पर्यटनमन्त्रीले भेटे भारतीय समकक्षी, हवाई रुटबारे छलफल
काठमाडौँ- भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा भारतीय समकक्षीसंग छलफल गरेका छन् ।
भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा उनले बिहीबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा सो विषयमा छलफल गरेका हुन् ।
सो अवसरमा मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्धसहित तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेकाले भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले भारतका विभिन्न शहरबाट नेपाली शहरहरुमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट सिधै क्षेत्रीय र अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरेका थिए ।
उनले पोखरा नेपालका पर्यटकीय राजधानीका रुपमा विकसित भइरहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रभण गरेपछि अहिले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न शहरबाट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गर्नुपर्ने विषयमा जोड दिएका थिए ।
यसैबीच मन्त्री पाण्डेले बुधबार भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँदिल्लीमा भएको भेटका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न आग्रह गरेका थिए ।
सो क्रममा भातरीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीचको प्रभावकारी अपासी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिनेमा जोड दिएका थिए ।
भेटमा विगतमा दुई देशका संस्कृति तथा पर्यटनमन्त्रीहरुबीच सांस्कृतिक सम्बन्ध मजबुत बनाउने विषयमा एक समझदारी पत्रमा हस्ताक्षर भएको र अहिले त्यसको म्याद सकिएकाले त्यसलाई थप परिमार्जनसहित पुनः नवीकरण गर्ने विषयमा छलफल भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५