शुक्रबार, जेठ ४, २०८१
04:07 | ०८:५२

गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बेलायतले भन्यो- गोर्खा विश्वमै सम्मानित

नेपाली लिङ्क जनवरी २६, २०२४

काठमाडौं—बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ‘ओबीइ’ सहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । 

वार्डलोले प्रतिवेदन पेश गर्दै गोर्खाली सेनाको व्यवसायिकता, समर्पण र क्षमतालाई बेलायतले मात्र होइन, संसारले सम्मान र प्रशंसा गरेको उल्लेख गर्दै बेलायती गोर्खाहरू यो संसारमा जबसम्म रहनेछन् तबसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको एउटा उत्कृष्ट राजदूतका रूपमा काम गरिरहने विश्वास व्यक्त गरे । 

प्रतिवेदनमा सन् २०२३ लाई फर्केर हेर्दा ‘ब्रिगेड अफ गोर्खाज’ ले विश्वलाई सुरक्षित स्थान बनाउन आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा अन्तर्राष्ट्रिय अनिश्चितताका बाबजुद पनि गोर्खाहरूको प्रतिष्ठा र प्रभावकारिता कायम रहेको उल्लेख छ । 

सो अवसरमा राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएको बताउँदै यसमा एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने बताएको सचिवालयले जनाएको छ । 

उनले गोर्खा रेजिमेन्ट नेपाल र बेलायत सम्बन्धको सेतु भएको बताउँदै पूर्व ब्रिटिस गोर्खाका गुनासाहरू सम्बोधनका लागि कूटनीतिक तहमा भइरहेको छलफलमा संयुक्त अधिराज्य बेलायतले उदारता र सद्भावबाट चाँडे टुङ्गोमा पुर्‍याउने विश्वास व्यक्त गरे । 

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मुद्दा विश्वको प्रमुख चिन्ताको विषय बनेकाले यसमा मिलेर काम गर्नुपर्ने पनि बताए । 

सो अवसरमा बेलायती राजदूत रोब फेनको पनि उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू