नभई विश्व पर्वतारोहणको इतिहासमा नेपाल र नेपालीको नाम स्वर्ण अक्षरले लेखिने क्षण हुनेछ।
सन् २०१० मा अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरले कृत्रिम खुट्टाको सहायताले आफ्नो साहसिक यात्रालाई निरन्तरता दिँदै मानवीय सामर्थ्यको एक अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्। उनको यो अदम्य साहसले शारीरिक अशक्ततालाई कहिल्यै बाधक बन्न दिएन।
‘सेभेन सामिट’ अभियान अन्तर्गत बुढामगरले हालसम्म ६ वटा प्रमुख शिखरहरु माउन्ट एभरेस्ट (८,८४९ मि.) एसिया, एकोनकागुवा (६,९६१ मि.) दक्षिण अमेरिका, डेनाली (६,१९० मि.) उत्तर अमेरिका, माउन्ट किलिमन्जारो (५,८९५ मि.) अफ्रिका, मोन्ट ब्लांक (४,८१० मि.) युरोप र कार्स्टेन्स पिरामिड (४,८८४ मि.) ओसिनियाको सफल आरोहण गरिसकेका छन् ।
पछिल्लो समय उनले गत महिना अक्टोबरमा ओसिनियाको सबैभन्दा अग्लो शिखर ‘कार्स्टेन्स पिरामिड’ को सफल आरोहण गरेका थिए। यस सफलतासँगै उनी कृत्रिम खुट्टाको सहायताले यो हिमाल चढ्ने पहिलो व्यक्तिको कीर्तिमान बनाउन सफल भएका छन्।
‘एक पाउण्ड’ अभियानको घोषणा
यस ऐतिहासिक अभियानको अन्तिम लक्ष्य पूरा गर्न बुढामगरले विश्वभर छरिएर रहेका नेपाली समुदायसँग भावनात्मक अपिल गरेका छन्। आर्थिक अभावले अभियान नरोकियोस् भन्नका लागि उनले ‘£१ अभियान’ (एक पाउण्ड अभियान) सुरु गरेका छन्।
आफ्नो योजना सुनाउँदै बुढामगरले भने, “बेलायतमा मात्र दुई लाख भन्दा बढी नेपाली बसोबास गर्छन् । यदि त्यसमध्ये आधाले मात्र पनि १ पाउण्ड (बेलायती मुद्रा) सहयोग गरिदिने हो भने मेरो यो अभियान सहजै पूरा हुनेछ।”
उनले यो अभियानमा ठूलो रकमभन्दा पनि धेरै नेपालीहरूको मन र सानो सहयोगको अपेक्षा गरेको बताएका छन्। “ठूलो उपलब्धि ठूलो रकमले होइन, धेरै मनहरूको सानो–सानो सहयोग र एकताले सम्भव हुन्छ,” बुढामगरले भने।
बुढामगरको यो यात्रा केवल कीर्तिमान कायम गर्नका लागि मात्र होइन। उनको मुख्य उद्देश्य अपाङ्गता सम्बन्धी विश्वव्यापी बुझाइमा परिवर्तन ल्याउनु हो। शारीरिक रूपमा अशक्तता भए पनि जीवन समाप्त हुँदैन र दृढ इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश उनले विश्वलाई दिन चाहेका छन्।
“हरेक मानिसको जीवनमा आ–आफ्नै ‘पहाड’ वा संघर्ष हुन्छन्। अपाङ्गता जीवन रोकिने कारण बन्नु हुँदैन,” उनले भने, “यो आरोहणमार्फत म कठिन अवस्थामा रहेका हरेक व्यक्तिलाई आशा र प्रेरणा दिन चाहन्छु।”
माउन्ट विन्सन अन्टार्कटिकाको अत्यधिक चिसो र कठिन मौसमका कारण पर्वतारोहीहरूका लागि अत्यन्त चुनौतीपूर्ण मानिन्छ। तर, सम्पूर्ण नेपाली समुदायको साथ र आशीर्वादले यो चुनौती पार गर्नेमा उनी विश्वस्त छन्।
‘एक पाउण्ड’अभियानमा कसरी सहयोग गर्ने ?
बुढामगरले यो ऐतिहासिक क्षणको साक्षी बन्न र अभियानलाई सफल पार्न बेलायतवासी नेपालीसँग कम्तिमा १ पाउण्ड योगदान गर्न, उनको कथा सेयर गर्न वा आ–आफ्नो तर्फबाट सक्दो समर्थन गर्न अनुरोध गरेका छन्। यद्धपि उनको यो अभियानमा बेलायतबाट मात्र हैन विश्वको कुनैपनि स्थानबाट जोडिन सकिनेछ।
इच्छुक सहयोगीहरूले तलको ‘क्राउड फन्डर’ लिंकमार्फत सिधै सहयोग गर्न सकिनेछ । सहयोगका लागि यहाँ क्लिक गर्नुहोला ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



