शनिबार, वैशाख १५, २०८१
07:29 | १२:१४

बुद्धिष्ट गुम्बा रेडिङको च्यारिटी गजल नाइटमा गाउन यूके आइपुगे गायक पेला र सिग्देल

नेपाली लिङ्क मार्च २५, २०२४

लन्डन- बुद्धिष्ट गुम्बा रेडिङको च्यारिटी गजल नाइटका लागि दुई चर्चित गजल गायक बेलायत आइपुगेका छन्।

‘एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ…’ बाट बहुचर्चित गायक तिलकसिंह पेला र ‘उ जितेर गइ वा हारेर गइ….’ फेम्ड् गायक राज सिग्देल आइतबार लन्डन आइपुगेका हुन्।  

गायकद्वयलाई हिथ्रो विमानस्थलमा आयोजक गुम्बाका अध्यक्ष इन्स्पेक्टर रि. खेमबहादुर गुरुङ, महासचिव कमल कोने गुरुङलगायतले स्वागत गरेका थिए।

बुद्धिष्ट गुम्बा रेडिङको आयोजनामा यही मार्च ३१ तारिख आइतबार बेलुका अल्डरसट एम्पायर हलमा तय च्यारिटी गजल नाइटमा गायकद्वयले लाइभ गजलगायन प्रस्तुत गर्नेछन्।  

उक्त अवसरमा दुवै गायकले दर्जनौं चर्चित गजलहरु प्रस्तुत गर्ने र दर्शकले आफूलाई मन पर्ने गजल ‘फर्माइस्’ पनि गर्न सक्ने आयोजक गुम्बाका महासचिव कमल कोने गुरुङले बताए।

कार्यक्रममा सहभागिताका लागि ४० पाउन्डको साधारण टिकटदेखि १०० पाउन्डको भिआइपी टिकटसम्म राखिएको छ।  

गुम्बाले आफ्नो भवन विस्तारका लागि कोष जुटाउन यो च्यारिटी गर्न लागेको हो। कार्यक्रमबाट करिब ३० हजार पाउन्ड संकलन गर्ने लक्ष्य राखिएको छ।  

गुम्बा अध्यक्ष इन्स्पेक्टर रि. खेमबहादुर गुरुङले गुम्बाका तर्फबाट बेलायतवासी सबै नेपाली एवम् संघसंस्थालाई च्यारिटी कार्यक्रममा सहभागी हुन तथा सहयोग गर्न आव्हान गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू