बुधबार, ४ फ्रेब्रवरी, २०२६
12:56 | १८:४१

बेलायतमा विद्युतीय गाडी बिक्रीमा नयाँ कीर्तिमान, किया स्पोर्टेजको माग उच्च

नेपाली लिङ्क अक्टोबर ४, २०२५

लण्डन । बेलायतमा गत महिना विद्युतीय गाडी (इभी) बिक्रीले नयाँ कीर्तिमान कायम गरेको छ। सोसाइटी अफ मोटर म्यानुफ्याक्चर्स एण्ड ट्रेडर्स (एसएमएमटी) को पछिल्लो तथ्याङ्क अनुसार, सेप्टेम्बर महिनामा शुद्ध ब्याट्री चालित गाडी (बिइभी) को बिक्री झण्डै एक तिहाइले वृद्धि भएर ७२ हजार ७७९ पुगेको छ।

त्यस्तै प्लग-इन हाइब्रिड गाडीको बिक्री अझ तीव्र गतिमा बढेको एसएमएमटीले जनाएको छ। यससँगै पूर्णतया विद्युतीय वा हाइब्रिड गाडीहरूले गत महिना बेलायतका सबै नयाँ गाडी दर्तामध्ये आधाभन्दा बढी हिस्सा ओगटेका छन्।

एसएमएमटीका प्रमुख कार्यकारी माइक हाउजका अनुसार, उद्योगले विद्युतीकरणमा गरेको लगानीले अहिले प्रतिफल दिइरहेको छ । उनले भने, ‘सरकारको नयाँ अनुदान योजनाले उपभोक्तालाई पेट्रोल–डिजेलबाट टाढा राख्ने प्रयासलाई मद्दत पुगेको छ।’

सरकारले शुरु गरेको इलेक्ट्रिक कार अनुदान योजनाअनुसार योग्य विद्युतीय गाडीमा ३ हजार ७५० पाउण्ड सम्म छुट दिइन्छ। यो योजना अन्तर्गत हालसम्म २० हजार बढी ग्राहक लाभान्वित भइसकेका बीबीसीले जनाएको छ।

एसएमएमटीको तथ्यांकअनुसार, गत महिनामा दर्ता भएका विद्युतीय गाडीमध्ये ७१.४% गाडी व्यवसायिक प्रयोजनका लागि खरिद गरिएका थिए भने निजी खरिदकर्ताको संख्या पनि गत वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको बताइएको छ।

गत महिनाका सबैभन्दा बढी बिक्री भएका गाडीहरूमा किया स्पोर्टेज, फोर्ड पुमा र निस्सन क्वास्काई शीर्ष स्थानमा छन् भने दुई चिनियाँ मोडेल जेकु सेभेन र बीवाईडी सील यू पनि टप टेनमा परेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू