बुधबार, २२ अक्टोबर, २०२५
15:55 | २०:४०

ट्रम्पसहित विश्व नेता दक्षिण कोरिया आउनुअघि उत्तरबाट ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

रासस/एएफपी अक्टोबर २२, २०२५

सियोल, कात्तिक ५ गते । उत्तर कोरियाले बुधबार बिहान छोटो दूरीका असंख्य ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

यो प्रक्षेपण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्व नेता दक्षिण कोरियामा हुने शिखर सम्मेलनका लागि आउनु एक हप्ताअघि गरिएको पहिलो परीक्षण हो ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार ‘छोटो दूरीका ब्यालेस्टिक मिसाइल मानिएका धेरै प्रोजेक्टाइल’ पत्ता लगाइएको छ । ती मिसाइल राजधानी प्योङयाङको दक्षिणी क्षेत्रबाट बुधबार बिहान करिब ८.१० बजे (मङ्गलबार २३१० जिएमटी) प्रक्षेपण गरिएको थियो । सियोलको सेनाले ती क्षेप्यास्त्र करिब ३५० किलोमिटर (२१७ माइल) दूरीमा उडेको जानकारी दिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङले पदभार सम्हालेपछि यो पहिलो पटक भएको क्षेप्यास्त्र परीक्षण हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्भावित भेटबारे सङ्केत गरेका छन् । उनले आफ्नो पहिलो कार्यकालमा किमसँग भएका उच्चस्तरीय बैठक स्मरण गर्दै यस वर्ष पुनः वार्ताको आशा व्यक्त गरेका हुन् ।

उत्तर कोरियाको सरकारी मिडियाले पनि किमले भविष्यको संवादका ढोका खुला रहेको सङ्केत गर्दै अमेरिकालाई ‘प्योङयाङले आणविक हतियार त्याग्ने भ्रमपूर्ण माग त्याग्न’ चेतावनी दिएको छ ।

यसअघि प्योङयाङले रुस र चीनका शीर्ष अधिकारीको उपस्थितिमा आयोजित सैन्य परेडमा आफ्नो ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल ह्वासोङ-२० प्रदर्शन गरेको थियो ।

राज्य मिडियाले उक्त मिसाइलको प्रहार दूरी ‘कुनै सीमा थाहा छैन’ भनेर दाबी गरेको थियो । सेप्टेम्बर महिनामा किमले लामो दूरीका आणविक क्षेप्यास्त्रका लागि प्रयोग हुने ठोस इन्धन इन्जिनको परीक्षण निरीक्षण गरेका थिए । राज्य मिडियाका अनुसार यो नवौँ र अन्तिम परीक्षण थियो, जसले निकट भविष्यमा नयाँ आइसिबिएमको पूर्ण परीक्षण हुने सङ्केत गरेको छ ।

सियोलस्थित इव्हा वुमेन्स युनिभर्सिटीका प्राध्यापक पार्क वोन-गोनका अनुसार, यो प्रक्षेपण राष्ट्रपति ट्रम्प र उनका पछिल्ला गतिविधिको प्रत्यक्ष प्रतिक्रिया हो । उनले भने, “किम जोङ-उनले सियोलमा हुने कार्यक्रमका बीच आफ्नो शासनको शक्ति र उपस्थिति देखाउने प्रयास गर्दैहुनुहुन्छ, जसरी उहाँले पहिले पनि गरिसक्नुभएको छ ।”

ट्रम्प आगामी अक्टोबर २९ मा एसिया (प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलनमा सहभागी हुन दक्षिण कोरिया पुग्ने कार्यक्रम छ । उत्तर कोरियाले लामो समयदेखि अमेरिकी भू-भागसम्म पुग्ने क्षमताका मिसाइलको परीक्षण गर्दै आएको छ । तर, प्योङयाङले बारम्बार आफ्नो आणविक कार्यक्रम त्याग्ने कुनै योजना नरहेको बताउँदै आएको छ ।

किम जोङ उनले अमेरिकी नेतासँगको अघिल्ला तीन उच्चस्तरीय बैठक स्मरण गर्दै सेप्टेम्बरमा भनेका थिए, “यदि संयुक्त राज्य अमेरिकाले आणविक निः शस्त्रीकरणको भ्रम त्याग्छ र सह-अस्तित्वको चाहना राख्छ भने शान्तिको बाटो असम्भव छैन ।”

प्योङयाङ हाल पनि संयुक्त राष्ट्रसङ्घको कडा प्रतिबन्धको सामना गरिरहेको छ, तर उसले रुस र चीनसँगको पुरानो साझेदारीलाई अझ बलियो बनाउँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू