शनिबार, वैशाख १५, २०८१
12:06 | १६:५१

लन्डनमा सामुदायिक भवनका लागि च्यारिटी डिनर तयारीमा तमु समाज यूके

नेपाली लिङ्क मार्च १४, २०२४

लन्डन । बेलायतको एउटा सशक्त च्यारिटी संस्था तमु समाज यूके यतिखेर सामुदायिक भवन स्तरोन्नतिका लागि सहयोग जुटाउन तेश्रो ग्रयाण्ड च्यारिटी डिनर गर्ने तयारीमा जुटेको छ ।

आउंदो २३ मार्च सांझ वेम्लीमा हुन लागेको च्यारिटी डिनर सफल बनाउन कार्यसमितिका पदाधिकारीहरु दिनंहुजसो तयारी बैठकमा व्यस्त छन् भने समाजकै कलाकारहरु विगत दुई महिनादेखि नृत्य रिहर्सल गर्दैछन् ।

सप्ताहन्त बरहामपार्कस्थित समाजको सामुदायिक भवन पुग्दा पदाधिकारीले कार्यक्रमको खाका कोरिरहेको देखिन्थ्यो ।

नाम सुन्दा जातीय संस्था जस्तो भान परेपनि तमु समाज यूकेले गैर तमुहरुको पनि हक हित र भलाइका लागि काम गरिरहेको छ । बेलायतमा तमु कला संस्कृति, भेषभूषा, भाषा, परम्पराको जगेर्ना, प्रवर्धन एवं नयां पुस्तामा आफ्नो मौलिक परम्परा कायम गराउन साथै च्यारिटी कर्ममा क्रियाशील यस च्यारिटीमूलक संस्थाले स्थापना भएयता नेपालमा झण्डै दुई करोड रुपैयां पठाइसकेको छ । महाभूकम्पका बेलामात्र संस्थाले झण्डै ६३ लाख रुपैयां पठाएको थियो ।

तमु समाज बेलायत मात्र यस्तो संस्था हो जसले महाभूकम्पका बेला सेन्ट्रल लन्डनको अक्सफोर्ड स्ट्रिटमा बकेट थापेर चन्दा अपिल गरेको थियो ।

संस्थाले बेलायतमा पनि थुप्रै सहयोग गरिसकेको छ । आफ्ना सदस्यहरुका कसैको देहान्त भए अन्त्येष्टिका लागि जनही ३ हजार पाउण्ड प्रदान गर्ने गर्छ समाज ।

सन् २००७ सालमा स्थापित यस संस्थाले ७ अक्टोबर २०१२ मा सम्पन्न पाँचौं बार्षिक साधारणसभामा संस्थालाई च्यारिटी कमिसनमा दर्ता गर्ने सर्वसम्मत निर्णय गरि विधिवतरुपमा दर्ता प्रकृया अगाडि बढाएको थियो । त्यसपछि तमुधिं यूके लण्डन इकाईलाई पूर्ण रुपमा तमु समाज यूकेमा रुपान्तरण गरिएको हो। च्यारिटी कमिसनमा दर्ता भएपछि १० डिसेम्बर २०१२ मा समाजले च्यारिटी दर्ता नम्बर: ११५००९७ प्राप्त गर्‍यो ।

समय सापेक्षित वैधानिक एबं पारदर्शी रुपमा संस्था संचालन र विकास गर्दै तमु समाज यूके तमुहरुको बृहत्तर हित, उन्नति र सेवामा समर्पित भई तमु एकताको निम्ति निरन्तर सक्रिय छ।

यस संस्थाका संस्थापक अध्यक्ष हुन् चित्रबहादुर गुरुङ र वर्तमान अध्यक्ष छन् शिवकुमार गुरुङ । आसन्न च्यारिटी कार्यक्रमबाट आर्थिक संकलन गरि समाज घर स्तरोन्नति गर्ने समाजको प्रमुख लक्ष्य छ ।

सन् २०२१ जुनदेखि कार्यभार सम्हालेका शिवकुमार गुरुङको कार्यकाल यही जुनसम्म छ । समाजमा कोषाध्यक्ष, संयोजक, उपाध्यक्ष हुंदै अध्यक्ष बनेका गुरुङ आफ्नै कार्यकालमा सामुदायिक भवन स्तरोन्नति प्रोजेक्ट सम्पन्न गर्ने विश्वासमा छन् ।

समाजले अहिले वेम्ली बरहाम पार्कमा अवस्थित ब्रेन्ट काउन्सिलको भवन लिजमा लिएर काम गरिरहेको छ भने ग्रीनफोर्डमा उसको आफ्नै घर छ । समाजको आफ्नै स्वामित्व र नाममा घर भएको सम्भवतः पहिलो संस्था यही हो ।

सन् २०२० मा करिब ४ लाख ४० हजार पाउण्डमा किनेको उक्त घरको लगभग दुई लाख पाउण्ड मोर्गेज बांकी छ । ‘मोर्गेज फ्रि’ बनाउने लक्ष्य पनि हो यस च्यारिटीको ।

समाजको घर किन्दा हालका अध्यक्ष गुरुङ हाउजिङ कमिटीको संयोजक थिए ।

पर्वत कुष्मा नगरपालिका वडा नं. १४ (साविक आर्थर डांडाखर्क गाविस) का स्थायी बासिन्दा उनी सन् २००२ मा बेलायतमा आए । ब्रिटिश आर्मीमा सन् २००२ मा रिटायर्ड भएपछि गुरुङ समाजसेवामा पूर्ण रुपमा लागेका हुन् ।

संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ नेपाल स्याङ्जा आंधिखोला गाउंपालिका सिरुबारुका वासिन्दा हुन् । ब्रिटिश आर्मीमा २० वर्षमा सेवा गरि सन् १९९४ मा वारेन्ट अफिसरबाट रिटायर्ड भए उनी । सन् २००४ मा बेलायत आएका चित्रबहादुर शुरुमा भूतपूर्व गोर्खाहरुले बेलायतको आवासीय अधिकार पाउनु पर्छ भनेर बिजिडब्लुएस् संस्थामार्फत अभियानमा लागेका थिए । शिवकुमार गुरुङ पनि एकसाथ थिए गोर्खा अधिकार अभियानमा ।

तमु समाज बेलायतको पहिलो अध्यक्ष भएपछि चित्रबहादुरले संस्थालाई झन् क्रियाशील बनाए । उनकै कार्यकालमा तमु समाजले सरकारी कोषबाट झण्डै ४ सय युवालाई फष्ट एड, एसआइए कोर्स र कम्प्युटर तालिम दिएको थियो । नेपाली भाषा कक्षा, नेपाली कल्चरल डान्स कम्पिटिसन शुरु देखि नेपाली मेलाको कन्सेप्ट उनैको हो ।

समाजले अहिले पनि बालबालिकाका लागि नेपाली भाषा र वृद्धवृद्धाका लागि अंग्रेजी भाषा कक्षा एवं स्वास्थ्य सचेतना कार्यक्रम नियमित गरिरहेको छ ।

‘शुरुमा हामीले निकै दुःख पायौं । हाम्रो जस्तो अरु नेपालीले दुःख नपाउन् भनेर समाज खोलेका हौं’, संस्थापक अध्यक्ष चित्रबहादुर भन्छन्, ‘हामी तमुहरुको समाज जस्तो देखिएपनि गैर तमुहरुको हकहितका लागि पनि काम गरिरहेका छौं । कोही नेपाली आपतविपत परयो भने सहयोग गर्छौं हामी । त्यसैले आउंदो च्यारिटीमा सहभागी भएर वा चन्दा दिएर सहयोग गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु ।’

तमु समाज यूकेका अनुसार सामाजिक भवनबाट समुदाय यसरी लाभान्वित हुनेछ-

१. बेलायत सरकारले आवासीय अधिकार प्रदान गरेसंगै धेरै भूपू गोर्खा र वृद्धवृद्धाहरुको आगमन बढिरहंदा उनीहरुलाई आफ्नो उमेर मिल्नेहरुसंग फुर्सदिलो समय बिताउने एउटा राम्रो थलो बन्ने

२. सम्पूर्ण नेपाली तथा तमुहरुलाई धार्मिक कार्य गर्न सहज रुपमा गर्न स्थान पाइने

३. मृत्युपछि गरिने कर्मकाण्ड वा अर्घौं गर्न पर्याप्त ठाउँ उपलव्ध हुने

४. हामी नेपाली र गुरुङ भएको हुँदा भावी सन्ततिलाई नेपाली भाषा र गुरुङ भाषाको ज्ञान दिने एउटा भरपर्दो केन्द्र बन्ने

५. समाज वा अन्य विभिन्न संघसंस्थाको आफ्नो बैठक सम्पन्न गर्न अन्यत्र भौंतारिरहन नपर्ने

६. युवा पुस्तालाई आफ्नो लोकसंस्कृति, ज्ञानगुनबारे जानकारी र कुलतमा नलाग्न प्रेरित गर्ने खालका विभिन्न कक्षा सञ्चालन गर्न सकिने

७. सुस्वास्थ र दीर्घजीवनका लागि आवश्यक योगा वा फिटनेश कार्यक्रम संचालन गर्न सुविधा प्राप्त हुने

८. अंग्रेजी बोल्न नजान्ने वृद्धवृद्धाहरुका लागि अंग्रेजी कक्षा सञ्चालन गर्न सकिने

९. बेलायतमा नेपालीको बेग्लै पहिचान स्थापित हुन सघाउने

तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र वर्तमान अध्यक्ष शिवकुमार गुरुङसंग नेपाली लिंकको संवाद:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू