गोर्खा समुदायको साझा लक्ष्य प्राप्तिका लागि एकता र सहकार्यमा अभियन्ताहरुले दिए जोड



लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र ब्रिटिश गोर्खा वंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति (बीजीएनसीसीसी) ले संयुक्त रुपमा जानकारी सभा आयोजना गरेका छन् ।
गत ५ अक्टोबर २०२५ का दिन एम्पाएर हल, अल्डरसटमा सम्पन्न जानकारी सभा ब्रिटिश गोर्खाको समान पेन्सन र नेपाली नागरिकताको निरन्तरता लडाइँलाई निर्णायक मोड दिन आयोजित थियो, जसले गोर्खा समुदायको एकतालाई फेरि एकपटक प्रमाणित गरेको आयोजकको भनाइ छ ।
ब्रिटिश गोर्खाको समान पेन्सन र नागरिकता निरन्तरता मागलाई थप सशक्त बनाउन आयोजित संयुक्त जानकारी सभाको सफलताले आन्दोलनमा नयाँ आयाम थपेको आयोजकको दावी छ ।
सभाका वक्ताहरुले बेलायतको बदलिंदो नयां राजनीतिक परिस्थितिमा आफ्ना अधिकार सुनिश्चित गर्न एकता थप अपरिहार्य भएकामा जोड दिए ।
गोर्खा सत्याग्रह संयक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बेलायतमा आप्रवासी विरोधी अभियान थप सशक्त बन्दै गएकाले भविष्यमा बेलायतले पनि देश निकाला नगर्ला भन्न नसकिने अवस्था रहेको औंल्याए ।
राईले यस्तो अवस्थामा स्वदेश फर्कन परेपनि गोर्खाहरुलाई वंशजको नेपाली नागरिकता आवश्यक रहने पनि बताए ।
आयोजक समितिले एक धन्यवादपत्रसहित सभा भव्यरुपमा सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष महत्त्वपूर्ण योगदान पुर्याउने सबैलाई हार्दिक आभार व्यक्त गरेको छ।
आयोजक समितिले सम्पूर्ण सहयोगीहरूलाई ‘तपाईंहरूको सहयोग, समर्थन र ऐक्यबद्धता नै हाम्रो संघर्षको वास्तविक शक्ति हो’ भन्दै धन्यवाद दिएको हो ।
‘यो संयुक्त जानकारी सभाको सफलताले गोर्खा समुदायको साझा लक्ष्य प्राप्तिका लागि एकता र सहकार्य अपरिहार्य रहेको प्रमाणित गरेको छ । यो पत्र केवल औपचारिकता नभई, गोर्खा आन्दोलनमा जुटेका सबै सहयोगी हातहरूको महत्त्वलाई स्वीकार गर्ने माध्यम बनेको छ’, अभियन्ता सन्तोष थलङको बुझाइ छ ।

गोर्खा सत्याग्रह संयक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई । तस्विर- किरण राई
आन्दोलनको शक्तिः विशाल सहभागिता
सभाको सफलतामा सबैभन्दा महत्त्वपूर्ण पक्ष सम्मान जनक सहभागिता रह्यो।
धन्यवाद ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, न्यायप्रेमी गोर्खा दाजुभाई, दिदीबहिनी तथा भान्जाभान्जीहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थिति र जुममार्फत विश्वभरका (नेपाल, यूके, अमेरिका, क्यानडा, अष्ट्रेलिया, हङकङ आदि) अग्रज बुद्धिजीवी वर्गको सहभागिताले आन्दोलनलाई थप ऊर्जा र बल प्रदान गरेको छ। यसले गोर्खाको न्यायको लडाइँ विश्वव्यापी रूपमा फैलिएको र सबैको चासोको विषय बनेको देखाउँछ ।
कार्यक्रमको सन्देशलाई जनस्तरमा पुर्याउन र व्यवस्थापन चुस्त दुरुस्त राख्न विभिन्न व्यक्ति र समूहको योगदान अतुलनीय रहेको पत्रमा उल्लेख छ ।
सभामा सञ्चारकर्मीहरु नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष बिमला सेने, नेपाली समाचारका सम्पादक विश्वासदीप तिगेला, सिलिचुङ मिडियाका सम्पादक किरण राई, फोटो पत्रकार मिलन तमु लगायत सञ्चारकर्मीहरूले सभाका महत्त्वपूर्ण सन्देशहरूलाई यथार्थता, निष्पक्षता र प्रभावकारी रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनस्तरमा फैलाउन अतुलनीय भूमिका निर्वाह गरे।
उता, धर्म विक्रम सुनुवार, हिन्दु मोक्तान लगायतले कार्यक्रमको लाइभ स्ट्रिमिङ व्यवस्था गरी सभालाई व्यवस्थित एवं प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेले ।
मीनादेवी सुनुवार, प्रिया (प्रसिल्ला) सुनुवार, तेज राई, मानबहादुर राई, शंकर राई लगायत स्वयंसेवकहरूले सेवाभावका साथ व्यवस्थापकीय जिम्मेवारीहरू वहन गरी कार्यक्रमको सहज सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
आयोजकले गोर्खा आन्दोलनका हरेक पक्षमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै न्याय र समानताको लडाइँमा निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५