बिहीबार, जेठ १०, २०८१
22:01 | ०२:४६

मनी ट्रान्सफरमा पैसासंगै जोडिन्छ भावना (भिडियो)

नेपाली लिङ्क अप्रिल १४, २०२४


लन्डन । २३ वर्ष अघि विद्यार्थी भिजामा लन्डन ओर्लंदा तन्नेरी कमल पौडेलसंग उत्पात धेरै महत्वकांक्षा केही थिएन । पढाइको बहानामा आएपनि २-४ लाख कमाएर नेपाल नै फर्कने उनको सोच थियो । जीन्दगीको यात्रामा सोचेजस्तो गन्तव्य कहां कोरिन्छ र ? आखिर लन्डनमा अलमल गर्दा गर्दै आधा उमेर यतै बित्यो ।

‘शुरुमा यहीं सेटल्ड हुन्छु भन्ने सोचेकै थिइन । केही लाख कमाएर ऋण तिर्ने अनि फर्कने सोच थियो, बस्दा बस्दै यतैको वातावरणमा घुलमिल भइयो’, पौडेलले विगत स्मरण गरे । त्यसो त जन्मभूमिको जस्तो माया अन्त कहांको लाग्छ र । उनको उता पनि व्यापार व्यवसाय छ, आवतजावत भइरहन्छ ।

बेलायतमा अधिकांशले सम्झने मनी ट्रान्सफर कम्पनी आइएमइ लन्डनका प्रवन्ध निर्देशक पौडेलको लन्डन साउथ हयारोस्थित पेन्टाक्स भवनमा रहेको अफिस पुग्दा वातावरण सुनसान भइसकेको थियो । तर, उनको कार्यव्यस्तता घटेको थिएन ।

‘जीन्दगीका उर्जाशील दुई दशक बढी समय यसै गरि बिते’, कम्पनीको ल्यापटप खेलाउंदै उनले भने, ‘तर पश्चाताप कत्ति छैन्, बेलायतले धेरै सिकायो, बस्न खान दिएको छ । अरुलाई धेरथोर दान दिन पुगेको छ ।’

सफल व्यवसायी तथा समाजसेवी पौडेल बेलायतको नेपाली समुदायका लागि अपरिचित नाम होइन । बुबा दिल्लीप्रसाद शर्मा र आमा द्रौपदी शर्माको कोखबाट बाग्लुङ पैयुपाटामा सन् १९७४ मा जन्मिए पौडेल । तीन दाजुभाई र एक बहिनीमध्ये जेठो छोरा थिए उनी ।

पिता इण्डियन आर्मीमा अवकासपछि व्यापारतिर लागेका थिए । पिता आसाम मेघालयमा कोइलाको व्यापार गर्थे, पछि नेपाल फर्केर पनि यसलाई निरन्तरता दिए । चितवनमा धान र तेल मिल खोलेका थिए उनले । दुई भाई र बहिनी अहिले पनि व्यापारमै छन् । पारिवारिक पृष्ठभूमि व्यापार व्यवसाय नै भएकाले पनि कमललाई यसतर्फ लाग्न प्रेरणा भयो ।

कमल गाउंकै स्कुलमा पढे । उनले कक्षा ५ देखि ७ सम्म तीन वर्ष भने सिद्धार्थ बनस्थली, काठमाडौंमा पढे । वि.
सं. २०४१ तिरको कुरा । गाउं बलेवाबाट बोर्डिङ स्कुल पढ्न प्लेन भाडा ६० रुपैयां तिरेर काठमाडौं आएका थिए उनी । त्यतिखेर जहाज चढ्दा अनौठो लागेको उनी सम्झन्छन् ।

आसाम मेघालयमा व्यापार गरिरहेका पितालाई त्यहां बस्न सहज नभएपछि उनी नेपाल फर्किए । पौडेल पनि काठमाडौंबाट फेरि गाउं फर्किए पढ्न । वि.सं. २०४६ सालमा उत्कृष्ट अंक ल्याएर एसएलसी उत्तिर्ण गरे ।

उनले चितवनको सप्तगण्डकी र बालकुमारी कलेज अनि काठमाडौं आएर टियूबाट एमबीए गरे । कलेज पढ्दा पनि बुबालाई व्यापारमा सघाउंथे उनी ।

सन् २००१ जनवरीमा पढ्न बेलायत टेके कमल । शुरुका दिन निकै संघर्ष थियो । बंगाली रेष्टुरेन्टमा वेटरको काम गर्थें । नेपालमा कहिल्यै काम नगरेको हुने खानेको छोरो । शुरुमा खानाको नाम, मरमसला समेत थाहा नहुंदा अलमल पर्थे उनी । बार मेन भएर पनि काम गरे ।

क्यामडेन टाउनतिर गार्मेन्टको व्यापार गर्ने थोरै नेपाली थिए । नत्र अधिकांशले गर्ने काम रेष्टुरेन्टमै हुन्थ्यो । खान, बस्न पाइने भएपछि खर्च जोगिने हुंदा धेरैको काम तल रेष्टुरेन्ट र बसाइ त्यसैको माथि हुन्थ्यो ।

वर्क परमिट पाएपछि पढाइ बीचमै छाडेर सन् २००३ देखि मनी ट्रान्सफर विजनेशमा लागे उनी । पहिला उनको कम्पनी आइएमइ नाममा थियो, अहिले आइएमइ लन्डन छ ।

रेमिटेन्स् सम्बन्धि व्यापार नै किन रोजे उनले ? नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष चन्द्र ढकाल उनका भानिज दाई हुन् । ढकालको ठमेलमा मनी एक्सचेन्ज कम्पनी थियो । ‘चन्द्र दाईले नै प्रेरणा दिएर म यस व्यवसायमा लागें’, उनले सुनाए, ‘यहांबाट व्यवसाय गर्दा मलाई सपोर्ट पनि हुन्थ्यो ।’

थ्री बेड रुमको घरमा माथि सुत्ने, तल सानो अफिसमा एउटा कम्प्युटर र फ्याक्स थियो । त्यतिबेला फलानोलाई यति पैसा दिनु भनेर फ्याक्स गरेर पठाउने चलन रहेको पौडेल सम्झन्छन् । ‘मैले पैसा नेपालमात्र पठाउंथे । तर भोलिपल्ट पुग्थ्यो’, पौडेल सुनाउंछन्, ‘त्यतिबेला नेपाली करिब ४० हजार जति थिए होलान् । ब्रिटिश गोर्खा र अलि अलि विद्यार्थी ।’

त्यो जमाना मनी ट्रान्सफर व्यवसायमा मात्र निर्भर हुन नसकिने भएकाले उनले व्यापार थालेपछि पनि ७ महिना जति रेष्टुरेन्टको काम छोडेनन् । त्यतिबेला पैसा नेपाल पठाउन कष्टमरको फोन आउंदा दौडेर बाहिर आएर फोन रिसिभ गर्थे उनी ।

अहिले त मनी ट्रान्सफर निकै सजिलो, छिटो र विश्वसनीय भयो । एप, सुरक्षित सफटवेयरमार्फत कस्टमरले नै पठाउंछन् । इन्सटेन्ट पेमेन्ट (तत्काल भुक्तानी) हुन्छ ।

विश्वास जितिरहेको आइएमइ लन्डन

बेलायतमा नेपालीले कयौं मनी ट्रान्सफर कम्पनी खोलेका छन्, विदेशीका कम्पनी पनि उल्लेख्य छन् । हुण्डी कारोवार मौलाएको मौलाएै छ । तर, आइएमइ लन्डनको यात्रा निरन्तर जारी छ हजारौं ग्राहकको मन जितेर ।

उक्त कम्पनीमार्फत विश्वका विभिन्न १४ देशमा पैसा पठाउन सकिन्छ । एप्समार्फत छिट्टै २५ देशमा त्यो सुविधा पुरयाउने तयारीमा छन् पौडेल । कम्पनीले अहिले नेपालसहित साउथ एसिया, साउथ अमेरिका, युरोपेली र अफ्रिकी मुलुकमा सेवा प्रदान गरिरहेको छ । अहिले पैसा पठाउन प्रविधिले निकै सजिलो बनाएको छ, पौडेल भन्छन्, प्राविधिक समस्या भएन भने १० मिनेटभित्र पैसा सम्बन्धित ठाउंमा पुग्छ।

आइएमइ लन्डनबाट कुनै संस्थाले १० हजार पाउण्ड च्यारिटीका लागि नेपाल पठायो भने कम्पनीले १० हजार रुपैयां वा एक लाख पाउण्ड पठाए एक लाख रुपैयां नै थपेर दिने पौडेलले बताए । ‘हामीमा पनि सामाजिक दायित्व छ नि’, उनी भन्छन्, ‘कम्पनीले कर्पोरेट रिफरल अन्तर्गत कुनै संघसंस्थाको सिफारिसमा उसका सदस्यले एप डाउनलोड गरेर रजिष्टर्ड गर्दा प्रति व्यक्ति १० पाउण्ड संस्थालाई र १० पाउण्ड कष्टमरलाई पनि दिने गरेको छ । यो स्किमका लागि पैसा पठाउनै पर्ने भन्ने छैन ।’

ग्राहकले पैसामात्र पठाउने नभइ पैसासंगै भावना पनि पठाउने गरेका पौडेल बताउंछन् । ‘पैसा पठाउनु भनेको भावना पनि पठाउनु हो । पैसासंग भावना जोडिएको हुन्छ । परिवारले ‘इमोसनल’ महशुस गर्छन् । यसले खुशी बनाउंछ’- पौडेल आफ्नो व्यवसायप्रति गर्व गर्दै भन्छन् ।

उनको कम्पनीले नेपाल र बेलायतमा ९ जनालाई रोजगारी दिइरहेको छ । मनी ट्रान्सभर व्यवसायमा चुनौति पनि बढिरहेको पौडेलको बुझाइ छ । प्रविधि, प्रतिष्पर्धी र प्रफिट मार्जिनको हिसावले चुनौति रहेको उनले बताए ।

‘व्यवसाय चुनौतिपूर्ण छ, प्रतिष्पर्धा र उतारचढाव बढ्दो छ । नयां नयां प्रविधि भित्रिएका छन् । तर, कष्टमरको मायाले हामीचाहिं विगत दुई दशकदेखि टिकेकै छौं’, उनले भने ।

आइएमइ लन्डन बेलायतको वित्तिय नियामक निकाय द फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए) को अधिनमा रहेकाले ग्राहकले पठाएको पैसा हराउने वा कानूनी झमेला खेप्नु पर्ने हुन्न । तर, बढी रेट पाइने लोभमा गैर कानूनी च्यानलबाट पैसा पठाउंदा पैसा डुब्ने, नेपालमा पैसा सिज गरिदिने र परिआए जेल वा क्षतिपूर्ति समेत हुने पौडेलले सचेत गराए ।

गैर कानूनी हुण्डी निरुत्साहित गरेर जाने रेमिटेन्सबाटमात्र देशको आर्थिक समृद्धि हुने देख्छन् उनी । ‘हुण्डी कारोबार हिजो देखि नै हुन्थ्यो । तर, अहिलेका कम्पनीले निरुत्साहित गरेका छन्’, पौडेल भन्छन्, ‘नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुक हुण्डीले डामाडोल पार्ने जोखिम हुन्छ । ग्राहकहरुले पनि यसतर्फ सचेत हुन जरुरी छ । हुण्डीले केही रकम बढी दिए पनि त्यो पैसा डुब्यो भने कहां जाने माग्न ?।’

विदेशमा बस्ने नेपालीले पनि चाहिंदा कानूनी रुपमा रेमिटेन्स कम्पनीमार्फत पैसा ल्याउन दिनु पर्ने उनको सुझाव छ । राष्ट्र बैंकले सिमित पैसा मात्र ल्याउन दिन्छ । तर, विदेशका नेपालीले घर किन्न वा मर्दा पर्दा पैसा चाहिए ल्याउन सक्दैनन् । ‘त्यसलाई कानूनी रुपमा व्यवस्था गरिदिएको भए नेपाल सरकारलाई राजस्व पनि उठ्थ्यो र नेपालीले सुविधा पनि पाउंथे । तर त्यसो नंहुदा हुण्डीले प्रश्रय पाइरहेको छ’, उनी भन्छन् ।

पौडेलको सामाजिक सक्रियता पनि उस्तै छ। उनको कम्पनीले स्पोन्सर नगरिदिएको कमै इभेन्ट होला । नेपलिज ब्रिटिश कम्युनिटीका संस्थापक अध्यक्ष पौडेल क्याट यूके संस्थापक सदस्य, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका बोर्ड सदस्य हुन् । सामाजिक दायित्व अन्तर्गत आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दा आत्मसन्तुष्टि मिल्ने उनको तर्क छ ।

पौडेल लन्डन आउंदा मुनासंग बिहे भएर साढे २ वर्षको छोरा पनि जन्मिएका थिए । पछि एक छोरा यहीं जन्मिए । अहिले पौडेलको बसाइ सपरिवार लन्डन रेनर्स लेनमा छ ।

हेरौं व्यवसायी कमल पौडेलसंग नेपालीलिंकको भिडियो संवादः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू