बिहीबार, कार्तिक ८, २०८१
17:59 | २२:४४

काठमाडौंमा बन्दैछन् २ सय ६४ ठाउँमा बस बिसौनी

रासस डिसेम्बर २५, २०२३


काठमाडौं, पुस ९– काठमाडौं महानगरपालिकाले सडक सुरक्षा कायम राख्न २ सय ६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने तयारी गरेको छ। यसका लागि महानगरले चालु आर्थिक वर्षमा १३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

महानगरले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि यस्तो किसिमको बस बिसौनी निर्माण गर्न लागेको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए।

अहिले सञ्चालन भइरहेको केही र अन्य केही स्थानमा थप गरी बस बिसौनी विस्तार गर्न खोजिएको सल्लाहकार श्रेष्ठले जानकारी दिए।

‘चोकमै बस बिसौनी निर्माण गर्दा थप दुर्घटना बढेको भनिएकाले चोकको पाँच सय मिटर अगाडि वा दुई सय मिटर पछाडि निर्माण गर्न लागिएको हो। यो आधुनिक हुन्छ र निःशुल्क रूपमा इन्टरनेट प्रयोग गर्न पाइन्छ,’ उनले भने।

उनका अनुसार कुन रूटको बस कहाँ आइपुग्यो र यात्रुले कति समय पर्खनुपर्छ भन्नेबारे समेत जानकारी लिन सकिने व्यवस्था गर्न लागिएको छ। यसरी निर्माण गरिने बस बिसौनीमा एकपटकमा तीन वटासम्म बस रोक्न मिल्ने गरि बनाउने तयारी छ। बस बिसौनी निर्माणका लागि बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको र त्यसपश्चात् काम सुरू हुने महानगरको भनाइ छ।

त्यसैगरी बसको रूट मिलाउने, सडक बत्ती विस्तार गर्दै जाने, एकतर्फी सडकहरूको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिह्न व्यवस्थापन गर्ने लगायत कामको समेत तयारी भइरहेको छ।

दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरूको समय निर्धारण, पार्किङ व्यवस्थापन, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि तयारी छ।

सल्लाहकार श्रेष्ठले सडकमा संकेत चिह्नहरू मिलाउन तत्काल काम थाल्नुपर्ने बताए। ‘यस्ता चिह्नहरू आधिकारिक निकायले मात्र र अध्ययन गरेर मात्र राख्नुपर्ने भएकाले महानगरबाट अध्ययनको काम भइरहेको छ,’ उनले भने।

उनका अनुसार सडक चिह्नहरू देखिने र स्पष्ट हुनुपर्छ। बुझ्न सजिलो हुनुपर्छ। प्रोत्साहन दिने खालका हुनुपर्छ। चालु आर्थिक वर्षमा महानगरको अधिकार क्षेत्रमा पर्ने यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रूपैयाँ छुट्ट्याइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू