बीसीसी यूके गुम्बा पुगे उज्यालो नेपालका अभियन्ता कुलमान



लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले उज्यालो नेपाल अभियानका नायक कुलमान घिसिङलाई स्वागत तथा सम्मान गरेको छ ।
गत १३ अगष्ट बुधबार बीसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बामा बीसीसी यूके अध्यक्ष आङ्गदावा शेर्पा, आमा प्रमुख जगना गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पालगायत कार्यसमिति, सल्लाहकार, आमाहरु र शुभचिन्तकहरुले खादा लगाई उनलाई स्वागत तथा सम्मान गरेका हुन् ।
तमुधिं यूकेको विशेष निमन्त्रणामा नेपाली मेलामा सहभागी हुन बेलायत आएका घिसिङले ‘नेपाली मात्र विदेश गएका रहेनछन्, विदेशमा बसोबास गर्ने नेपालीहरुले आफ्नो भाषा, कला, धर्म र संस्कृतिलाई समेत संगै ल्याएका रहेछन्’ भन्दै सबैमा धन्यवादसहित बधाई दिए ।
उनले आफूलाई स्वागत, सम्मान र विश्वास गरेकोमा धन्यवाद दिंदै भने- ‘उज्यालो नेपाल भनेको बत्तिको मात्र उज्यालो होइन, मन मस्तिष्क, देशलगायतको उज्यालो हो । समृद्धि हो, रोजगारी हो र शान्ति हो ।’
उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका कुलमान घिसिङलाई बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पा र आमा प्रमुख जगना गुरुङले मायाको चिनो प्रदान गरे । साथै, उनले बीसीसी गुम्बा परिसरको अवलोकनसंगै गुम्बाका रिन्पोछे, खेन्पो तथा लोपेन गुरुहरुको दर्शन समेत गरेका थिए ।
उक्त कार्यक्रममा बीसीसी यूके उपाध्यक्ष मेजर हितमान गुरुङ, उपाध्यक्ष क्याप्टेन देव घले, सचिव मेजर शंकर गुरुङ, कोषाध्यक्ष मेजर बलदीप तामाङ, पूर्व अध्यक्ष धर्म तामाङ, सल्लाहकार जंगबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।
त्यस्तै, बीसीसी यूकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, बीसीसी यूके लण्डन ब्रान्च अध्यक्ष गोपाल तामाङलगायत सल्लाहकार, आमाहरुलगायत भक्तजनहरुको विशेष उपस्थिति थियो ।
बीसीसी यूके अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त स्वागत तथा सम्मान कार्यक्रम महासचिव मेजर कुमार गुरुङ ‘एमभीओ’ ले सञ्चालन गरेका थिए ।
-पूर्ण गुरुङ