शनिबार, ६ सेप्टेम्बर, २०२५
10:59 | १५:४४

कर विवादमा मुछिएपछि बेलायती उपप्रधानमन्त्रीले दिइन् राजीनामा

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२५

लन्डन– बेलायतकी उपप्रधानमन्त्री एन्जेला रेनरले करसम्बन्धी विवादमा मुछिएपछि पदबाट राजीनामा दिएकी छन् । उनले शुक्रबार उपप्रधानमन्त्रीसँगै हाउजिङ्ग मन्त्री र सत्तारुढ लेबर पार्टीको उपनेताको पद पनि छोडेकी हुन् ।

रेनरले कर कार्यालयमा गलत विवरण दिएर नयाँ घर खरिद गर्दा करको दर कम तिरेको तथ्य बाहिर आएपछि ठूलो विवाद चर्किएको थियो । उनले करसम्बन्धी त्रुटि आफूले जानाजानी नभई कानुनी सल्लाह लिने क्रममा भएको भन्दै जिम्मेवारी स्वीकार गरेकी छन् । अनुमानित रूपमा उनले करमा झण्डै ४० हजार पाउण्ड बचाएको रिपोर्टमा उल्लेख छ ।

आफूमाथि उठेका प्रश्नलाई समाधान गर्न रेनरले नै यस विषयलाई सरकारको इण्डिपेण्डेन्नट एथिक्स एड्भाइजर (स्वतन्त्र आचारसंहिता सल्लाहकार) लाई पठाएकी थिइन् । सोही एड्भाइजरको अध्ययन प्रतिवेदनमा करसम्बन्धी त्रुटि भएको स्वीकार भए पनि पदमा रहिरहन गाह्रो भएको भन्दै उनले राजीनामा दिनु परेको हो ।

प्रधानमन्त्री केइर स्टार्मरले सुरुवातमा आफ्नी उपनेताको समर्थन गरेका थिए तर प्रतिवेदनपछि उनको पदमा निरन्तरता असम्भव भएको भन्दै राजीनामा अपरिहार्य बनेको बताइएको छ । रेनरको राजीनामाले लेबर सरकारको नैतिक साखमा ठूलो धक्का पुगेको छ भने प्रधानमन्न्त्री स्टार्मरको नेतृत्वमाथि पनि थप प्रश्न उठ्ने देखिएको छ ।

अब रेनरको राजीनामापछि लेबर पार्टीभित्र नयाँ उपनेता चयन हुने प्रक्रिया सुरु हुने भएको छ । पार्टीको आगामी सम्मेलनमा यो विषय प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ ।

एन्जेला रेनर बेलायतको लेबर राजनीतिमा लोकप्रिय र प्रभावशाली नेतृ मानिएकी थिइन् । तर करसम्बन्धी त्रुटिका कारण उनले राजीनामा दिनुपरेको घटनाले उनको राजनीतिक यात्रामा ठूलो धक्का लागेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू