
लण्डन । अन्तर्राष्ट्रिय धादिङ समाजले आफ्नो सांगठनिक संरचनालाई थप मजबुत बनाउने उद्देश्यले विभिन्न विभागहरूमा संयोजक तथा पदाधिकारीहरूलाई नियुक्त गरी नयाँ नेतृत्व संरचना सार्वजनिक गरेको छ।
समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीद्वारा जारी गरिएको विज्ञप्तिअनुसार तीन महत्त्वपूर्ण विभागमा नयाँ पदाधिकारीहरू नियुक्त गरिएको कुरा प्रवक्ता सुदीप भुषण अर्यालले जानकारी गराए।
वरिष्ठ कन्सल्ट्यान्ट तथा प्राध्यापक डा. गोपी अर्याललाई स्वास्थ्य विभागको संयोजकको जिम्मेवारी दिइएको छ। स्वास्थ्य क्षेत्रमा लामो अनुभव भएका डा. अर्यालको नेतृत्वमा धादिङ समुदायलाई लक्षित गरी स्वास्थ्य सेवा, प्राविधिक क्षमता अभिवृद्धि, र स्वास्थ्य सचेतना प्रवर्द्धन कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने कुरा समाजले जनाएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय सञ्चार तथा सूचना समन्वयलाई थप व्यवस्थित बनाउन जापान निवासी राजन गौतमलाई प्रेस संयोजकको रूपमा चयन गरिएको छ। सञ्चार क्षेत्रमा सक्रिय गौतमको नियुक्तिले संस्थाको सूचना प्रवाह, समन्वय, र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

युवा शक्तिलाई सशक्त नेतृत्वतर्फ डोर्याउने उद्देश्यले न्युजिल्यान्ड निवासी सम्झना भण्डारीलाई युवा संयोजकको रूपमा नियुक्त गरिएको छ। उनको नेतृत्वमा युवा-मैत्री कार्यक्रमहरू, अन्तर्राष्ट्रिय युवाहरूको सञ्जाल निर्माण, र रचनात्मक अभियानहरू सञ्चालन गरिने बताइएको छ।

अध्यक्ष राजन खकुरालले नयाँ टिमले धादिङ समुदायको हित, संस्थाको सेवा प्रभावकारिता, र अन्तर्राष्ट्रिय पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
महासचिव बाबुकाजी भण्डारीले विश्वभर छरिएर रहेका धादिङवासीहरूलाई एउटै प्लेटफर्ममा जोडेर सामूहिक रूपमा काम गर्ने संस्थाको लक्ष्यलाई नयाँ नेतृत्वले अझ सशक्त बनाउने बताए।
अन्तर्राष्ट्रिय धादिङ समाज विश्वभर रहेका धादिङवासी समुदायका लागि सामाजिक, सांस्कृतिक, एवं मानवीय सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।