बेलायतभर तीज रौनक, गायिका कोमल ओलीलाई पोइला जान अझै रहर…



लन्डन । बेलायत बस्ने नेपाली समुदायले यस वर्ष पनि हरितालिका तीज विगत जस्तै उत्साह र उल्लासका साथ मनाए ।
विभिन्न संघसंस्थाद्वारा आयोजित थुप्रै तीज कार्यक्रममा नेपालबाट आएकी लोकप्रिय गायिका कोमल ओलीले ‘पोइला जान पाम्’ भन्दै बेलायातवासीलाई नचाउन सफल भइन् ।
बेलायतस्थि नेपाली दूतावासदेखि विभिन्न संघसंस्थाका तीज कार्यक्रममा उनको जोडदार प्रस्तुति रह्यो । परम्परागत रातो साडी, हरियो चुरा, पोतेलगायत गरगहनामा सिंगारिएका नेपाली महिलाहरु तीजका गीतमा झुम्दा एकैछिन भएपनि नेपालमै भएको महशुस गरे ।
बेलायतका विभिन्न स्थानमा रहेका नेपाली संघसंस्था र महिला समूहहरुले तीज विशेष कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमहरुमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरुको साथमा सयौं महिला तथा पुरुषले सहभागिता जनाएर तीजको माहिमालाई थप जीवन्तता प्रदान गरेका छन् ।
यस वर्ष एसियन महिला एसोसिएसन (आमा) ले लन्डनको एम्पायर हलमा आयोजना गरेको तीज कार्यक्रममा ५०० भन्दा बढी महिला सहभागी भए । सो कार्यक्रममा गायिका कोमल वलीको विशेष प्रस्तुति अनि डान्सरहरु आरुषी मगर, सङ्गीता गैरे लगायत कलाकारको मनमोहक नृत्यकलाले दर्शकहरूलाई थप मनोरन्जन प्रदान गर्यो ।
राफल ड्र समेत गरिएको उक्त कार्यक्रममा संकलित रकमबाट एकलाख रुपैयां कोमल वली फाउन्डेसनलाई र चर्चित नर्तकी आरुषी मगरकी आमाको क्यान्सर उपचार सहयोगार्थ एकलाख रुपैयां उनलाई प्रदान गरिएको आयोजकले बताए ।
लन्डनस्थित नेपाली दूतावासमा पनि करिब तीन वर्षपछि तीज विशेष कार्यक्रम आयोजना गरियो । बेलायतस्थित नेपाली संघसंस्थाका महिला प्रमुख, कलाकारहरु र अन्य सर्वसाधारण महिला सहभागी उक्त कार्यक्रममा लोकप्रिय गायिका कोमल ओलीको गीतमा नाचगान गरेर दिदीबहिनीहरुले तीज मनाए ।
सो अवसरमा नेपालबाटै आएका गायक देउडा सम्राट नन्दकृष्ण जोशी र लन्डनवासी गायिका सितु खरेलको प्रस्तुतिमा सबैजना झुमे।
कार्यक्रममा राजदूत पत्नी सरिता न्यौपाने घिमिरेले नेपाली कला, संस्कृतिबारे जोड दिंदै तीजलाई भड्किलो नबनाइ मौलिकता जोगाउन पनि आग्रह गरिन् । महिलामाथि हुने अनेक खालका विभेद, हिंसा अन्त्य गरि महिला सशक्तिकरणमा जोड दिइन् ।
बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले पनि शुभकामना दिंदै दूतावासको आंगनमा नेपाली चेलीहरुलाई स्वागत गर्न पाउंदा खुशी लागेको बताए ।
क्षेत्री समाज बेलायतको आयोजनामा बेलायतको हाइवेकम्बस्थित डोल्फिन आई पब बार एण्ड रेष्टुरेन्टमा पनि तीज विशेष कार्यक्रम गरियो। तीजको शुभकामना आदानप्रदान गर्दै दिदीबहिनी तथा दाजुभाइले तीज गीतमा नाचगान गरेर रमाइलो गरे ।
तमु समाज यूके आमा समूहले लन्डनस्थित वेम्ब्ली बरहाम पार्कमा रहेको तमु समाज यूके नेप्लिज कम्युनिटी सेन्टरमा तीज-लेडिज नाइट विशेष कार्यक्रम गरि मनाएको छ ।
लन्डन वुल्लीच प्लमस्टिड समाजले पनि विशेष कार्यक्रम गरी तीज मनाएको छ । निशुल्क दरसहितको विशेष नाचगान कार्यक्रममा २ सय भन्दा बढी स्थानीय नेपाली महिला तथा पुरुषहरु सहभागी भए । कार्यक्रममा सहभागी दिदीबहिनीहरु घण्टौंसम्म तीजगीतमा नाचगान गरेर रमाए ।
लन्डन बेक्सली बरोमा बस्ने नेपाली महिलाहरुले फाल्कनवुड कम्युनिटी सेन्टरमा आयोजना गरेको तीज विशेष कार्यक्रममा २ सय बढी स्थानीय महिलाहरुको साथ तीज मनाएका छन्।
कार्यक्रममा सहभागी प्रमुख अतिथि स्थानीय मेयर क्रिष्टिन क्याटरले पनि नेपाली दिदबिहिनीसंगै तीज गीतमा नृत्य गरिन्।
यसैगरी सन् १९६० मा बेलायतमा स्थापित युरोपकै पहिलो संस्था यती नेपाली एसोसिएसन यूकेले पनि तीज कार्यक्रम आयोजना गरि नारीहरुलाई सम्मान दियो।
कार्यक्रममा नेपालकी चर्चित गायिका कोमल ओलीले ‘पोइला जान पाम’, सुनिदेउ शिव’, ‘लाष्टै चोटी हो’ जस्ता आधा दर्जन गीतमार्फत मनोरन्जन दिलाइन् भने साथमा गायिका साहिमा श्रेष्ठ, अस्मिता पुरी, सन्दीप न्यौपानेको जोडदार प्रस्तुतिमा दर्शकहरु झुमे।
श्रीराम मन्दिर, साउथलमा विश्व हिन्दु महासंघ यूके च्याप्टरले आयोजना गरेको विशेष पूजामा ठूलो संख्यामा महिलाहरु भेला भएका थिए । पूजापछि तीजका लोकप्रिय गीतमा सामूहिक नृत्य गरी वातावरण झनै उत्साहपूर्ण बनेको थियो ।
पशुपतिनाथ मन्दिर प्लमस्टीड लण्डनले एसियन कम्युनिटी हलमा गरेको तीज विशेष कार्यक्रममा व्रतालु महिलाहरुले पूजा अर्चना गर्दै हाल बेलायतमा रहेका गायक राजेश बर्देवाले तीज गीतमा नचाए । उनले समिक्षा अधिकारी र आफ्नो स्वरमा रहेको गीत ‘नाच छम्म छम्म’ र प्रीति आले र स्व्यम् आफैंले गाएको ‘सुन मेरा फ्यान्स’ जस्ता सांगीतिक प्रस्तुति दिए ।
यसरी विभिन्न संघसंस्था, मन्दिर र सामुदायिक केन्द्रहरुमा आयोजित कार्यक्रमहरुले नेपाली महिलाहरुलाई विदेशमै आफ्नो संस्कृति र परम्परा जोगाएर मनाउने अवसर प्रदान गरेका छन् ।
कोभिड-१९ महामारीका कारण तीज कार्यक्रमहरु सीमित हुँदै गएपनि केहि वर्षयता तीज पर्वलाई निकै उत्साहपूर्वक मनाउन थालिएको छ। धर्म संस्कृति परम्परा र मौलिकताको आधारमा निकै अगाडी रहेको बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले परदेशमा बस्दा पनि नेपाली संस्कृति र परम्परा जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष तीज पर्वलाई निरन्तरता दिइरहेको बताउने गरेका छन् ।
उनीहरुले बेलायतमा रहेका अन्य समुदायलाई समेत नजिकबाट नेपाली संस्कृतिको अवलोकन गर्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको स्पष्ट पारे । सांस्कृतिक नृत्य, पूजा अर्चना र सामूहिक भेला हुँदै बेलायतमा मनाइएको यस वर्षको तीजले नेपाली महिलाहरुको एकता, मातृभूमिप्रतिको माया र सांस्कृतिक मोह अझ प्रष्ट रुपमा उजागर गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५