८ वर्षपछि लन्डनमा यती कप गर्ने घोषणा, पुरस्कार राशी अहिलेसम्मकै उच्च



लन्डन । यती नेपाली एसोसिएसन यूकेले २७ सेप्टेम्बर शनिबार फेल्थाममा ‘यती कप फुटबल प्रतियोगिता’ गर्ने भएको छ ।
साउथ ह्यारोस्थित नेवा छेः मा बुधबार आयोजित एक पत्रकार सम्मेलनमार्फत यतीले प्रतियोगिताबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा स्पोर्टस सेक्रेटरी हरि रेग्मीले यती कपमा ९ ए साइड र कुल खेलाडी १५ जना (तीनजना विदेशी मान्य) सामेल हुने एवं मेनतर्फ २४ र भेट्रान १२ टिमलाई खेलाउने योजना रहेको जनाए । उनका अनुसार अहिलेसम्म मेन २० टिम र भेट्रान १० टिम दर्ता भइसकेका छन् ।
प्रतियोगितामा मेन क्याटगोरिज विजेताले ३३३३ पाउण्ड, रनर अपले १५५५ पाउण्ड, भेट्रान्सतर्फ वीनर टिमले १२२२ पाउण्ड, रनरअपले ५५५ पाउण्ड प्राप्त गर्नेछन् ।
वेष्ट प्लेयर, हाइजेष्ट गोल स्कोरर, वेष्ट गोलकिपर, वेष्ट टिम म्यानेजर, मोष्ट डिस्सीप्लिन्ड टिमलाई पनि ट्रफी प्रदान गरिने आयोजकको भनाइ छ ।
उनले व्यवस्थित, अनुशासित र सुरक्षित ढंगले प्रतियोगिता गर्ने तयारी भइरहेको बताए । महिला टिमलाई भने यसपटक राख्न नसकिएको उनले प्रष्टयाए ।
यती कपमा फुटबलबाहेक नेपाली खाना र सांस्कृतिक स्टल, लाइभ म्यूजिक आदि पनि मुख्य आकर्षण रहने छन् ।
यती अध्यक्ष टंक भट्टराईले प्रतियोगिताबारे वेवसाइट र संस्थाको अफिसियल फेसबुक पेजमा पनि विवरण रहेको बताए । दर्ता हुंदैमा सहभागिता सुनिश्चित नहुने बताउंदै उनले आन्तरिक मूल्यांकन र क्राइटेरिया पूरा भएमात्र टिम लिइने प्रस्ट पारे ।
अध्यक्ष भट्टराईले विगतमा पनि यतीको महत्वपूर्ण काममध्ये नेपाली समुदायलाई ‘इन्गेज’ गराउने यती कप रहेकाले आफ्नो कार्यसमितिले अब फरक ढंगले गर्न लागेको बताए ।
बेलायती समुदायको सबैभन्दा ठूलो पुरस्कार राशी ‘स्टन्ट’ का लागि नभई यसलाई आफ्नो कार्यसमितिले निरन्तरता दिने पनि अध्यक्ष भट्टराईले दावी गरे ।
दर्शकलाई प्रवेश निशुल्क छ । टुर्नामेन्टलाई मेलाका रुपमा लैजाने भट्टराईले बताए ।
महासचिव आशिषराज पन्तले टंक भट्टराई नेतृत्वको ३१ औं कार्यसमितिले यती कपलाई अपग्रेडसहित अगाडि बढाउन लागेको जनाए । उनले भविष्यमा यतीले ट्रेड शो गर्ने योजना बनाएको समेत बताए ।
पूर्व अध्यक्ष उमेशराज मोक्तानले इतिहास फर्केर हेर्दा अफिसियल यती कप फुटबल शुरु यतीले नै गरेको बताउंदै विगतमा यो निकै लोकप्रिय रहेको स्मरण गरे । मोक्तानले यतीको पुरानो ‘लिगेसी’ कायम राख्दै नयां टिमले ऐतिहासिक खेल प्रतियोगिता गर्ने विश्वास व्यक्त गरे ।
यती उपाध्यक्ष राज पाण्डेले गत वर्ष प्राविधिक कारणले गर्न नसकिएपनि सन् २०१७ वर्षपछि अहिले यती कप हुन लागेको बताए । यूकेमा सबैभन्दा उच्च राशीको पुरस्कार नै यती कपको भएको पाण्डेले जानकारी दिए ।
खेलाडीको दुःख र परिश्रम मनन गर्दै उनीहरुको सम्मान र हौसला गर्ने उद्देश्यले नै पुरस्कार राशी बढाइएको उनको प्रष्टिकरण थियो ।
पाण्डेले अरु कसैले पुरस्कार राशी बढाउंछन् भने आफूहरुले पनि राशी बढाउंदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।
नेपालमा समेत केही योगदान पुगोस् भन्दै उनले कप र ट्रफी नेपालमै बनाइने बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वसन्त रायक्षेत्री, सामाजिक सचिव क्षमता ढकाल, उपमहासचिव सुष्मा पौडेल, सदस्यहरु जेनिस गिरी, अविश्रान्त दाहाल, अभिसेक बस्नेत र भुपेन्द्र विष्ट पनि सहभागी थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५