शनिबार, साउन १२, २०८१
03:18 | ०८:०३

लण्डन दूतावासमा काठमाण्डौं उपमेयर डंगोलको स्वागत तथा सम्मान

नेपाली लिङ्क मे २९, २०२४


लन्डन । काठमाण्डौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विदेशमा बस्ने नेपाली र नेपालबीचको सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिएकी छन् ।

नेपाली दूतावास लण्डनद्वारा मंगलबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै डंगोलले विदेशमा रहेका नेपालीहरु सामाजिक, आर्थिक तथा व्यावसायिक जस्ता विभिन्न क्षेत्रबाट नेपालसंग जोडिनुपर्ने र त्यसका लागि काठमाण्डौं महानगरपालिकाले आफ्नो क्षेत्रबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

संसारको जुनसुकै कुनामा गएपनि हामी नेपाली हौँ भनेर चिनाउन पाउँदा गौरव हुने र विदेशमा नेपालीलाई भेट्दा आफ्नै घरमा भएजस्तो महशुस भएको उनले बताइन् ।

बेलायतको म्यानचेष्टरमा दुई दिन रहंदा नेपाली भेट्न नपाउंदा  आफूहरुलाई न्यास्रो लागेको तर दूतावासमा नेपालीहरु भेटेपछि नेपालमै रहेको भान भएको उनले बताइन् । ‘विदेशमा रहेका नेपालीहरुलाई अविभावकत्व प्रदान गर्न नेपाली दूतावासको महत्वपूर्ण भूमिका छ। यसैगरी परिवारका सदस्य जस्तै विभिन्न संघसंस्थामा आवद्ध भएर एकजुट हुनु प्रशंसनीय छ’- डंगोलले भनिन् ।

संसारको विभिन्न कुनामा नेपालीहरु पुगेपनि बेलायतमा रहेका नेपालीबीच नेपालीपन बढी रहेको पाएको उनले बताइन् । नेपालमा विस्केट जात्रा मनाउँदा बेलायतमा पनि बिस्केट जात्रा मनाइरहेको फोटो-भिडियो हेर्न पाउँदा र नेपालमा दशैको टीका लगाइरहंदा बेलायतमा पनि टीका लगाइरहेको दृश्य देख्न पाउँदा छुट्टै आनन्द आएको उनको धारणा थियो । ‘जो जहाँ गएपनि नेपालीपन संधै रहन्छ, यो मन त मेरो नेपाली हो भन्ने गीतको सृजना त्यसै भएको रहेनछ’- उनले भनिन् ।

ब्रिटिस काउन्सिलको निम्तोमा ‘वुमन अफ द वर्ल्ड (वाव) फेस्टिभल’ मा सहभागी हुन बेलायत आएकी डंगोलले नेपाललाई विविध तरिकाबाट प्रस्तुत गर्ने प्रयास गरेको बताइन् ।

साउथ एसियनहरुका लागि बनाइएको छुट्टै समूहमा नेपालीको कल्चर, सीप तथा परम्परालाई आफूले प्रस्तुत गरेको उनले बताइन् । यसका साथै संसारभरिका महिलाहरुको एकअर्काको कथा सुनाएर प्रेरणाको स्रोत बन्न सक्छ भने त्यस्ता कथालाई स्थान दिने एक महत्वपूर्ण कार्यक्रममा पनि काठमाण्डौं महानगरपालिकाको तर्फबाट प्रतिनिधित्व गरेको उनको भनाइ थियो ।

‘वुमन अफ द वर्ल्ड’ मा सामाजिक, राजनीतिक, कला, विज्ञानलगायतका विभिन्न क्षेत्रका महिलाहरु एकै ठाउँमा बसेर अनुभव र प्रेरणाका कथा सुन्ने सुनाउने, सिक्ने र सिकाउने महत्वपूर्ण ठाउँ रहेको उनले बताइन् ।

त्यस्तै विश्वभरिबाट हरेक साल पोलिटिकल लिडरलाई पनि ‘मोमेन्ट अफ युनिटी’ मा सहभागी गराइन्छ, जसमा यसपटक अष्ट्रेलियाको २७ औं तथा पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र नेपालको तर्फबाट काठमाण्डौं महानगरपालिकाबाट आफूले नेपालको कथा, राजनीति कथा राजनीतिमा महिलाको अवस्था विषयमा सुनाउने मौका पाएको र त्यो सबैका लागि गौरवको कुरा भएको उनले बताइन् ।

आगामी नोभेम्बरमा नेपाली इतिहासमै पहिलोपटक स्थानीय सरकारको आयोजनामा वाव काठमाडौं आयोजना गर्न लागेको उनले जनाइन् । नेपालीहरु धेरै कुराले धनी भएपनि त्यसलाई देखाउन हिचकिचाउंदा पछि परेको बताउंदै उक्त ग्लोवल प्लेटफार्मले ठूलो सहयोग पुग्ने उनले बताइन् । उक्त कार्यक्रममा सहभागी हुन उनले सबैलाई निमन्त्रणासमेत गरेकी छन् ।

आफूहरुले महानगरपालिकामा विभिन्न क्षेत्रमा काम गर्दै आएको र उत्पादनलाई बढी जोड दिएको बताइन् । मौलिक सीपमूलक रोजगारीलाई प्राथमिकता दिने उद्देश्यले सुकुल, माटाका भाँडा जस्ता क्षेत्रलाई बजारीकरणमा जोड दिनुपर्ने र त्यसका लागि ‘एक वडा एक नमूना’ कार्यक्रम सुरु गरेको डंगोलले बताइन् ।

नेपाली डायस्पोरालाई नेपालसंग जोड्न बेलायत सांस्कृतिक रुपमा सफल भइसकेको बताउंदै उनले आर्थिक सम्बन्धलाई पनि जोड दिंदै नेपाली उत्पादन विश्व बजारमा पुर्याउन  काठमाण्डौं महानगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् ।

नयाँ पुस्तालाई नेपाली भाषामा जोड दिनुपर्ने उनको धारणा थियो । बेलायतमा नेपाली भाषामा पनि पढ्ने वातावरण मिलाउनुपर्ने उनले बताइन् । शिक्षा क्षेत्रलाई जोड दिन महानगरपालिकाले ‘बुक फ्री फ्राईडे, सीपमूलक तालिम, रोजगारी मेला, संविधानले दिएको न्यायिक अधिकार जस्ता विभिन्न क्षेत्रमा आफूहरुले काम गर्दै आएको उनले बताइन् । सरकार सरकार (जी टु जी) बीच मात्र नभई जनता जनता (पी टु पी) बीच कनेक्सन गर्न महानगरपालिका तत्पर रहेको उनले बताइन् ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उपमेयर डंगोल तथा उनको भ्रमण टोलीलाई स्वागत गरे । गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै राजदूत आचार्यले गणतन्त्रले दिएका हक अधिकारबारे पनि उल्लेख गरे । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुबाट शुभकामना प्राप्त भएको उनले बताए ।

गोर्खाको इतिहासबाट सुरु भएको नेपाल बेलायतबीचको सम्बन्ध राजनीतिक, सामाजिक, आर्थिकलगायत विविध विषयले गर्दा अझ प्रगाढ बन्दै गएको आचार्यले बताए । नेपालमा पर्यटन प्रवर्धनका लागि पर्यटन क्षेत्रमा बेलायतको बढ्दो उपस्थिति रहेकोले बेलायतको ठूलो योगदान रहेको राजदूत आचार्यले बताए ।

कार्यक्रममा उपमेयर डंगोलले राजदूत आचार्यलाई  हस्तकलाद्वारा निर्मित फूलको गमलालगायत सामग्री प्रदान गरेकी थिइन् । त्यस्तै राजदूत धर्मपत्नी तथा उपनियोग प्रमुख रोशन खनाललाई पनि हस्तकलाका सामग्री प्रदान गरिन् ।

दूतावासकी उपनियोग प्रमुख रोशन खनालले संचालन गरेको उक्त कार्यक्रममा बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधि, काउन्सिलर, व्यवसायी, दूतावास कर्मचारी, पत्रकारलगायतको सहभागिता थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू