आइतबार, १३ जुलाइ, २०२५
18:25 | २३:१०

बेलायतमा नेवारी बाजा र नाच सिक्दै बालबालिका

नेपाली लिङ्क जुलाइ १३, २०२५


लन्डन । पासा पुचः गुथि यूकेले पहिलोपटक लन्डनमा इन्द्र जात्रा गर्ने तयारी गरिरहंदा बेलायतमै जन्मे हुर्केका बालबालिका यतिखेर नेवारी बाजा र नाच सिक्न व्यस्त छन् ।

बेलायतमै जन्मिएका ६ देखि १२ वर्षसम्मका करिब तीन दर्जन बालबालिकाले शनिबार र आइतबार ढा, धिमे, खिंग बाजा, बांसुरी, कुमारी, भैरव र लाखे नाचका साथै हुंला प्याखः सिकिरहेको पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापतिले जनाए । 

गुथिले सन् २००९ देखि भैरव गुण, ख्याक नाच र ढा बाजा सिकाउन थालेको हो । गुथिको साउथ इष्ट लन्डन च्याप्टरले भैरव नाच र धिमे बाजाको ५, ५ वटा ब्याच प्रशिक्षित गराइसकेको प्रजापतिले बताए ।

सन् २०१७ मा १० देखि ११ वर्षका बालबालिकाको पहिलो ब्याचले धिमे बाजा सिक्यो । तालिम लिनेमा उत्कृष्ट श्रेष्ठ, सिरज श्रेष्ठ, सावन श्रेष्ठ, आशिष श्रेष्ठ र आर्या श्रेष्ठ थिए । 

सन् २०२२ मा बेलायतमा जन्मिएका ६ देखि ९ वर्षका बच्चाहरु टिसा प्रजापति, निर्वाण प्रजापति, फियोना महर्जन, अमिरा श्रेष्ठ र एलेक्स सुवालले पहिलोपटक धिमे बाजा सिके । 

त्यसैगरि, सन् २०२३ मा बेलायतमा जन्मिएका टिसा प्रजापति, अमिरा श्रेष्ठ, काव्या श्रेष्ठ, श्रीषा प्रजापति, रिदिमा श्रेष्ठ, सोफी श्रेष्ठ र मनिता श्रेष्ठले कुमारी नाच प्रशिक्षण लिए । काव्या श्रेष्ठले बेलायतमा जन्मिए पनि आफ्नो ओरिजिन नेपाल भएको र बाबा आमाले प्रोत्साहित गरेर कुमारी नाच सिकेको बताइन् । 

गत वर्ष ८ जनाले कुमारी नाचको तालिम लिएका थिए ।

महिलाले पनि धिमे बाजा सिक्न चासो देखाएका गुथिको भनाइ छ । सन् २०१८ मा धिमे बाजा सिक्ने महिलाहरुको पहिलो ब्याचमा गायत्री श्रेष्ठ, चन्चला श्रेष्ठ, धनमाया श्रेष्ठ, रत्न कायस्थ र सुवास्ना शाक्य थिए ।


बेलायतमा समेत नेवारी कला संस्कृतिको निरन्तरता र नयां पुस्तालाई मातृभूमिसंग जोडिराख्न पाइयोस् भन्ने उद्देश्यले बाजा र नाच सिकाइएको प्रजापतिले जनाए ।

लन्डन फेल्थामस्थित स्प्रीङवेष्ट एकेडेमी प्राङ्गणमा आउंदो १६ अगष्ट दिनभर इन्द्र जात्रा गर्न लागिएको छ । बेलायतमै मौलिक जात्राको रुपमा विकास गर्ने उद्देश्य छ ।

यतिखेर भैरव रथ, कुमारी रथ र गणेश रथ निर्माण भइरहेको छ । भैरव रथ गुथिको साउथ इष्ट च्याप्टर एवं कुमारी र गणेश रथ लन्डन च्याप्टरले बनाइरहेका छन् । 

पासा पुचः गुथि यूके साउथ इष्ट च्याप्टरले ढा, धिमे, खिंग बाजा, बांसुरी, कुमारी, भैरव र लाखे नाचका साथै हुंला प्याखःको रिहर्सल गराइरहेको छ भने लन्डन च्याप्टरले पनि धिमे, बांसुरी बाजासहित धिमे प्याखः, लाखे नाच र पुलु किसी नाच सिकाइरहेको छ । 

अल्डरसट च्याप्टरले धिमे, बांसुरी र लाखे नाच, रेडिंग च्याप्टरले धिमे, ढा, धिमे प्याखः र लाखे नाच तथा स्कटल्याण्ड शाखाले लाखे नाच र धिमे बाजा रिहर्सल गराइरहेको छ ।

काठमाडौंमा ८ दिन सम्म मनाइने इन्द्र जात्रा पृथक र रमाइलो मानिन्छ । काठमाडौंको प्रतीक (रिफेल्क्सन अफ काठमाडौं) का रुपमा जात्रा गर्न लागिएको हो ।


नेपालको संस्कृतिबाट सिकेर लन्डनमा आफ्नै शैलीको फयूजनसहित जात्रा गरिने आयोजकले जनाएका छन् ।

पासा पुच गुथि लन्डन च्याप्टर र ओजेश सिंहले जात्राको संयोजन गरेका छन् । जात्रा व्यापक बनाउन गुथिका सबै ६ वटा यूके च्याप्टरको पनि आआफ्नो तर्फबाट योगदान हुनेछ ।

सन् २००० मा गुथि स्थापना भएपछि यूकेमा म्ह पूजा, गुथि भ्वय, गुथि पूजा, वृहत नेवा मुना, योमरी पुन्ही, गुथि सेमिनार, लन्डन खः जात्रा, लन्डन बिस्का जात्रा लगायत विभिन्न सांस्कृतिक गतिविधि भइरहंदा पहिलोपटक लन्डन इन्द्र जात्रा थपिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू