शनिबार, साउन १२, २०८१
06:28 | ११:१३

बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

नेपाली लिङ्क डिसेम्बर १४, २०२३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

यसअघि जिल्ला अदालत काठमाडौंले खाँणलाई थुनामा पठाउनुपर्ने भनी दिएको आदेश बदर गर्दै उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गरेको छ । उनको यो रायसँगै जिल्ला अदालतको आदेश बदर भएको हो ।

यसअघि उच्च अदालतमा दुई न्यायाधीशबीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने र प्रकाश खरेलले थुनामा पठाउनुपर्ने फरक फरक राय व्यक्त गरेका थिए ।

दुवै न्यायाधीशबीचको राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेश भएको थियो । 

उच्च अदालतको यो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिन पाउँछन् । उता, खाँणलाई पनि उच्च अदालत पाटनको आदेश चित्त नबुझे सर्वोच्चमा निवेदन दिन पाउने अधिकार छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू