सोमबार, वैशाख १७, २०८१
11:23 | १६:०८

विशेष ‘क्याम्प’ गर्न लन्डन आउंदैछन् आध्यात्मिक गुरु डा. योगी

नेपाली लिङ्क मार्च १९, २०२४

लन्डन । काठमाडौँस्थित शान्ति सेवा आश्रम तथा हिन्दु विद्यापीठ नेपालका संस्थापक प्राचार्य डा. चिन्तामणि नाथ योगी बेलायत आउने भएका छन् ।

झण्डै एक महिना लामो बेलायत बसाइमा योग, ध्यान र बालबालिकाका लागि प्रशिक्षण शिविर संचालन गर्न डा. योगी यही मार्च २१ तारिख लन्डन उत्रन लागेका हुन् ।

पहिलोपटक इंग्ल्याण्डमा एउटा मुख्य कार्यक्रम लञ्च गर्ने योजना रहेको उनले बताए । इंग्ल्याण्डका विभिन्न कलेज, युनिभर्सिटीमा पनि छलफलहरु गरिने र ति आफ्नोमात्र नभई नेपालको यात्राका रुपमा हेरिदिन उनले अनुरोध गरे।

‘अध्यात्म र मानवताको सन्देश लिएर म संसार घुमिरहेको छु । जुनसुकै देशको मूल्य मान्यता होस् हामीले हाम्रो दर्शनलाई विश्वव्यापी स्तरमा कसरी प्रवर्धन गर्न सक्छौं त्यसमा लाग्न जरुरी छ’, उनले भने ।

डा. योगी नेपालका एक सुपरिचित विद्वान हुन् । उनी नाथ योगी, विचारक, आध्यात्मिक गुरु, शिक्षाविद् र शान्तिका लागि खटिने कार्यकर्ता पनि हुन् । अध्यात्मप्रति दत्तचित्त उनले नेपालमा धेरै संस्थाहरूको नेतृत्व गरेका छन् ।

विश्व ॐकार एकता महाभियान, हिन्दू विद्यापीठ नेपाल, शान्ति सेवा आश्रम, नैमिषारन्य गुरुकुल, गोरक्षनाथ सेवा संघ,  बाल शान्ति गृह आदि संस्थाका माध्यमबाट गत ४० वर्षदेखि नेपालमा सेवारत छन् उनी । 

डा. योगीले  दाङ, काठमाडौं, काभ्रे, सप्तरीसहित अनेक ठाउँमा बृद्धाश्रम, बालआश्रम, नारी आश्रम, सेवा केन्द्र, दलित केन्द्र आदिका माध्यमबाट नेपाली धर्म संस्कृति, संस्कृतसहित आफ्नो राष्ट्रिय र मानवीय जीवनका कुरा सम्प्रेषण गर्दै आएका छन् । 

गएको झण्डै ३० वर्षदेखि बेलायत, अमेरिका, अस्ट्रेलिया, म्यानमार, थाइल्याड लगायत मुलुकको यात्रा गरेर संसारभरिका नेपालीलाई सांस्कृतिक एकताको सूत्रमा गाँस्न निरन्तर प्रयत्नरत छन् उनी।  

लन्डन आउनु अघि डा. योगीले दिएको भिडियो सन्देश यस्तो छः

इंग्ल्याण्डमा हाम्रा बच्चा बच्चीहरुलाई सफलका साथसाथै असल कसरी बनाउने ? शिक्षित बनाउनुका साथै सचेत र संस्कारी कसरी बनाउने ? दुनियासँग कनेक्टेड हुने बेलामा आफ्ना बुबा आमासँग, नेपालसँग कसरी कनेक्टेड हुने, स्मार्ट बन्ने बेलामा सिन्सियर कसरी बन्ने, ती बच्चा बच्चीहरुलाई लौ है तिम्रो पनि देश छ, तिम्रो पनि माटो छ, तिम्रापनि पुर्खा छन् भनेर विश्वका लागि एउटा योग्य मानव बनाउनुका साथै नेपालसँग जोड्ने भ्यालुबेस्ड एजुकेशन, कल्चरबेस्ड एजुकेशनको रुपमा ती बच्चाहरुलाई त्यसरुपमा बिल्डअप गर्ने, नेपालीका हिसावले बिल्डअप गर्ने, मान्छेका नाताले बिल्डअप गर्ने, चेतनाका नाताले बिल्डअप गर्ने । बच्चा बच्चा हो, ‘बच्चे मन के सच्चे’ । भनिन्छ  ‘यन्नवे भाजने लग्नः संस्कारो नान्यथा भवेत्’ – जीवनको क्रममा संस्कार छैन, शिक्षा र सीपमात्र छ भने त्यतिबेला शिक्षा र सीप घातक हुन सक्छ ।

एउटा मुख्य कार्यक्रम इंग्ल्याण्डमा पहिलो पटक लञ्च गर्दैछौं । यो कार्यक्रम अमेरिकामा बराबर भएको छ, विभिन्न प्रकारका मन्दिर बनेका छन् । विभिन्न प्रकारका केन्द्रहरु बनेका छन् । ती सबैको जगमा करिब करिब २० वर्षदेखिको अमेरिका भ्रमणमा यस्ता प्रकारका बच्चाहरुका लागि भाषा, साहित्य, संस्कृति संस्कार, सदाचारसहित हामीले क्याम्प लगाएका छौं ।

त्यस्तै क्याम्प यसपटक इंग्ल्याण्डमा पनि लाग्दैछ । साथै नेपाली मित्रहरु जहाँ बसेपनि नेपालीपन, नेपाली मन र नेपाली जीवन होस् । नेपालीको मूल र कुल धर्म, माटो धर्म, मस्टो धर्म, सनातन धर्म, आफ्नो नेपाली पन, आफ्नो पुर्ख्योलीपन, आफ्नो त्यो हिमालीपन, आफ्नो पहाडेपन, नेपाली गोर्खालीपन, वीरता, त्यो सौर्य, पराक्रम र प्रेम सद्भाव र सबैसँग सहकार्य गर्ने नै नेपालीहको चरित्र हो । यसका बारेमा हामीले इंग्ल्याण्डमा सत्संग र छलफल गर्ने छौं । त्यहाँ कतै योग, ध्यान र भजनकीर्तन पनि हुनेछ ।

भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू