सोमबार, वैशाख १७, २०८१
12:33 | १७:१८

भूपू गोर्खालाई समान पेन्सन दिन बेलायतसँग नेपालको चट्टानी अडान

बेलायतले आलटाल गरे गोर्खा भर्ती नै बन्द गर्नुपर्ने सांसदहरूको भनाइ

नेपाली लिङ्क मार्च ३, २०२४

काठमाडौँ — भूपू गोर्खा सैनिकलाई समान पेन्सन लगायत सेवा सुविधा दिन नेपालले बेलायतसँग फेरि माग गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदले बेलायतको परराष्ट्रमन्त्रीलाई पत्र पठाइएको र त्यहाँबाट जवाफ प्राप्त भएको भन्दै प्रधानमन्त्रीको तहमा छलफलका लागि वातावरण बनाइरहेको जानकारी दिएका छन् ।

बेलायती विदेशराज्यमन्त्री र त्यहाँका सेनापतिसँग पनि भूपू गोर्खाहरूको विषयमा समाधान गर्ने गरी वार्ता भइरहेको उनले जानकारी दिए ।

यही मार्च २७ मा बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिबीच लन्डनमा मन्त्रिस्तरिय वार्ताको तयारी भइरहंदा नेपालले अडान दोहोरयाएको हो ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा परराष्ट्रमन्त्री साउदले भूपू गोर्खा सैनिकको न्याय र समानताका लागि बेलायत सरकारलाई दबाब दिइरहेको र वार्ता भइरहेको जानकारी दिएका छन् ।

नेपाल सरकारले पूर्व गोर्खाहरूको न्यायोचित माग पूरा होस् भनेर लगातार मुद्दा उठाइरहेको पनि मन्त्रीले अवगत गराए ।

परराष्ट्रमन्त्री साउदले केही दिन पहिले बेलायतका विदेश राज्यमन्त्री नेपाल आउँदा पनि भूपू गोर्खाका विषयमा नेपालले आफ्नो पक्ष स्पष्ट राखेको बताए ।

उता, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले भूपू गोर्खाहरूको विषयमा नेपाल र बेलायत सरकारबीच हुने आगामी मार्च २७ को वार्ता प्रभावकारी बनाउन निर्देशन दिएको छ । समितिले परराष्ट्र मन्त्रालयलाई यसअघि दिएका निर्देशन कार्यान्वयन गरी त्यसको जानकारी दिन पनि भनेको छ ।

समिति सभापति राजकिशोर यादवले नेपाल सरकारले भूपू गोर्खा सैनिकका मागबारे हुने बेलायतसँगको वार्तालाई निर्णायक बनाउनुपर्ने बताए । सांसद रामहरि खतिवडाले बेलायतले असमान रूपमा व्यवहार गरिरहे गोर्खा भर्ती नै बन्द गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा सांसदहरु नारायण खड्का, सुनिता बराल, एकनाथ ढकाल, विमलेन्द्र निधि र शिशिर खनालले पनि गोर्खा मागका सम्बन्धमा नेपाल सरकार कडा रुपमा प्रस्तुत हुनु पर्ने धारणा राखेका थिए । बेलायतले आलटाल गरे गोर्खा भर्ती नै बन्द गर्नुपर्ने भनाइ उनीहरुको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू