नेपाली ओपन कन्सर्टका लागि अन्जु पन्त र खेम सेन्चुरी लन्डनमा



लन्डन । बेलायतमा हुन गइरहेको १७ औं नेपाली ओपन कन्सर्टमा भाग लिन चर्चित गायिका अन्जु पन्त र गायक खेम सेन्चुरी बुधवार राती लन्डन आइपुगेका छन् ।
मगर संघ यूकेले १४ जुन शनिबार गर्न लागेको नेपाली ओपन कन्सर्ट मा प्रस्तुति दिन उनीहरु लन्डन आएका हुन् । यसैगरी भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल युवा कलाकार विजय ठाडा मगर पनि बेलायत आएका छन् ।
कलाकारहरुलाई मगर संघ बेलायतका अध्यक्ष लालु पुनलगायतको टोलीले विमानस्थलमा स्वागत गरेको थियो ।
बेलायतमा नेपाली कला संस्कृति, गीत, संगीत, जगेर्ना र प्रवर्धन गर्ने उद्देश्यसहित मगर संघ यूकेले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट गर्दै आएको छ । करिब ५ हजार दर्शक सहभागी हुने आशा गरिएको सो कन्सर्टमा बेलायतका स्थानीय कलाकारले समेत नृत्य प्रस्तुत गर्नेछन् ।
‘म्यूजिक फर युनिटी’ नाराका साथ बेलयतको फार्नब्रो रग्बी फुटबल क्लबमा बिहान ११ देखि बेलुकी ८ बजेसम्म हुने कन्सर्टमा बालबालिकाका लागि मनोरन्जनात्मक खेल साथै युवा, वयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकले बताएका छन् ।
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा स्थानीय मेयर, उपमेयर, काउन्सिलरहरू साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि अतिथि रहनेछन् ।
‘भ्वाइस अफ नेपाल’ सिजन ६ का कोचसमेत रहेका खेम सेन्चुरी र गायिका अन्जु पन्त भने कार्यव्यस्तताका कारण कन्सर्ट सकिएलगत्तै भोलिपल्टै नेपाल फर्कने कार्यक्रम छ ।
फोटो—शिव भण्डारी
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५