शनिबार, वैशाख २२, २०८१
02:48 | ०७:३३

राष्ट्रपति पौडेलसँग कतारका अमिरको भेटवार्ता

रासस अप्रिल २३, २०२४

राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गर्दै । तस्बिर- रत्न श्रेष्ठ/ रासस

काठमाडौं, वैशाख ११ राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ।

मंगलबार अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उनलाई स्वागत गरेका थिए।

शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न थिए।

उनीहरुबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल भएको छ। कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीतल निवास पुगेका थिए।

यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गरेका थिए।

अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार नै रात्रिभोजको आयोजना गरेका छन्।

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी मंगलबार नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आएका हुन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू