शनिबार, वैशाख २७, २०८२
12:03 | १६:४८

महिला विश्वकपमा ४८ टोली सहभागी गराउने फिफाको निर्णय

रासस/सिन्ह्वा मे १०, २०२५

जेनेभा, वैशाख २७ गते । सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पु¥याइने भएको छ ।

विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो ।

फिफाका अनुसार, विश्वव्यापी रूपमा महिला फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको हो । यसले थप राष्ट्र र खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्नुका साथै विश्वभर महिला फुटबलमा लगानी तीव्र बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

४८ टोली सहभागीताको नयाँ ढाँचामा अब १२ समूह रहने छ, जसले कुल खेल सङ्ख्या ६४ बाट बढाएर १०४ पु¥याउने छ र प्रतियोगिता एक हप्ता थप लम्बिने छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, “यो केवल थप १६ टोली खेलाउने कुरा मात्र होइन, यो निर्णयले सदस्य राष्ट्रहरूलाई समग्र रूपमा महिला फुटबल संरचना विकास गर्न प्रेरित गर्ने छ ।”

महिला विश्वकपको सुरुआत सन् १९९१ मा १२ टोलीसहित भएको थियो । त्यसपछि सन् २०११ सम्म १६ टोलीले भाग लिए भने क्यानाडा र फ्रान्समा सम्पन्न सन् २०१९ संस्करणमा २४ टोली सहभागी थिए । सन् २०२३ मा अस्ट्रेलिया र न्यूजिल्यान्डद्वारा सह–आयोजित प्रतियोगितामा पहिलोपटक ३२ टोली सहभागी भएका थिए । सन् २०२७ मा आगामी विश्वकप ब्राजिलमा आयोजना हुने छ ।

यसैबीच, पुरुष विश्वकप पनि सन् २०२६ देखि ४८ टोलीसहित आयोजना हुँदैछ, जुन संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू