बिहीबार, वैशाख २०, २०८१
09:10 | १३:५५

नेदरल्यान्ड्सविरुद्ध शानदार जीतसँगै नेपालको फाइनल यात्रा पक्का

नेपाली लिङ्क मार्च २, २०२४


काठमाडौं- नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको शान्दार जीतसंगै नेपाल घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलनजिक पुगेको छ। 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको लक्ष्य नेपालले १५ दशमलव २ ओभरमा चार विकेटको क्षतिमा हासिल गर्‍यो। 

नेपालको लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। गुल्सन झाले ३८ रन योगदान गरे। नेदरल्यान्ड्सका भिभियन किंग्माले तीन विकेट लिए।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा १ सय २० रन बनाउंदा सबै विकेट गुमायो।

नेदरल्यान्ड्सका म्याक्स ओडाडले ३१ रन बनाए । टिम भान डेर गुग्टेने २४, रोइलोफ भान डेर मेर्वेले २३ र कप्तान स्कट एड्वार्ड्सले १८ रन जोडेर आउट भए।

नेपालका लागि  प्रतिश जिसीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका प्रतिशले एक मेडन फ्याँक्दै १३ रन खर्चिए । करण केसी र कुशल मल्ले दुई-दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

शृंखलामा शुरुका दुवै खेल गुमाएको नेपाल पछिल्लो दुई  खेलमा लगातार जीत निकाल्न सफल भएको छ। यो जीतसँगै नेपालले फाइनल पुग्ने पक्काजस्तै  बनेको छ। नेपालल ४ खेलबाट दुई खेलमा जित र दुई खेलमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छन्। नेदरल्यान्ड्स समान ४ अंकसहित पहिलो र नामिबिया २ अंकसहित तेस्रो स्थानमा छन् ।

नेपालको रनरेट ०.२९३, नेदरल्यान्डले ०.३१० र नामिबियाको माइनस ०.७०० छ । अरु दुईबीच आइतबार हुने खेलमा नतिजा जुनसुकै आए पनि नेपाल फाइनल पुग्नेछ।

२ अंक रहेको नामिबियालाई फाइनल पुग्न अन्तिम खेलमा जितले मात्र पुग्ने छैन । नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ। यदि नामिबियासँग फराकिलो अन्तरले पराजित भएको खण्डमा नेदरल्यान्ड्सको रन रेट घट्नेछ। र रनरेटका आधारमा नेदरल्यान्ड्स बाहिरिनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू