सोमबार, वैशाख १७, २०८१
16:11 | २०:५६

शालिनको पोस्टमार्टममा देखिएन बलात्कार, झुण्डिएर मृत्‍यु भएको रिपोर्ट

नेपाली लिङ्क मार्च ३, २०२४

काठमाडौँ- चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी बालिका शालिन पोखरेलको पोस्टमार्टममा बलात्कार नदेखिएको रिपोर्ट आएको छ । 

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई पठाएको रिपोर्टमा शालिनलाई बलात्कार गरेको परीक्षणबाट नदेखिएको उल्लेख छ। 

उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा ‘ह्याङ्गिङ’ (झुण्डिएको) लेखिएको छ।  

पोस्टमार्टममा संलग्न चिकित्सकका अनुसार बलात्कार पुष्टि नभएको तथा कन्याजाली नच्यातिएको पाइएको छ। 

कक्षा ८ मा अध्ययनरत शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

तर, शालिनको परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएको छ। पोस्टमार्टम रिपोर्टले भने शरीरमा ठूलो चोटपटक देखिएको छैन ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय चितवनका एक जना अधिकृतले भने, ‘खुट्टामा कोरिएको चोटपटक देखिएको थियो, सहपाठीहरूले सो चोटपटक केही दिनअघि मेलामा जाँदा कोरिएको बताएका छन् ।’

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टल वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरूविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

यसअघि, घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको थियो। जसमा उनले ‘मलाई सबैले माया गर्नु है। सरी एभ्रिबडी, सरी ममी ड्याड’ लेखेकी छन्।

गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवन रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन्। उनी दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्दै आएकी थिइन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू