शनिबार, साउन १२, २०८१
03:09 | ०७:५४

विश्वकप खेल्न वेष्ट इन्डिज पुगे सन्दीप

नेपाली लिङ्क जुन १०, २०२४


काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले जारी आईसीसी टी -२० विश्वकपमा वेस्ट इन्डिजमा हुने समूह चरणका अन्तिम दुई खेल खेल्ने भएका छन्।

अमेरिकाले भिसा नदिएपछि पहिलो दुई खेल खेल्नबाट बन्चित उनी बाँकी दुई खेल खेल्न पाउने भएका हुन्।

विश्वकप खेल्न लामिछाने वेस्ट इन्डिज पुगिसकेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आईसीसी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा लामिछाने सहभागी हुने जानकारी दिएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले पनि आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका छन् ।

वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आवद्ध भएको जनाउँदै उनले आफ्नो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको जनाएका छन्।

‘सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु’ उनले भनेका छन्,‘सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’

त्यसअघि एक विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले लामिछाने वेस्ट इन्डिज प्रस्थान गरेको र आईसीसी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा सहभागी हुने जानकारी दिएका थिए।

क्यानले युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसीसमक्ष पेश गरेको जनाएको छ।

क्यानले लेग स्पिनर लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा नदिएपश्चात अमेरिकामा हुने खेलमा सहभागी हुन नपाएको उल्लेख गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू