धराने भेलामा पहिलोपटक सहभागी राजदूतले भने- ‘देश विदेश जता घुमेपनि धरानै मन पर्छ’



लन्डन । धरान समाज यूकेले शनिबार लन्डन फेल्थाममा वार्षिक भेला आयोजना गरेको छ ।
उक्त धराने भेला धेरै अर्थमा विशेष बनेको आयोजकको भनाइ छ । संस्थाको इतिहासमै पहिलोपटक राजदूत चन्द्र कुमार घिमिरे कार्यक्रममा प्रमुख अतिथी थिए ।
सन् २००७ मा स्थापित उक्त समाजको कार्यक्रममा अहिलेसम्म कोही राजदूत सरिक भएका थिएनन् । राजदूत दम्पत्तिलाई पाइपर धुनले स्वागत गरिएको थियो ।
अर्को संयोग राजदूत घिमिरे धरानमै जन्मिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत घिमिरेले धराने हुनुमा आफूलाई गर्व लाग्ने बताए । ‘मैले विदेशका धेरै मुलुक घुमें । स्वदेशमै पनि सायद नपुगेको ठाउं छैन् होला । तर, मलाई सबैभन्दा रमाइलो र सुखानुभूति धरान पुग्दा हुन्छ’, उनले यसो भनिरहंदा सहभागी धरानेहरु तालीले कृतज्ञता व्यक्त गरिरहेका थिए ।
राजदूतले आफ्नो स्मृतिमा धरानको धेरै सम्झना रहेको उल्लेख गर्दै धरानेहरु माया र समाजसेवा गर्न सधैं अग्रपंक्तिमा रहेको बताए ।
कार्यक्रम अध्यक्षता गरेका धरान समाज यूके अध्यक्ष निकेश लिम्बुले आफ्नै ठाउंको राजदूत कार्यक्रममा पाउंदा गर्व लागेको बताउंदै राजदूत घिमिरेले अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको बताए । अध्यक्ष लिम्बुले कार्यक्रम सफल पार्न सहयोग गर्ने आफ्नो सिंगो कार्यसमिति, दाता र अन्य सहभागीलाई धन्यवाद पनि दिए ।
निकेश नेतृत्वको आठौं कार्यसमितिको यो पहिलो वार्षिक भेला हो । उक्त कार्यसमितिले गत जुन तेश्रो साता १२ औं बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।
करिब ६ सय सहभागी कार्यक्रममा राजदूत घिमिरे र अध्यक्ष लिम्बुले समाजमा योगदान गरेका विभिन्न व्यक्तित्वलाई सम्मान गरे ।
सो अवसरमा भक्त लिम्बु र राजु लिम्बुलाई उच्च सम्मान एवं संस्था स्थापनायता नेतृत्व गरेका ७ जना अध्यक्ष र उनीहरुका जीवनसंगिनीलाई पनि विशेष सम्मान प्रदान गरियो ।
औपचारिक कार्यक्रम समाजका महासचिव बल्लभ गुरुङले सञ्चालन गरेका थिए । उनले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी दिंदै संस्थाका गतिविधिबारे पनि अवगत गराए । वरिष्ठ उपाध्यक्ष चन्द्रकला लिम्बुले स्वागत मन्तव्य दिइन् ।
दोश्रो चरणमा सांगीतिक प्रस्तुति भएको थियो । सांस्कृतिक सचिव विद्या राई र उपाध्यक्ष पविन राईले सञ्चालन गरेको उक्त सत्रमा स्थानीय कलाकारहरुले गायन र नृत्य प्रस्तुत गरे ।
सुमी राई, बौद्ध सुनुवार, यकीन राई, नेत्र वान्तवा, दीपप्रकाश राई र एन्ड्रयू राईले गायन एवं पविन राई र मिलन सुनुवारले नृत्य प्रस्तुत गरेका थिए । अन्त्यमा डिजे डान्स समेत भएको थियो ।
कार्यक्रममा धन फोटोग्राफीले फोटो र यात्री फिल्मसले भिडियो जिम्मेवारी निर्वाह गरेका थिए ।

अध्यक्ष निकेश लिम्बु

राजदूत चन्द्र कुमार घिमिरे
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५