भूतपूर्व गोर्खाको काँधमा बेलायतकै ठूलो नेपाली संस्थाको कार्यभार



लन्डन । बेलायतस्थित नेपाली डायष्पोरामा सबैभन्दा ठूलो मानिने संस्था तमुधिं यूकेको बागडोर अहिले जुमकाजी गुरुङको कांधमा छ ।
१८ वर्ष ब्रिटिश सेनामा सेवा गरेर अवकास लिएपछि सामाजिक र परोपकारी कार्यमा संलग्न भए उनी । संस्थाप्रति लगाव, बफादारी, परिपक्व निर्णय क्षमता र खारिएको अनुभवका कारण तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङको पहिलो वर्ष पूर्ण सफल रह्यो । तमुधिं यूकेले गर्ने बेलायतका दुई ठूला इभेन्ट गोर्खा कप र नेपाली मेलाले उनकै कार्यकालमा रेकर्ड ‘ब्रेक’ गरे ।
पहिलो, जुमकाजी नेतृत्वमा आएपछि विगतको परम्परा तोडेर गोर्खा कपमा बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेलाई प्रमुख अतिथी बनाइयो । यसअघि स्थानीय रसमोर बरो काउन्सिल मेयर प्रमुख अतिथी बन्दै आएका थिए ।
‘राजदूत भनेको हामी नेपालीहरुको अभिभावक हो । हामीले उहांलाई पर राखेर मेयरलाई किन बोलाउने ? भन्ने भएपछि राजदूत चन्द्र घिमिरेलाई प्रमुख अतिथी बनाएका हौं’- उनले भने । त्यही बेला चर्चित महिला फुटबल खेलाडी साम्बा, उज्यालो नेपालका संस्थापक कुलमान घिसिङ समेत सहभागी हुंदा गोर्खा कप अरु बेलाभन्दा भव्य बन्यो ।
अनि, सुःखद संयोग गएको नेपाली मेलामा दर्शक सहभागिता संख्या अहिलेसम्मकै उच्च र व्यवस्थापन पनि उत्कृष्ट थियो । उक्त मेलामा झण्डै १३ हजार दर्शक सहभागी थिए । सो मेला १६ वर्षको इतिहासमै सबैभन्दा बृहत भएको आयोजक तमुधिं यूकेको निष्कर्ष छ ।

एक वर्षअघि नेतृत्वमा आएपछि उनले सर्वप्रथम संस्थालाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने, संस्थाका प्रमुख इभेन्ट गोर्खा कप र नेपाली मेला कसरी पृथक, उत्कृष्ट बनाउने, नेपालमा परोपकारी कार्य कसरी गर्ने भन्नेमै उनको ध्यान केन्द्रित छ । जातीय संस्था भएपनि आपतविपत पर्दा जुनै ठाउंमा जो सुकैलाई आर्थिक सहायता दिलाउन, परोपकारी कार्य र गोर्खा कप एवं नेपाली मेला सफल बनाउन नै आफूले ‘फोकस’ गरेको उनी बताउंछन् ।
अबको गोर्खा कप र नेपाली मेला भव्य बनाउने उनीसंग केही योजना छन् कि ? प्रश्नमा अध्यक्ष गुरुङले यसपटक पनि नेपालबाट प्रख्यात खेलाडीलाई निम्त्याउने योजना रहेको सुनाए । ‘यो गोर्खा कपमा ८० वर्ष पुगेका वृद्धवृद्धा र अपांग व्यक्तिहरुलाई निशुल्क प्रवेश, बेग्लै टेन्ट, खाना र मनोरन्जन साथै बालबालिकालाई ४ वटा खेल व्यवस्था गर्ने निर्णय गरेका छौं’, उनले भने ।
नेपाली मेलामा देखाइने झांकी र अन्य गतिविधि एकै खालका भए भन्ने गुनासो कतिपयको छ । यसलाई अझ परिमार्जन गर्न केही गृहकार्य छ ? जवाफमा जुमकाजी भन्छन्, ‘नेपाली मेलाको डिजाइन नै हाम्रो कला संस्कृति, भाषा, भेषभूषा संरक्ष्ँण र नयां पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गरिएको हो । त्यसकारण नेपालभरका जातीय भेषभूषा, कला संस्कृति प्रदर्शन हुनु स्वभाविक हो तर हामीले प्रत्येक वर्ष पुरस्कार राशी वृद्धि होस् वा अन्य गतिविधि, केही न केही नयां गर्ने गरेका छौं ।’

तमुधिं यूकेले परोपकारका क्षेत्रमा समेत आफ्नो सक्रियता तीव्र रुपमा अगाडि बढाएको छ । तमुधिं यूके अध्यक्ष गुरुङको भनाइमा उनी नेतृत्वमा आएपछि संस्थाले रिह्याब सेन्टर नौलो घुम्ती नेपाललाई १० लाख रुपैयां, सिन्धुलीमा १० लाख रुपैयांको लागतमा पानी ट्यांकी निर्माण, लमजुङमा स्पोर्टस् सेन्टरमा बनाउन ५ लाख, पोखरा म्याराथनमा पहिलो पुरस्कार प्रायोजनवापत ४ लाख १५ हजार रुपैयां र असक्त असहायलाई आर्थिक सहायता गरिसकेको छ ।
अब आफ्नो बांकी कार्यकाल एक वर्षमा उनले तमुधिं यूकेका नियमित कार्यक्रमबाहेक तमुधिं भवनलाई ‘रिनोभेसन’ र युवा संघ खडा गर्ने योजना बनाएका छन् ।
तमुधिं यूकेलाई जातीय संस्थामात्र भन्न चाहंदैनन् उनी । ‘तमुधिं जातीय संस्था भएपनि हामीले गोर्खा कपलाई गुरुङ कप राख्न सक्थ्यौं, नेपाली मेलालाई तमु मेला राख्न सक्थ्यौं तर सबै नेपालीलाई समेट्न त्यसो गरेनौं’, उनी प्रष्टिकरण दिन्छन्, ‘ल्होछारमा एकजना गुरुङ कलाकार ल्याउंदा अर्को एकजना बेग्लै समुदायबाट हुन्छ । साम्बा, मनोज गजुरेल, तारा सिरिस, मेलिना राई, कुलमान घिसिङ ल्यायौं । नेपालमा आपतविपत परेका जो सुकैलाई सहयोग पठाएका छौं । हामीले सबै नेपालीका लागि काम गरेका छौं, सबैलाई समेटेका छौं ।’

१७ वर्ष नपुग्दै सन् १९८० मा ब्रिगेड अफ गोर्खाजमा भर्ती भएका उनी सन् १८ वर्ष काम गरेर सन् १९९७ मा रिटायर्ड भए । रिटायर्ड भए लगत्तै यूके आउने मौका पाएका उनी सन् २००० मा तमुधिं यूके स्थापना भएपछि त्यसका गतिविधिमा आवद्ध भए । तमुधिं यूकेले गरेको पहिलो काम पोखरा रंगशालामा तारबार, इराकमा आतंककारीबाट मारिएका १२ जना नेपालीका परिवारलाई आर्थिक सहयोगबाट उनी प्रभावित भएर यस संस्थासंग निकट भएका थिए ।
गण्डकी प्रदेशको पर्वत जिल्ला भुको तान्ग्ले गाउं पुख्र्यौली घर भएका उनी स्वर्गीय सुनार गुरुङ र आमा स्वर्गीय मनसुवा गुरुङको कोखबाट बि.सं. २०१८ सालमा जन्मिएका थिए । सन् १९८४ मा कमला गुरुङसंग बैबाहिक जीवनमा बांधिए जुमकाजी ।
तमुधिं यूकेको ह्याम्पसायर ईकाइमा साधारण सदस्य हुंदै एक कार्यकाल उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष बनेपछि उनी तमुधिं यूके कोषाध्यक्ष, दुई कार्यकाल उपाध्यक्ष एवं एक कार्यकाल वरिष्ठ उपाध्यक्ष हुंदै अहिले १३ औं कार्यसमितिको अध्यक्ष बन्न सफल भएका थिए ।
हाल उनी लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान नेपालको संरक्षक, राम बजार समाज यूकेको पूर्व अध्यक्ष, तमु फोरम यूके कोषाध्यक्ष, सहारा यूकेको सल्लाहकार, एनआरएनए यूकेको सल्लाहकार, तमु कलाकार सांस्कृतिक मञ्च यूकेको सल्लाहकार, रसमोर बरो नेपलिज कम्युनिटी यूके सल्लाहकार, तमु संसारको सल्लाहकार र गुरुङ साहित्य मञ्च नेपालको सदस्य छन् ।
हाल बेलायतको फार्नबरोमा छोरा बुहारी, छोरी–ज्वाईं, एक नाति र एक नातिनी तथा श्रीमती कमला गुरुङको साथ बस्दै आएका छन् उनी ।




