शनिबार, कार्तिक १०, २०८१
15:52 | २०:३७

गोर्खा मुद्धामा प्रमुख दलका नेताले जनाए ऐक्यवद्धता

नेपाली लिङ्क जनवरी २३, २०२४

लन्डन- भूतपूर्व गोर्खाहरुको मुद्धामा नेपालका प्रमुख राजनीतिक दलले ऐक्यवद्धता जनाएका छन्।

काठमाडौं चन्द्रागिरिस्थित होटेल चन्द्रगिरीमा सम्पन्न एनआरएनए आइसीसीसंगको छलफलमा उनीहरुले गोर्खाहरुको मुद्धामा ऐक्यवद्धता जनाएका हुन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, रास्वपा, नेकपा एकिकृत समाजवादीसहित सबै प्रमुख दलका केन्द्रीय नेताले नेपाली नागरिकता, समान पेन्सनलगायत गोर्खाका मुख्य मागमा ऐक्यवद्धता जनाएको एनआरएनए आइसीसी गोर्खा टास्कफोर्स संयोजक ले. रिटायर्ड चन्द्रबहादुर गुरुङले जानकारी दिए।

नेताहरुले गोर्खाका मागहरु जायज रहेको तथा उनीहरुको नेपाली नागरिकता आम गैरआवासीय नेपालीहरुको भन्दा फरक ढंगले समाधान गर्नुपर्ने आवश्यकता पनि स्वीकार गरेको गुरुङले उल्लेख गरे।

त्यस अवसरमा नेताहरुले गोर्खा समस्या समाधानको लागि राजनीतिक तहबाट आवश्यक पहल र सहकार्यको आश्वासन पनि दिएका थिए।

त्यसअघि एनआरएनए आइसीसी गोर्खा टास्कफोर्सका तर्फबाट सल्लाहकार क्याप्टेन रिटायर्ड हितमान गुरुङले एक प्रिजेन्टेसन गर्दै गोर्खा मुद्धा र पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए। गोर्खाहरुको नेपाली नागरिकता निरन्तरता, समान पेन्सनसहितका मुद्धाहरु सफल पार्न राजनीतिक तहबाट सार्थक पहलकदमीको आवश्यकता उनले औंल्याएका थिए।

एनआरएनए आइसीसी गोर्खा टास्कफोर्सले गोर्खा मुद्धाको पक्षमा ‘लबिङ’ गर्न सबै गोर्खा प्रतिनिधि समेटेर निकट भविष्यमा कार्यक्रमहरु गर्ने योजना बनाएको संयोजक गुरुङले बताएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू