शनिबार, जेठ ५, २०८१
15:45 | २०:३०

युगान्डा भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

नेपाली लिङ्क जनवरी २१, २०२४

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् । युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका छन् । प्रधानमन्त्री माघ ४ गते राति युगान्डा प्रस्थान गरेका थिए ।

प्रधानमन्त्रीबाट जारी १८ बुँदे प्रेस नोट
:

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ’प्रचण्ड’ युगाण्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग हुने संवादका लागि तयार गरिएको प्रेस नोट-

सञ्चारकर्मी मित्रहरू,

१. असंलग्न आन्दोलनको उन्नाइसौं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी म आज स्वदेश फर्किएको छु। मेरो नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री माननीय श्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव श्री सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि श्री लोकबहादुर थापालगायत परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरू समावेश हुनुहुन्थ्यो। म यही २०८० माघ ४ गते काठमाडौंबाट युगाण्डाको राजधानी कम्पालातर्फ प्रस्थान गरेको कुरा यहाँहरुलाई विदितै छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति प्राप्त गर्नुभएकै छ।

२. म युगाण्डाको कम्पाला पुग्दा त्यहाँको विमानस्थलमा युगाण्डाका Hon. Esther D. Anyakun, Minister of State for Relief, Disaster Preparedness and Refugees of Uganda, नेपालका परराष्ट्रसचिव श्री सेवा लम्साल र अन्य उच्च पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो।विमानस्थलमा सांस्कृतिक झाँकीसहितको स्वागत पाउँदा युगाण्डामा नेपाल र नेपाली सम्मानित भएको महसुस गरेँ।

३. कम्पालामा रहँदा म मिति २०८० माघ ०५ गते असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलनको उद्‍घाटन समारोहमा सहभागी भएँ। उद्‍घाटन समारोहमा आन्दोलनका निवर्तमान अध्यक्ष अजरबैजान, आयोजक राष्ट्रका राष्ट्रपति एवं नवनिर्वाचित अध्यक्ष साथै संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्षले सम्बोधन गर्नुभएको थियो। शिखर सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको नेता तथा नेपालका प्रधानमन्त्रीको हैसियतमा मैले सम्बोधन गरेँ। मेरो सम्बोधनको पूर्णपाठ यहाँहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट र इमेलमार्फत समेत तत्कालै पाइसक्नुभएको छ।

४.यस शिखर सम्मेलनको उच्चस्तरीय संवादको विषय “Deepening Cooperation for Shared Global Affluence” राखिएको थियो। यहाँहरूलाई थाहा नै छ, सन् १९५५ मा इण्डोनेसियाको बाङडुङमा सम्पन्न एसिया(अफ्रिका सम्मेलनबाट पारित १० सिद्धान्तहरू नै असंलग्न आन्दोलनको सैद्धान्तिक र दार्शनिक आधारशिला हुन्।नेपाल असंलग्न आन्दोलनको संस्थापक राष्ट्रमध्ये एक हो। हामी सन् १९५५ मा बाङडुङ सम्मेलनमा सहभागी राष्ट्रमध्ये एक हौं। स्थापनाकालदेखि नै असंलग्न आन्दोलनका सबै शिखर सम्मेलनमा नेपालले उच्चतम तहमा प्रतिनिधित्व गरी आफ्नो स्वतन्त्र दृष्टिकोण प्रस्तुत गरीआएको छ। असंलग्नता र यसका सिद्धान्तहरू नेपालको परराष्ट्र नीतिको आधारभूत मान्यताका रूपमा रहिआएका छन्। यसैका आधारमा अन्तर्राष्ट्रिय रूपमा जटिल परिस्थितिहरूका बाबजुद हामीले सबै अवस्थामा मौलिक दृष्टिकोणका साथ स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरी आएका छौं।

५. मेरो सम्बोधनमा, करिब सात दशक अगाडि दुई महाशक्तिबीचको असहज शीतयुद्धको माहोलमा एसिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरू बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै यो असंलग्न आन्दोलनले कैयौ मुलुकहरूको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, ‍औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई जोड दिएँ। त्यसैगरी, असंलग्न आन्दोलन आपसी सहयोगलाई प्रगाढ बनाउने थलो हो। यसबाट आपसी सहयोग तथा समझदारी अभिवृद्धि गरी विश्वव्यापी समृद्धि हासिल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएँ।

६. नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दछ। असंलग्न आन्दोलनका सिद्धान्तहरु र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्वान्त रहेको उल्लेख गर्दै यसको परिपालनाले शान्ति, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारें। यस आन्दोलनले हामीहरूबीच आपसी सद्भाव, सहयोग तथा सहकार्य अभिवृद्धि गर्नुका लागि अन्तर्राष्ट्रियस्तरमा मान तथा प्रतिष्ठा बढाउन योगदान गरिरहेको जनाएँ।

७. कोभिड महामारीपश्चात् आर्थिक पुनरोत्थानले यथोचित गति लिन सकेको छैन। सन् २०१९ मा बाकुमा भएको १८औं सम्मेलनयता कोभिड-१९ को कारण विश्वले मृत्यु, अभाव तथा वञ्चितीकरण, विस्थाप लगायतका चुनौतीको सामना गर्नुपरेको तथा हाल बढिरहेको भू-राजनीतिक ध्रुवीकरण तथा लडाइँ र जलवायु परिवर्तनको कारण साना तथा विकासशील राष्ट्रहरू थप मारमा परिरहेको विषयमा चिन्ता व्यक्त गरें।

८. हाम्रो सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यहरुको प्राप्ति असम्भवप्रायः देखिएको छ।नेपाल आफैँ अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीहरुको भुमरीमा परेको छ। अतिकम विकसित मुलुकहरुलाई विकास साझेदारहरुको बलियो साथ र सहयोगको आवश्यकता रहेको परिप्रेक्ष्यमा असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमति भएका विकासका लक्ष्यहरू समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकहरूको आर्थिक विकास र समृद्धि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदार रूपमा उठाएको छु।

९. त्यसैगरी विश्व आर्थिक तथा वित्तीय संरचनालाई विकासोन्मुख मुलुकहरूको आर्थिक उन्नतिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चितता हुने गरी सुधार गरिनुपर्ने तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशहरूको हित अनुकूल हुने गरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएँ।

१०. विकसित मुलुकहरुले विकासोन्मुख राष्ट्रहरूलाई प्रदान गर्ने वित्तीय प्रतिबद्धता पूरा गर्नैपर्दछ। अन्तर्राष्ट्रिय व्यापारमा सबैको पहुँच र सहभागिता सुनिश्चित गरी यसको फाइदा कम विकसित मुलुकहरूले समेत महसुस गर्न पाउनुपर्दछ। यसर्थ संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्थाका रूपमा असंलग्न आन्दोलनले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाहका लागि अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छु ।

११. यस आन्दोलनको सफलताका लागि आपसी सहकार्य र सहयोगको विकल्प छैन। समृद्धि केही मुलुक तथा वर्गको मात्रै विशेष अधिकार तथा सुविधाको विषय हुन सक्दैन। प्रत्येक व्यक्ति तथा मुलुकले समानरूपमा समृद्धि हासिल गर्नका लागि हामी अग्रसर हुनैपर्दछ भन्ने कुरालाई पनि मेरो सम्बोधनमा उल्लेख गरेको छु।

१२. शान्तिका दूत गौतम बुद्वले मार्गदर्शन गर्नुभएझैं नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्वान्तमा अटल विश्वास गर्दछ। त्यसैगरी विविधतामा एकता, वसुधैव कुटुम्बकम् (The world is one Family) हाम्रा दैनिक जीवन पद्वतिका रूपमा रहिआएका छन्। यी मान्यताहरू हाम्रो सामाजिक -सांस्कृतिक मूल्य मान्यताका रूपमा परापूर्वकालदेखि रहिआएका छन्।

१३. हिमालयहरू विश्व जनंसख्याको १५ प्रतिशत तथा पृथ्वीको ५० प्रतिशत जैविक विविधताको घर हो। विश्वका जीवित प्राणीहरूका लागि हिमाल अति महत्वपूर्ण छ। पर्वतीय देश नेपाल जलवायु परिवर्तनको चपेटामा छ। त्यसैले हिमाल तथा पर्वतीय पारिस्थितिक प्रणाली र त्यहाँ बसोवास गर्ने मानव समुदायको संरक्षणका लागि नेपालले पैरवी गर्दै आएको विषयलाई यस अवसरमा दोहोर्‍याउँदै हिमालको आवाजलाई समर्थन गर्न समेत आव्हान गरेँ।

१४. असंलग्न राष्ट्रहरूको १९ औं शिखर सम्मेलनले अन्तिम दस्तावेज (Final Document), कम्पाला घोषणापत्र र प्यालेस्टाइन सम्बन्धी घोषणापत्र पारित गरेको छ। कम्पाला घोषणापत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसङ्घको सुदृढीकरण, बहुपक्षीयताको प्रवर्द्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्वव्यवस्था, दक्षिण-दक्षिण सहयोग, आन्दोलनका सदस्यहरूबीच आन्तरिक एकता र सद्‌भाव, ऐक्यबद्धता, दिगो विकासका लक्ष्य हासिल गर्ने जस्ता विषयहरूमा जोड दिएको छ।

द्वितीय विश्वयुद्धको समाप्तिपछि विश्व व्यवस्था दुई ध्रुवमा विभाजित रहेको परिस्थितिमा स्वतन्त्रता, स्वाधीनता र आर्थिक विकासको पक्षमा तेस्रो धारका रूपमा विकास भएको असंलग्न आन्दोलनको सान्दर्भिकताबारे केही आशंका उत्पन्न भएता पनि असमानता, नवउपनिवेशवाद, भूराजनीतिक द्वन्द, गरिबी जस्ता समस्यायुक्त वर्तमान विश्वमा असंलग्न आन्दोलनको ठूलो भूमिका रहेको कुरामा विमति हुन सक्तैन।

विश्व व्यवस्थालाई न्यायपूर्ण, समतामूलक बनाउँदै सबै देशलाई स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डताको प्रत्याभूति गर्दै विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरीमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्व हिजो जति थियो आज पनि त्यत्तिकै छ।

१५. शिखर सम्मेलनको समापन समारोहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गरी विश्व व्यवस्थालाई न्यायोचित, समावेशी र समतामूलक बनाउन असंलग्न राष्ट्रहरुको ठूलो योगदान रहेको उल्लेख गर्दै यसको सान्दर्भिकता अहिलेको विश्व परिवेशमा झनै बढेको बताउनुभयो। सो अवसरमा, युगाण्डाको राष्ट्रपतिले हाम्रा साझा समस्या समाधानमा एकजुट भएर काम गर्न आह्वान गर्नुभयो।

१६. आयोजक मुलुकका राष्ट्रपतिले १९ जनवरीका दिन सहभागी राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुको सम्मानमा आयोजना गर्नुभएको State Banquet मा सहभागी भएँ।उक्त अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुसँग संक्षिप्त कुराकानी गर्ने अवसर प्राप्त भयो।

यसै भ्रमणको अवसरमा कम्पाला पुग्दाकै दिनमा नेपाली अवैतनिक वाणिज्यदूतको आयोजनामा त्यहाँ रहेका गैरआवासीय नेपालीहरूसँग छोटो भेटघाट तथा अन्तरक्रियाको मौका मिल्यो। नेपालीहरूका लागि युगाण्डा तथा अफ्रिका महादेशमा विद्यमान अवसरहरू तथा चुनौतीका बारेमा छलफल भयो।सम्बोधनको क्रममा अवसरहरुको सदुपयोग र समस्याहरूको समाधानका लागि पहल गर्ने बताएँ।

१७. शिखर सम्मेलनको अवसरमा मित्रराष्ट्र श्रीलङ्काका राष्ट्रपति महामहिम रणिल विक्रमासिङ्घे H.E. Mr. Ranil Wickremesinghe सँग द्विपक्षीय भेटवार्ता भयो। उक्त भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भयो। हालै, पहिलो पटक काठमाडौंमा सम्पन्न भएको परराष्ट्रमन्त्री स्तरीय नेपाल(श्रीलङ्का संयुक्त आयोगको बैठकले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्ने तथा सार्कलाई गतिशील तुल्याउन दुबै देशले साझा पहलकदमी लिने बारेमा समेत छलफल भयो।

त्यसैगरी, उद्घाटन सत्रका समयमा आयोजक मुलुक युगाण्डाका राष्ट्रपति महामहिम योवरी कागुटा मुसेभेनी H.E. Gen. Yoweri Kaguta Museveni सँग संक्षिप्त भेट र छलफल भयो। नेपाल भन्ने बित्तिकै हिमालयको देशबाट आएको भनेर उहाँले मसँग चासोका साथ कुराकानी गर्नुभयो। मेरो तर्फबाट असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन भव्यतापूर्वक आयोजना गरेकोमा बधाइ दिएँ। सोही अवसरमा भारतका विदेशमन्त्री डा. एस. जयशङ्करसँग पनि भेटघाट तथा कुराकानी भयो। हालै, काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्री स्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिहरूलाई कार्यान्वयन गर्नेलगायत नेपाल भारत सम्बन्धलाई अझ सुदृढ पार्दै लैजाने विषयमा कुराकानी भयो।

१८. अन्त्यमा, संयुक्त राष्ट्र सङ्घपछि सबैभन्दा धेरै मुलुकहरू सदस्य रहेको र लामो समयदेखि दक्षिणका Global South मुलुकहरूलाई स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र ऐक्यबद्धताको वैकल्पिक मञ्‍चको रूपमा रहिआएको असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्नुका साथै कम्पालामा रहँदा न्यानो र हार्दिक आतिथ्य प्रदान गर्ने आयोजक मुलुकका राष्ट्रपति H.E. Yoweri Kaguta Museveni तथा विगत ३ वर्षदेखि अध्यक्षको हैसियतमा आन्दोलनलाई नेतृत्व प्रदान गर्ने अजरबैजानलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै, शिखर सम्मेलनको अवधिमा नेपालको सहभागिता र असंलग्न आन्दोलनबारे समाचार सम्प्रेषण गर्नुहुने सबै सञ्चारकर्मी मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

धन्यवाद

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू