बिहीबार, साउन ३, २०८१
17:59 | २२:४४

भ्रमर गीत

डा. कृष्ण उपाध्याय जुन २३, २०२४

लेखक डा. कृष्ण उपाध्याय

पृष्ठभूमिः
भ्रमर गीत दशम स्कन्ध, सत्चालिसौं अध्यायमा छ जुन अति महानीय भाव र लयको गीत हो, श्रीमद भागवतको। यसले गाउँले भनिएका गोपी हरुको ज्ञान पनि उजागर गर्छ। यसको पृष्ठभूमि उद्धवजीको स्तुतिमा वर्णन गरिएको छ।

पुनः स्मरण गर्नुपर्ने विषय मात्र के हो भने, उद्धव गोपी वार्ताको क्रममा एउटा भवरा उंडेर आउंछ, एकजना गोपीले त्यै भवरालाई सम्बोधन गर्दै उद्धवजीलाई परोक्ष रुपमा सुनाउंछन् कृष्णलाई गरेको घुर्कीयुक्त प्रेम।

श्लोक र अर्थः

गोप्युवाच
मधुप कितवबन्धो मा स्पृशाङ्घ्रिं सपत्न्याः
कुचविलुलितमालाकुङ्कुमश्मश्रुभिर्नः ।
वहतु मधुपतिस्तन्मानिनीनां प्रसादं
यदुसदसि विडम्ब्यं यस्य दूतस्त्वमीद‍ृक् ।। १२ ।।

गोपीले भनिन्ः
(भवराको रातो रातो जुँगा कृष्णको केशर लागेको ठानेर) ए भवर! ओइ कपटीको साथी! मेरो खट्टा न छो (छोलास नि मेरा खुट्टा !) तेरो त्यो जुँगा नि हाम्री कान्छी सौताको बक्षस्थलमा दलिएको कृष्णको वनामालाको कुमकुम लागेको छ। तैं भवराको स्वामी (साथी) कृष्णले नै (मथुराका) स्त्री हरुको यो प्रसाद धारण गरुन् । हामीलाई प्रसन्न गर्न त जस्तालाई दूत वनाएर पठाउने (कृष्ण) यदु सभामा हांस्यास्पद छन् ।

सकृदधरसुधां स्वां मोहिनीं पाययित्वा
सुमनस इव सद्यस्तत्यजेऽस्मान् भवाद‍ृक् ।
परिचरति कथं तत्पादपद्मं नु पद्मा
ह्यपि बत हृतचेता ह्युत्तमःश्लोकजल्पैः ।। १३ ।।

(ए भवरा !) जसरी तैले फुल तुरुन्त छोड्छस्, कृष्णले पनि मोहित पार्ने अधरामृत एकपटक पिलाएर हामीलाइ त्याग गरे। यस्ताका चरण कमलको सेवा किन लक्ष्मी गरि रहन्छिन्? उनी (लक्ष्मी) को मन पनि तिनका मिठा वचनले हर्यो होला (आसय हामी लक्ष्मी जस्ता झुक्किने हौँ र !)

किमिह बहु षडङ्घ्रे गायसि त्वं यदूना–
मधिपतिमगृहाणामग्रतो नः पुराणम् ।
विजयसखसखीनां गीयतां तत्प्रसङ्गः
क्षपितकुचरुजस्ते कल्पयन्तीष्टमिष्टाः ।। १४ ।।

(हामीलाई खुशी पार्न भगवानको गान गर्छ, प्रसंसा गर्छ भन्ने भावमा) ओइ छ खुट्टे! हामी घर विहीनका अगाडि किन वारम्वार यदुपति कृष्णको वारेमा गाउंछस् ? हामी उसलाई (कृष्णलाई) राम्रो संग चिन्छौं। अर्जुनसखा (कृष्ण) जो सखी छन् नि (मथुरामा), जा तिनैका अगाडि गएर उसको (कृष्ण) प्रसंसा–गीत गा। तिनीहरुले (ति मथुराका कृष्ण सखीहरुले) तैंले जे माग्छस् त्यै दिन्छन्।

दिवि भुवि च रसायां काः स्त्रियस्तद्दुरापाः
कपटरुचिरहासभ्रूविजृम्भस्य याः स्युः ।
चरणरज उपास्ते यस्य भूतिर्वयं का
अपि च कृपणपक्षे ह्युत्तमःश्लोकशब्दः ।। १५ ।।

छल गर्ने, सुन्दर हाँसोयुक्त आँखी भौं चलाउने यीनका लागि (कृष्णका लागि) स्वर्ग (दिवि), पृथ्वी (भुवि) र पाताल (रसायाम) बस्ने कुन चै स्त्री दुर्लभ छन् ! लक्ष्मीजी ले पनि उनको चरणरज को सेवा पर्नु हुन्छ भने हामी त को हौँ र ! तर जो दिनहीन छन् उनका लागि त् उनी उत्तमश्लोक हुन् (स्मरण गर्ने, नाचगान गर्नुपर्ने, भगवान) हुन्।

विसृज शिरसि पादं वेद्म्यहं चाटुकारै–
रनुनयविदुषस्तेऽभ्येत्य दौत्यैर्मुकुन्दात् ।
स्वकृत इह विसृष्टापत्यपत्यन्यलोका
व्यसृजदकृतचेताः किं नु सन्धेयमस्मिन् ।। १६ ।।

निहुरियाएर सुङ्घ्छ, गोपी हरु कल्पना गर्छन् उद्धव जी उनीहरुका चरणमा पसेका छन्, अथवा वुट्टा छेउमा आएर उनीसँग माफ माग्न लागेको कल्पना गर्दै ति गोपी भन्छिन्ः) ओइ भवरा ! मेरो खुट्टाबाट तेरो टाउको हटा ! मुकुन्द (कृष्ण) सँग आएको दूतकर्म र मिठामिठा शव्दले उचाल्न निपूण (चाटुकार) तेरो चरित्र म जान्दछु। तँ पनि ति कृष्ण जस्तै अविस्वासी छस––जुन कृष्णका लागि हामीले छोरा छोरी पति र अरु सवैलाइ छोड्यौ। हामीलाई त्याग्ने ति वैगुनी-चञ्चल चित्त भएका (अकृतचेताः) सँग म किन सम्झौता गरौँ!

मृगयुरिव कपीन्द्रं विव्यधे लुब्धधर्मा
स्त्रियमकृत विरूपां स्त्रीजितः कामयानाम् ।
बलिमपि बलिमत्त्वावेष्टयद् ध्वाङ्क्षवद्–
यस्तदलमसितसख्यैर्दुस्त्यजस्तत्कथार्थः ।। १७ ।।

(भगवानका पुर्व कर्म सम्झिदै, डर लाग्छ भन्ने भावमा, भन्छिनः) क्रुर व्याधाले जस्तै (लुब्धधर्मा) वानर राज वालिलाइ मारे। कामातुर भएर आएकी स्त्रीलाइ आफ्नो स्त्रीको वसमा परेर विरुप पारे (प्रसंग शुर्पणखाको नाक काटेको) वलिबाट पूजीए, दान लिए, अनि उनैलाई वाँधेर पातालमा फ्याकी दिए। त्यसैले यी कालु सँग को मित्रता पुग्यो अब (चाहिंदैन) । (तर के गर्नु !) त्यै पनि उनका कथारुप अर्थ त्याग गर्न असम्भव छ, दुस्कर छ (आसय––म छोड्न सक्दिन )

यदनुचरितलीलाकर्णपीयूषविप्रुट्–
सकृददनविधूतद्वन्द्वधर्मा विनष्टाः ।
सपदि गृहकुटुम्बं दीनमुत्सृज्य दीना
बहव इह विहङ्गा भिक्षुचर्यां चरन्ति ।। १८ ।।
जसका सधै हुने लीलाकथा रुपी कर्णामृत अमृतको एक थोपा मात्र लिन्छन तिनीहरुको (राग–द्वेष, सुख–दुःख आदि) द्वन्दबाट मुक्ति हुन्छ। र अकिञ्चन भावमा तत्कालै घर परिवार त्याग गरेर भिक्षुजस्तै जीवन यापन गर्दै घुम्छन। (भनेको कृष्ण कथाले आसक्ति र मोहको उन्मुलन गर्दछ) ।

वयमृतमिव जिह्मव्याहृतं श्रद्दधानाः
कुलिकरुतमिवाज्ञाः कृष्णवध्वो हरिण्यः ।
दद‍ृशुरसकृदेतत्तन्नखस्पर्शतीव्र–
स्मररुज उपमन्त्रिन् भण्यतामन्यवार्ता ।। १९ ।।

जसरि काला हरिणी शिकारीको मधुर गीत सत्य ठानेर उसको नजिक पुगेर शिकारीको वाण बाट दुख भोग्छन, त्यसरी नै हामी कृष्णका कुटील वचनलाई सत्य मान्दै उनका चरणान्गुलीका नङ स्पर्श गरेर उसको वियोगको दुःख भोग्दै छौं। त्यसैले,(ए भवरा!) अव अरु कुनै कुरा गर (कृष्णको कुरा निकाल्यो भने वीरह भाव आउंछ भन्ने आसय)

प्रियसख पुनरागाः प्रेयसा प्रेषितः किं
वरय किमनुरुन्धे माननीयोऽसि मेऽङ्ग ।
नयसि कथमिहास्मान् दुस्त्यजद्वन्द्वपार्श्वं
सततमुरसि सौम्य श्रीर्वधूः साकमास्ते ।। २० ।।

(कतै उडेर गएको भवरा फेरी फर्के को देखेर ) ए कृष्णक साथी! प्रियात्तम कृष्णले पठाएर तिमि फेरी आयौ ? तिमी मेरो पूजनीय छौ, त्यसैले जे माग्नु छ माग (यदि तिमीले कृष्णको मा लान खोज्या हो भन्ने भाव)। जो (कृष्ण) सँधै स्त्रीहरु सँग (स्त्री युक्त) छन्, त्यस्ताका छेउमा हामीलाई कसरी लान्छौ ? हे सौम्य! जसको हृदयमा लक्ष्मी बस्छिन्,

तिनलाई हाम्रो के आवश्यकता छ।
अपि बत मधुपुर्यामार्यपुत्रोऽधुनास्ते
स्मरति स पितृगेहान् सौम्य बन्धूंश्च गोपान् ।
क्वचिदपि स कथा नः किङ्करीणां गृणीते
भुजमगुरुसुगन्धं मूर्ध्न्यधास्यत् कदा नु ।। २१ ।।

(जब भवरा कानको छेउमा आएर घुरर गर्न थाल्यो, उद्धवजीले नै केही भन्या हो कि भन्ने, कल्पना गर्दै, ति गोपी भन्छिन्ः) हे सोम्य! हे उद्धवजी यो दुर्भाग्य हो कि कृष्ण मथुरामा बस्छन्। अहिले पनि उनले आफना पिता (नन्द) को घरवार सम्झिन्छन् ? आफ्ना साथीहरु, गोपीहरुलाई सम्झिन्छन् ? उनी हामी दासीहरुको कुरा गर्छन्? उनले (अगरु जस्तै) सुगन्धित हात हाम्रो शिरमा फेरी राख्छन् (भनेको पहिलेको जस्तै हात शिरमा राखेर कृपा वर्षाउछन ?)

संक्षिप्त व्याख्याः
यो गोपीहरुको अन्तिम स्तुति हो। यो र यस अघिका स्तुतिहरु हेर्दा देखिने कुरा के हुन् भनेः गोपीहरुको निम्ति भगवानको स्वरुप सुन्दर छ, लीलायुक्त र मृदु हाँसो युक्त हुनुहुन्छ, अनन्त कल्याणकारी गुणयुक्त हुनुहुन्छ, आनन्दमयी गुणयुक्त हुनुहुन्छ, त्यसैले भगवान आफैमा आनन्दको स्वरुप हुनुहुन्छ। उनीहरु भगवानलाई देखे पछि आकर्षित ह’न्छन्। ति काम्य भाव आजभोलि पर्दामा देखिने महिला-पुरुष कलाकारप्रतिको आकर्षण जस्तै छ, तर सबैले कालाकारलाई भेट्ने पर्छ भन्ने हुंदैन दर्शकलाई।

तर गोपीहरुलाई भेट्ने उत्कण्ठा हुन्छ। अथवा उनीहरु सायुज्य भक्तिको अपेक्षा गर्दछन्। प्रेम, प्रेमको मुर्ति उनीसंगको सामिप्यसहितको भक्ति (सायुज्य भक्ति) नै गोपी भक्ति हो। त्यही सायुज्य भक्तिको कारणले श्रीकृष्णको भगवत्ताको वारेमा ज्ञान हुदाँ हुँदै र तदनुरुप आराधना गर्दा गर्दै पनि उनीहरुमा मानवीय व्यवहार देखिन्छ, त्यसैले उनीहरु गाली गरे जस्तो, आक्रोषयुक्त भए जस्तो, घुर्क्याएको जस्तो भावमा बोल्छन्।

यसै स्तुतिमा हेरौंः श्लोक १७ मा उनीहरु परब्रह्म भगवानबारे पूर्ण जानकार छन्, त्यसैले त भगवान श्रीकृष्णलाइ घुर्क्याएर गाली गरे जस्तो गर्दा भगवान श्रीराम र भगवान वामनलाई पनि गाली गर्छन्। त्यसैले सुर्पणखाको नाककान काटेको प्रसंग र बालीको वध जस्ता रामकथाका प्रसंग कोत्याउछन, र बालिबधको प्रसंगमा भगवानलाई ‘क्रुर व्याधा जस्ता’ (लुब्धधर्मा) वामनले आफ्ना परमभक्त बलिलाई किन सर्वस्व लिएर पनि पातालमा पाताकसेर पठाएको प्रसंग झिक्दै, तिमी (कालु) कृष्णको के भर भन्ने भाव व्यक्त गर्छन्, अव यस्ता ‘काले’ को संगत गर्नु पर्या छैन भन्छन्, तर तल्लो श्लोक आएर यिनका कथा त् छोड्न सकिन्न नि भन्ने भाव राख्छन।

यो भाव त अझ उच्चकोटीको छ। उनीहरु भन्छन, कृष्ण (भगवान) कथाले) (राग–द्वेष आदि मानसिक) द्वन्द्वबाट मानिस हरु बिमुक्त हुन्छन र घर–गृहस्थी छोडेर भिक्षाटन गर्दै जीवन निर्वाह गर्छन्। यो पनि सुन्दा अलिक हेय भाव पो हो कि भन्ने भाव आउंछ। कथाले उद्देश्यहीन भिखारी त बनाउने होइन? तर, यहाँ ऐषणा (जस्तै इच्छा, मोह) बाट मुक्त हुने भित्री भाव देखिन्छ। भागवतका परमश्रद्धेय टिकाकारहरुले यसको श्रोत श्रुति (वेद) हो भन्ने जिकिर गर्नु भएको छ ।

यथा:

ते ह स्म पुत्रैषणयाञ्च वित्तैणयाञ्च लोकैणयाञ्च
व्युथायाथ भिक्षाचर्य चरन्ति (बृहदारण्यक उपनिषद्, ४ः४ः२२)

(अर्थात, पूर्ववर्ती विद्वान सन्तानको इच्छा गर्दैनथे, उनीहरु सोच्थे हामीलाई प्रजा किन चाहियो, त्यसैले पुत्रैषणा वित्तैणणा लोकैणणा त्यागेर भिक्षाचर्या गर्दथे) । यो श्रौत (श्रुति अथवा वेदजन्य) भाव बाहेक टिकाकारहरुले पारमार्थिक अर्थ पनि दिनु भएको छ, यो श्लोकको, यथाः

भगवान कृष्ण चरित्रूप अमृत एकपटक आस्वादन (श्रवण) गरियो भने, हाँसको जस्तै सर र असारको विवेकमा निपूर्ण महान धिर पुरुषहरु (स्त्री पनि) त्यतिनै खेर गृह–कुटुम्ब छोडेर परमहंसता धारण गर्दछन्।

त्यसैले गोपी भाव होः परमपुरुषार्थ स्वरुप भएका कारणले भगवानको कथा चै छोड्न सकिदैन।

दोश्रो श्लोकमा बढो सरल भावमा आलोचनात्म भावमा श्रीकृष्ण परम पुरुष नारायण स्वरुपको दर्शन गराउंछन् गोपीहरु। भवरा फुलमा वसेर जसरि मधुरस लिएर हराउंछन्, त्यसैगरि कृष्ण पनि हामीलाई त्यागे भन्दै यस्तालाई लक्ष्मीको सेवा किन प्राप्त छ। अर्थात कृष्ण नारायण हुन् भन्ने अर्थमा उनीहरु लक्ष्मीलाई कृष्णसंग जोड्न पुग्छन् (हेर्नुस् श्लोक १७) ।

अर्थात कृष्णलाई सम्झंदा कृष्णको आल्हादिनी शक्तिलाइ सम्झिन्छन् उनीहरु। गोपी हरुमा भगवानको भक्ति आल्हादिनी शक्ति बिना अपूर्ण हुन्छ भन्ने भाव छ । त्यसैले कृष्ण (नारायण) को प्रसंग आउँदा लक्ष्मी प्रसंग आउँछ। भगवानको आराधना, स्मरण, यजन श्री तत्व विना अपूर्ण मानिन्छ। अर्थात भगवान श्री तत्व सहित हुनुहुन्छ। परम ज्ञानी गोपीको भाव भगवान शिवको उपदेश अनुरुप छ। भगवान शिव पार्वतीलाई भन्नु हुन्छः

गौरतेजो विना यस्तु श्यामतेजस्समर्चयेत् ।
जपेद्वा ध्यायते वापि स भवेत् पातकी शिवे ।। (गोपाल सहस्रनाम स्तोत्र, १७)
(अर्थात्, गौर-स्वेत वर्ण बिनाको श्याम (काला) वर्णको आराधना जप वा ध्यान गर्नेहरु पातकी हुन्छन्)

भगवान शिव भन्नु हुन्छ गोरी (श्रीतत्व जस्तै, लक्ष्मी, सीता, राधा-रुक्मिणी) बिना श्यामवर्ण (अर्थात् नारायण, राम, कृष्ण) को अर्चन, बन्दन अपूर्ण छ। गोपीहरु त्यसैले बारम्बार लक्ष्मीको स्मरण गर्दछन्, कृष्ण प्रसंग आउँदा (गोपीका गीतमा इन्दिरा भन्छन, यहाँ पद्मा, श्री भन्छन्) ।

यस्ता गहिरा ब्रह्म चिन्तनयुक्त भाव यहाँ पर्याप्त छ श्रृंगारयुक्त शैलीमा। अन्तिममा उनीहरु उद्धवजीलाई लक्षित गर्दै भ्रमरलाई भन्छन्ः के ति कृष्णले फेरी पनि तिनका अगरुको जस्तो सुगन्धमय हात हाम्रो शिरमाथी राख्लान भन्दै के भगवत कृपा हामीसंग सधै रहिरहोस् भन्ने इच्छा ब्यक्त गर्छन्।

काव्यात्मक शैलीमा, कामुक पो हुन कि जस्तो लाग्ने गरी भगवानका चरण हृदयमा राख्ने कुरा गर्छन (हेर्नुस् गोपीका गीत) । त्यै भावलाई नारद अथवा ब्रह्माले गरेको स्तुति सरल र सोझो हुन्छ। यस पहिले नै निवेदन गरि सकेको छु भगवानले उनीहरुको प्रेमयुक्त भक्तिको प्रशंसा गर्नु भएको छ (कुरुक्षेत्रको पुनर्मिलन प्रसंग हेर्नुस् ) । भगवान त्यस्तालाई मित्रवत् व्यवहार गर्नु हुन्छ। मार्कण्डेय जस्ता परम ज्ञानी र भगवानको अनन्त कृपा भएका सिद्धहस्त ऋषि पनि भन्नु हुन्छः हजुरका भक्तहरुलाई मित्रको रुपमा भजनु हुन्छ।

यथाः
…स्वस्यापथापि भाजता मसि भावबन्धु (श्रीमद्भागवत १२ः८ः४० )

यो स्तुतिपछि गोपी प्रसंग र प्रेमलक्षणा भक्तिचर्चा समाप्त हुन्छ। यस पछि शरणागति भक्ति सम्बन्धी स्तुतिहरुको चर्चा गरिने छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू