बिहीबार, ११ सेप्टेम्बर, २०२५
01:11 | ०५:५६

संकटबाट निकास दिन पहल गर्न जय नेपाल इन्टरनेशनल फाउन्डेशन यूकेको राष्ट्रपतिलाई अपिल

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२५

लन्डन – जय नेपाल इन्टरनेशनल फाउन्डेशन यूके च्याप्टरले नेपालमा सिर्जित सरकारविहीन अवस्थालाई शीघ्र अन्त्य गरी शान्ति र सुरक्षाको वातावरण कायम गर्न र सबै पक्षको सहभागितामा छिटोभन्दा छिटो सर्वपक्षीय सरकार गठन गर्न अपिल गरेको छ ।

जय नेपाल इन्टरनेशनल फाउन्डेशन यूकेका अध्यक्ष  डा सम्पूर्णानन्द ढुंगाना तथा महासचिव इ. रामराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पुर्‍याउने कुनै पनि गतिविधि हुन नदिन लोकतान्त्रिक पक्षहरू एकजुट भई अघि बढ्नुपर्ने आवश्यकता हामी जोडदार रूपमा प्रस्तुत गर्दछौं। राष्ट्रको अभिभावकको रुपमा नेपालको संविधानले जिम्मेवारी तोकेका सम्माननीय राष्ट्रपतिले यो संकटबाट मुलुकलाई निकास दिन सार्थक पहल गर्नुहुन पनि हामी आग्रह गर्दछौं। ”

जय नेपाल इन्टरनेशनल फाउन्डेशन यूकेले नेपालमा गत सेप्टेम्बर ८ देखि जेन जी समूहद्वारा आयोजित आन्दोलनका क्रममा जनधनमा अपूरणीय क्षति भएकोमा गहिरो दुःख प्रकट गरेको छ। 

उक्त आन्दोलनमा ज्यान गुमाउने युवाहरुको आत्माको चिर शान्तिको कामना गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। “साथै, सो घटनामा संलग्न दोषीहरूमाथि कानूनअनुसार आवश्यक कारबाही अघि बढाइनेछ भन्ने विश्वास लिन्छौं,” विज्ञप्तिमा भनिएको छ।

“आन्दोलनकै क्रममा सेप्टेम्बर ९ मा देशभर भएका केही घटनाहरू जस्तै —सार्वजनिक सम्पत्तिमा आगजनी, सर्वसाधारणमा त्रास सिर्जना तथा उद्योग व्यवसायमा भएका आक्रमणहरू—निन्दनीय छन्। कुनै पनि आन्दोलन शान्तिपूर्ण तरिकाले, कानुनी दायराभित्र रही सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो दृढ धारणा हो। यस्ता असंयमित गतिविधिले दीर्घकालीन रुपमा लगानी र विकासको वातावरणमा प्रतिकूल असर पार्ने विश्वास हामी राख्दछौं,” विज्ञप्तिमा भनिएको छ।

“जेन जी समूहले उठाएको भ्रष्टाचारविरुद्धको आन्दोलनलाई पूर्ण समर्थन गर्दै भ्रष्टाचार निर्मूल गर्न चालिने प्रत्येक कानुनी पहलमा जय नेपाल फाउन्डेशन यूके च्याप्टर दृढतापूर्वक ऐक्यबद्धता जनाउँछ,” विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू