मंगलबार, वैशाख १८, २०८१
20:56 | ०१:४१

बेलायती पासपोर्ट आवेदन शुल्क वृद्धि

नेपाली लिङ्क अप्रिल १०, २०२४

लन्डन- बेलायती पासपोर्टका लागि आवेदन गर्दा लाग्ने शुल्क विहीबारदेखि बढ्ने भएको छ।

नयाँ पासपोर्ट लिंदा वा पुरानो नवीकरण गराउंदा तिर्नुपर्ने शुल्क पछिल्लो १४ महिनामा दोस्रोपटक बढ्न लागेको हो।

विहीबारदेखि अनलाइन माध्यमबाट नयाँ पासपोर्ट लिन वा नवीकरणका लागि आवेदन गर्दा ८८ पाउन्ड ५० पेन्स शुल्क लाग्ने भएको छ। 

यसअघि उक्त शुल्क ८२ पाउन्ड ५० पेन्स थियो। यसर्थ पासपोर्ट आवेदन शुल्क ७ प्रतिशत बढ्न लागेको हो। पछिल्लोपटक सन् २०२३ को फेब्रुअरीमा पनि यो शुल्क ९ प्रतिशत बढाइएको थियो।

हुलाकमार्फत् आवेदन गर्दा लाग्ने शुल्क पनि ९३ बाट बढेर १ सय पाउण्ड पुर्‍याइएको छ।

बालबालिकाको पासपोर्ट आवेदनका लागि अनलाइन माध्यममा ५७ पाउण्ड ५० पेन्स र हुलाक माध्यमबाट ६९ पाउण्ड लाग्ने भएको छ। जुन शुल्क यसअघि क्रमश: ५३ पाउण्ड ५० पैसा र ६४ पाउण्ड थियो।

१४ महिनाअघि बढ्नुभन्दा पहिले भने पासपोर्ट आवेदन शुल्क ७५ पाउण्ड ५० पेन्स मात्रै थियो । जुन शुल्क पाँच वर्षसम्म फेरिएको थिएन।  

मुलुक बाहिरबाट आवेदन दिंदा वा तत्काल पासपोर्ट लिनुपर्ने अवस्थामा भने अझ बढी शुल्क लाग्ने गर्छ। सन् १९२९ को सेप्टेम्बर २ वा त्यसभन्दा अगाडि जन्मिएकाहरुलाई भने पासपोर्टको आवेदन शुल्क नलाग्ने विशेष व्यवस्था छ।  

होम अफिसले पासपोर्टका आवेदनहरुबाट आफूलाई कुनै आर्थिक लाभ नहुने बताउंदै शुल्क वृद्धिले सेवाको गुणस्तरमा सुधार गर्न सहयोग पुग्ने जनाएको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू