शनिबार, वैशाख १५, २०८१
11:02 | १५:४७

‘महाजात्रा’ को प्रचारमा हरिवंश, आफू एकै किसिमको भूमिकामा नसमेटिने  

रासस मार्च ११, २०२४


काठमाडौँ । गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारको तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बने । आदर्श पुरुष र सरल छवि निर्माण गरेका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गर्छन् ।

तर, यसपटक उनले आगामी चलचित्र ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गरेका छन् । सेवा भावभन्दा अनैतिक कार्यलाई प्रश्रय दिने नेताको भूमिका निर्वाह गरेका अभिनेता आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताए ।

चलचित्र ‘महाजात्रा’ को प्रचारप्रसारमा सहभागी भएका आचार्यले षट्कोण आर्ट्समा सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेताका रुपमा आफू एकै किसिमको भूमिकामा समेटिन नचाहेको जानकारी दिए ।

‘म र मैले अभिनय गर्ने पात्र फरक हुन् । सोही कारण मेरो निजी जीवन पात्रमा नआओस् भन्ने चाहन्छु । त्यहीअनुरूप मैले अभिनय गर्ने गरेको छु । यसपटक मैले नेताको भूमिकामार्फत् भइरहेको विकृति र त्यसले पारिरहेको असरलाई प्रस्तुत गरेको छु । यसले नकारात्मक पक्षबारे आम दर्शकलाई प्रष्ट्याउँछ’, अभिनेता आचार्यले भने ।

उनले आफूसँग मह सञ्चारमा डेढ दशक अगाडि काम गरेका कारण पनि निर्देशक प्रदीप भट्टराईको कामप्रति विश्वास रहेको बताए । उनले भने, ‘निर्देशक भट्टराईले समाजलाई सन्देश र दर्शकलाई मनोरञ्जन दिने कथा तयार गर्छन् । सोही कारण पनि म उहाँप्रति विश्वस्त भएर कथा नहुँदा पनि अभिनय गर्न सक्छु । यसपटक पनि मलाई पूर्ण कथाभन्दा पनि चरित्रको बारेमा थाहा थियो । तर, चलचित्र उनले लेखिएको भन्दा राम्रो बनाएका छन् ।’

अभिनेता आचार्यले ‘महाजात्रा’ कलात्मक र व्यावसायिक दुवै पक्षलाई ध्यान दिएर तयार गरिएको बताए । किनकि उनी सफल हुन कलाको प्रशंसासँगै व्यावसायिक सफलता पनि अनिवार्य हुने विचार राख्छन् । निर्देशक भट्टराईले अभिनेता आचार्यमा रहेका सम्भावना व्यक्तिगत जीवनका कारण समेटिनु हुँदैन भन्नेमा जोड दिए ।

‘अभिनेता आचार्य मेरो गुरू हुनुहुन्छ । उहाँले गर्ने अभिनय र त्यसको क्षमतालाई मैले विगत दुई दशकदेखि देखेको छु । तर, उहाँको छविका कारण उहाँलाई एकै किसिमको भूमिका प्रस्ताव हुने गरेका छन् । त्यो नहोस् भन्ने मेरो चाहना हो’, निर्देशक भट्टराईले भने ।

चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, राजाराम पौडेल, प्रकाश घिमिरे, गौमाया गुरुङ, अरविन खड्कालगायतका कलाकारले अभिनय गरेका छन् ।

दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेको चलचित्र आउँदो चैत ९ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू