शुक्रबार, फागुन १८, २०८०
13:02 | १८:४७

प्रवासमा भाषा-साहित्य प्रवर्धन गर्दै नेपाली

नवीन पोखरेल, लन्डन डिसेम्बर ९, २०२३

पृष्ठभूमिः

मानव सभ्यताको सुरुआतसँगै बसाइसराइ सुरु भएको मानिन्छ । २१ औं शताब्दीसम्म आइपुग्दा विश्वव्यापीकरणको तीव्रतासंगै आप्रवासन व्यापक हुन थाल्यो । सन् २०२० मा प्रकाशित संयुक्त राष्ट्रसंघको एक तथ्यांक अनुसार संसारमा अहिले करिब २८ करोड पहिलो पुस्ताका आप्रवासी छन् ।

त्यसमध्ये नेपालीको पनि बढ्दो उपस्थिति छ । नेपाली डायस्पोरा संख्यात्मक मात्रै नभएर गुणात्मक रुपमा पनि वृद्धि हुंदै गइरहेको छ । प्रवासमा नेपाली मुलका वैज्ञानिक छन्, चिकित्सक छन्, नीति निर्माता देखि उद्यमी–व्यवसायी, प्राध्यापक, इन्जिनियर र साहित्यकार छन् ।

१९ औं शताब्दीबाट सुरु भएको मानिन्छ नेपाली साहित्य । आधुनिक कालसम्म आइपुग्दा यसको आयाम निकै फराकिलो भएको छ । नेपाली साहित्य अब नेपालमा मात्रै सिमित रहेन । नेपालबाहिरको नेपाली साहित्य फस्टाउने क्रममा छ, नेपाल बाहिर नेपाली साहित्य विस्तारित हुने क्रममा छ ।

नेपाली भाषी विश्वको जुनसुकै कुनामा रहेपनि वा नागरिकता लिएपनि उनीहरू नेपाली भाषा र साहित्यसंग टाढिन सक्दैनन् । विदेशको व्यस्तता र सिमितताबीच उनीहरुले जति कलम चलाएका छन्, त्यसले नेपाली साहित्यको विकासमा टेवा नै पुगेको छ ।

प्रवासमा नेपाली कला साहित्य

नेपालीहरुको सय भन्दा बढी देशमा 
फैलिंदो र स्थापित हुंदै गरेको डायष्पोरासंगै नेपाली भाषा साहित्य, संस्कृति र कला पनि फैलिंदो छ । भारत, बर्मा, भुटान, थाइल्यान्ड, पपुवा न्यूगिनी, मलेसिया लगायतको पुरानो प्रवासदेखि अहिले नेपाली पुगेका युरोप, अमेरिका, अफ्रिका लगायत प्रायः देशमा नेपाली भाषा, कला संस्कृति र साहित्यका विभिन्न क्रियाकलाप भइरहेका छन् ।

दशैं, तिहार जस्ता नेपाली पर्वहरु सामूहिक र सार्वजनिक रुपमा मनाउने देखि नेपाली साहित्य, कला र सांस्कृतिक कार्यक्रम र नेपाली भाषा पाठशालाहरु स्थापना गर्ने क्रम बढ्दो छ अहिले ।

हामी जहां जान्छौं, हाम्रो भाषा पनि हामी संगसंगै जान्छ । भाषा संगसंगै हाम्रो संस्कृति पनि हामीसंगै जान्छ । भाषा र संस्कृतिसंग हाम्रो कला र साहित्य छुट्टिने कुरै भएन । त्यसैले देश छोडेर हामी प्रवासमा बस्दा हाम्रो कला र साहित्य पनि हामी संगसंगै आएको हुन्छ । त्यसैले ती भाषा, साहित्य, कला र संस्कृति जोगाउने र हुर्काउने जिम्मा हाम्रै हो । त्यसैले कला र साहित्य धेरै उत्पादक विषय नभए पनि त्यसको जर्गेनाका लागि हामी लागिपरेका छौं ।

अंग्रेजी, नेपाली गरी हालसम्म १० वटा पुस्तक प्रकाशन गरिसकेका लन्डनस्थित युवा साहित्यकार गोपी सापकोटा भन्छन्, ‘जसरी घर छोडेर बाहिर हिंडेको बेला घरको याद आइरहन्छ, मनमा कहिले घर फर्कुं भन्ने लागिरहन्छ, त्यसरी नै देश छोडेर हिंडेपछि देशको माया धेरै लाग्छ । देशको सम्झना झन् धेरै आउंछ । परदेशका स–साना कुराले पनि देशलाई सम्झाइरहन्छ । तिनै घर र देशको सम्झना अभिव्यक्त गर्ने माध्यम साहित्य बन्छ ।’

हामीले देखेका छौं, नेपालमा हुंदा खासै केही नलेखेका मानिसहरुले पनि विदेशमा आएपछि लेख्न थालेका छन् । त्यसरी साहित्य उनीहरुका लागि अभिव्यक्तिको एउटा माध्यम बनेको छ ।

सापकोटाको विचारमा प्रवासमा साहित्य लेखन उर्वर नै छ । संख्यात्मक रुपमा धेरै लेखिए पनि गुणात्मक रुपमा लेखिने काम भने अलिक थोरै छ । प्रवासमा साहित्यिक संस्थाहरु छन् । तिनीहरुले बेला बेलामा विभिन्न साहित्यिक कार्यक्रम गरिरहेका छन् । त्यसरी नै सांगीतिक कार्यक्रमहरु पनि भइरहेका छन् । तर चित्रकला सम्बन्धी कार्यक्रम एकदमै न्यून हुने गरेका सापकोटा बताउंछन् । यद्यपि चित्रकला बाहेक, अन्य कला र साहित्यको क्षेत्र भने एकप्रकारले गतिशील नै छ ।

डा. खगेन्द्रप्रसाद लुइंटेलका भनाइमा मातृभूमिबाट विदेश गएर छोटोदेखि लामो समयसम्म बसोबास गर्ने व्यक्तिहरूबाट सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भन्ने गरेको पाइए पनि वास्तविक डायस्पोरिक साहित्यचाहिं लामो समय बसोबास गरी त्यहींको भाषा, संस्कृति, रहनसहन आदि अंगीकार गरिसकेका लेखकहरूबाट सिर्जित साहित्यलाई मानिन्छ ।

लुइंटेल अगाडि थप्छन्, ‘उदाहरणार्थ प्रवासी नेपाली साहित्य भनिएमा नेपालबाहिरका नेपालीले लेखेका सबै साहित्यलाई लिन सकिन्छ, तर ती सबैलाई डायस्पोरिक साहित्यचाहिं भन्न मिल्दैन । यताबाट जो जहां गयो त्यहींको भाषा, संस्कृति, रीतिथिति, चालचलन आत्मसात गरी बसेका, तर आफ्नो जातीय धर्मचाहिँ जोगाएका वा त्यस्तो भावना भएका व्यक्तिहरूबाट त्यसैअनुरूप सिर्जित रचनालाई चाहिं डायस्पोरिक साहित्य भन्न मिल्छ ।’

प्रवासमा नेपाली साहित्यिक संस्थाहरु

प्रवासमा नेपाली जनसंख्या वृद्धिसंगै साहित्यिक गतिविधि बढेका छन् भने यससम्बन्धि संस्थाहरु जन्मने क्रम पनि अकासिएको छ ।

यस आलेखमा विशेषतः युरोप र अफ्रिका महादेश एवं संयुक्त राज्य अमेरिकालाई समेट्ने प्रयत्न गरिएको छ । उल्लेखित क्षेत्रमा नेपाली साहित्यिक संस्थाहरु खुल्ने क्रम बढिरहेको छ र तिनले निरन्तर गतिविधि पनि गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जस्ता संस्थाले विदेशमा पनि नेपाली साहित्यलाई मलजल गरिरहेका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अर्को संस्था छ, जसले संसारभरका नेपाली भाषा तथा मातृभाषा साहित्यमा कलम चलाउने श्रष्टाहरुलाई समेट्दै विश्व नेपाली साहित्य सम्मेलन गर्दछ ।

बेलायतमा नेपाली साहित्यको विकास र प्रवर्धनका लागि धेरै साहित्यिक संस्थाहरु सक्रिय छन् । नयां नयां खुल्ने क्रम पनि जारी छ । बेलायतका नेपाली साहित्यिक संस्थाहरुमा नेपाली साहित्य विकास परिषद (सन् १९९५), नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत (सन् २०००), प्रवासी नेपाली साहित्य समाज (सन् २००१), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत (सन् २००४), विश्व नेपाली साहित्य महासंघ (सन् २०१०), अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायत (सन् २०१२), सोमनाथ घिमिरे मेमोरियल ट्रष्ट (सन् २०१२), नेपाली मुक्तक प्रतिष्ठान (सन् २०१५), साहित्य चौतारी (सन् २०१६), पोयट्री ग्रुप, एवरडीन आदि छन् ।

लन्डनस्थित नेपाली राजदूतावासले पनि बेला बेलामा साहित्यिक कार्यक्रम आयोजना गर्ने गर्दछ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले संसारका विभिन्न देशमा शाखाहरु खोलेर संस्थाका गतिविधिलाई अगाडि बढाउने र बलियो बनाउने प्रयास गरेको देखिन्छ ।

युरोपका देशहरुमा पनि अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका शाखाहरुले साहित्यिक गतिविधिहरु गरिरहेको पाइन्छ ।

कतिपय देशमा साहित्यकार र पत्रकारहरु व्यक्तिगत रुपमा पनि सक्रिय छन् । फ्रान्समा हरिहर अर्याल, ददी सापकोटा, अनुराधा पौडेल सक्रिय देखिन्छन् । स्वीडेनमा नेपाल मण्डप नामक संस्था मार्फत सुवास अधिकारी सक्रिय देखिन्छन् । अरु देशमा पनि आआफ्नो तहमा साहित्यकारहरु सक्रिय नै छन् ।

साहित्यकार सापकोटाले देश छाडेर विदेशमा बस्दाको पीडा डायष्पोरिक साहित्यमा झल्कने गरेको बताए ।

साहित्य चौतारी यूकेका संयोजक साहित्यकार वासु शर्मा बेलायतमा मात्रै १५ वटा साहित्यिक संघसंस्था क्रियाशील रहेका र तिनले विभिन्न कार्यक्रम गरेर नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुरयाइरहेका बताउंछन् ।

नेपाली भाषा, साहित्यको विकास र प्रवर्धनमा सबैभन्दा महत्वपूर्ण भूमिका मिडियाबाटै सम्भव रहने भएकाले साहित्य र मिडिया विषयमा निरन्तर छलफल आवश्यक देख्छन् उनी । विदेशस्थित नेपालीको दोस्रो पुस्तामा नेपाली भाषा, साहित्य जीवन्त राखिराख्न थप कसरत आवश्यक देखिएको उनले सुनाए ।

अहिले प्रवासमा रहेका साहित्यकारहरुले प्रकाशन, वितरण र पाठकको समस्या व्यहोरिरहेका उनको बुझाइ छ ।

साहित्यकार कृष्ण बजगाईं

युरोप नेपालीको आकर्षक गन्तव्य बनेको छ । युरोपियन मुलुकमा सबैभन्दा धेरै लेखक साहित्यकार भएको मुलुक बेलायत भएको बुझाइ छ साहित्यकार कृष्ण बजगाईंको । १५ वटा साहित्यिक पुस्तकका लेखक एवं विगत १६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक वेवपत्रिका समकालीन साहित्य डट कमका प्रधान सम्पादक, नेपाली भाषा साहित्यको अनुसन्धानमूलक जर्नल ‘प्रवासन’ का प्रधान सम्पादक एवं समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष बजगाईंको भनाइमा सबैभन्दा धेरै साहित्यिक कार्यक्रम बेलायतमै हुन्छ । त्यसपछिको अर्को मुलुक बेल्जियम र पोर्चुगल हुन् । युरोपका अन्य देश फ्रान्स, नेदरल्याण्ड, स्पेन, जर्मनी, डेनमार्क, स्वीडेन, नर्वे, इटाली, रोमानिया, पोल्याण्ड आदि देशमा पनि नेपाली लेखक तथा साहित्यकारहरु छन् । ती सबै देशमा साहित्यिक संघसंस्थाहरु अस्तित्वमा छन् । तिनले स्थानीय स्तरमा नेपाली भाषा साहित्यसम्बन्धि कार्यक्रम आयोजना गर्दछन् । बेलाबेला ती देशका साहित्यकारका पुस्तकहरु प्रकाशित हुने गरेका छन् । ती मध्ये केही लेखकका पुस्तकले मूलधारको नेपाली साहित्यमा दरिलो उपस्थिति जनाएका बताउंछन् बजगाईं ।

विदेशमा अति व्यस्तताका वाबजुद पनि नेपाली भाषा साहित्यको उन्नयनका लागि नेपालीले कयौं गतिविधि गर्दै आएका छन् । विदेशिएका नेपालीहरुले नेपाली भाषा साहित्यलाई संसारभर पुरयाएका छन् ।

पत्रिका प्रकाशनको इतिहास हेर्दा विगत लामो समयदेखि युरोपबाट प्रिन्टेड पत्रिका, मुखपत्र, साहित्यिक वेव पत्रिका र समाचारमुलक वेव पत्रिका प्रकाशित भइरहेका छन् । गैर साहित्यिक पत्रिकाले पनि धेरथोर साहित्यलाई स्थान दिएको पाइन्छ ।

बेलायत र बेल्जियममा नियमितरुपमा विदेशमै जन्मेका केटाकेटीहरुलाई नेपाली भाषा र संस्कृति सिकाउने भाषा स्कूल पनि संचालन भइरहेको छ । स्वयंसेवकहरुबाट संचालित भाषा स्कूलमा पाठ्यक्रम बिना शिक्षकले आफ्नै हिसाबले पढाइरहेका छन् ।

‘विभिन्न उमेर समूहका विद्यार्थी कक्षामा उपस्थित हुनाले त्यहां कुन स्तरको शिक्षण गराउने चुनौति पनि छ । सिमित श्रोत, साधन र स्वयंसेवकबाट संचालित ती स्कूलको निरन्तरता अर्को चुनौतिको रुपमा उभिएको छ । विभिन्न कठिनाइका कारण युरोपका अन्य देशमा नियमितरुपमा स्कूल सञ्चालन भएको छैन्’, बजगाईं भन्छन् ।

एनआरएनए पूर्व अध्यक्ष एवं ‘देश देशावर’ र ‘सरसर्ती संसार’ नामक नियात्राका लेखक जीवा लामिछानेको भनाइमा डायस्पोरिक साहित्य लेखन धेरै पुरानो नभएपनि पछिल्लो समयमा नेपाली डायस्पोरिक लेखनमा एक किसिमको सृजनात्मक विष्फोट भएको छ ।

‘विश्वभरि उपन्यास, कथा, कविता, गजल, निबन्ध र साहित्यका अन्य विधामा कलम चलाउने सर्जकहरूको संख्यामा निरन्तर बढोत्तरी र ठूलो संख्यामा प्रकाशन भइरहेको देखिन्छ’, लामिछाने भन्छन्, ‘डायस्पोराको यो किसिमको सृजनात्मकता पछिल्लो समयमा नेपालभित्रको साहित्यिक गतिविधिसँग पनि झन् झन् जोडिंदै गएको छ ।’

डायस्पोरामा बसेर लेख्नेहरुले देश र परदेश दुवैतिरको परिवेश र सामाजिक मनोविज्ञान बुझेकाले सामाजिक परिवेश समेटेर पछिल्लो समयमा विविध विधामा डायस्पोरिक लेखन स्थापित हुने दिशातिर अग्रसर हुंदै गइरहेको लामिछाने बताउंछन् । ‘यो संख्यात्मक रुपमा मात्रै बढी रहेको छैन् डायस्पोरामा बस्नेहरुबाट गुणात्मक कृतिहरु सृजना भएका छन्’, उनी थप्छन्, ‘विभिन्न देशका फरक फरक भाषाका सृजनाहरूको अनुवाद मार्फत नेपाली साहित्यलाई थप समृद्ध बनाउन डायस्पोराले ठूलो भूमिका निर्वाह गरेको छ ।’

बेलायतमा युद्ध साहित्य

बेलायत र नेपालबीच कयौं ऐतिहासिक सम्बन्ध छ । नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो देश बेलायत हो भने नेपालबाट गोर्खा भर्तीमार्फत ब्रिटिश सेनामा नेपाली युवा आउन थालेको २०८ वर्ष बढी भइसकेको छ । गोर्खाहरुले ब्रिटिश सेनामा रहेर कयौं युद्ध लडेका छन् । उनीहरुले आफ्नो युद्ध अनुभव समेटेर साहित्यलेखन पनि थालेको पाइन्छ ।

सन् १८५३ देखि १८५६ सम्म भएको क्रिमिया युद्धको समयबाट विश्वमा युद्धसम्बन्धि विभिन्न विवरण लेखी युद्ध साहित्य लेखन आरम्भ पाएको सम्झन्छन् साहित्यकार एवं पूर्व गोर्खा काङमाङ नरेश राई ।

लेखकत्रय काङमाङ नरेश राई, अप्जसे कान्छा र गणेश राईले युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरु पुस्तक नै लेखेका छन् । उनीहरुले युद्ध साहित्यलाई अभियानकै रुपमा अगाडि बढाएका पनि छन् ।

सन् १८७९ जनवरी देखि जुलाईसम्म भएको एङ्लो जुलु युद्ध, सन् १९१४ देखि १९१८ सम्म पहिलो विश्वयुद्ध, सन् १९३५ देखि १९४५ सम्म दोश्रो विश्वयुद्ध, सन् १९५० देखि १९५३ सम्म कोरिया युद्ध, सन् १९५५ देखि १९७५ सम्म भियतनाम युद्ध, सन् १९८२ को फोकल्यान्ड युद्ध, सन् १९९० देखि १९९१ को गल्फ युद्ध अहिलेसम्मका ठूला युद्ध हुन् । ती बाहेक अनगिन्ती अन्य युद्ध लडिएका छन् । ती युद्धबारे पनि साहित्य लेखिएका छन् तर प्रथम र दोश्रो विश्वयुद्धको समयमा सबैभन्दा बढी युद्ध साहित्य लेखिएको छ । अहिले रुस युक्रेन युद्ध निरन्तर छ । (युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरु)

काङमाङ नरेश राई

प्रथम र द्वितीय विश्वयुद्ध बाहेक गोर्खालीले बोर्नियो युद्ध, फोकल्यान्ड युद्ध, कोसोभो युद्ध, कार्गिल युद्ध, चीन भारत युद्ध, इष्ट टिमोर युद्ध, इराक र अफगानिस्तान युद्ध लगायत युद्ध लडेका छन् । यिनै युद्धहरुको घट्ना र प्रभावबारे लेखिएका युद्ध साहित्य आधुनिक नेपाली युद्ध साहित्य रहेको बताउंछन् नरेश ।

आधुनिक युद्धसाहित्यको मेसोमा हर्षध्वज राईको एक गोर्खाली आत्मकथा, लेखक एवं साहित्यकार गणेश राईको राइफलले फलाकेको जिन्दगी कविता संग्रह, राइफलको नालबाट जीवन नियाल्दा उपन्यास, युद्ध एम्बुसमा राईफलको संगीत उपन्यास, राईफलको मूर्च्छना उपन्यास, भीम विरहीको उपन्यास विदेशी सिपाही, काङमाङ नरेश राईको उपन्यास युद्ध बोकेको सिताङ, दिपा लिम्बु राईको कविता संग्रह युद्ध सहअस्तित्व र सृजना, काङमाङ नरेश राई र अप्जसे कान्छाद्वारा सम्पादित युद्ध कविता संग्रह युद्धमा हराएको प्रेम, मिजास तेम्बे, काङमाङ नरेश राई र अप्जसे कान्छाद्वारा सम्पादित कविता संग्रह गोर्खा वार पोइम्स् (२०१३) आदि कृति पर्छन् ।

यसका साथै युद्ध चेतना नजिक रहि लेखिएका केही कृतिहरुमा रक्ष राईको कविता संग्रह सालिक उभिएर गोर्खाली, मुलीवीर राईको उपन्यास हरियो पर्खाल आदि हुन् ।

यस अतिरिक्त यदाकदा नेपाली युद्ध साहित्यबारे कलम चलाउनेहरुमा टंक वनेम, देवेन्द्र खेरेस, मुकेश राई, अञ्जु अञ्जली, लारा, विजय हितान, मनोरमा सुनुवार, विशद, विमल चाम्लिङ, देश सुब्बा, टंक सम्बाहाम्फे, अशोक राई, विमल गिरी, नरेश सुनुवार, स्व. स्वप्निल स्मृति, हाङयुग अज्ञात, नरेश नाति, जगत नवोदित, ईश्वर चाम्लिङ लगायत पर्दछन् ।

दयाकृष्ण राई, मिजास तेम्बे, केदार संकेत, विजय हितान मुकेश राई, नरेश नाति, रक्ष राई लगायतले युद्ध साहित्यमा कलम चलाइरहेका छन् ।

यस लेखनप्रति श्रष्टाहरुलाई आकर्षित गर्न ५० हजार रुपैयांको युद्ध साहित्य पुरस्कार नै स्थापना गरिएको छ । उत्कृष्ट कृतिलाई दिइने यस पुरस्कारका संस्थापक नरेश काङमाङ राई, गणेश राई र अप्जसे कान्छा नै हुन् ।

उता, बेलायतमा सन् २०१५ देखि सबैभन्दा बढी पुरस्कार ४ लाख २ हजार रुपैयां राशीको पहिचान पुरस्कार स्थापना गरिएको छ जसको संस्थापक हुन् काङमाङ नरेश राई । उत्कृष्ट कृतिलाई पुरस्कार दिने चलन छ ।

अफ्रिकामा नेपाली साहित्यिक संस्था

अफ्रिकामा कयौं नेपाली साहित्यिक संस्थाहरु क्रियाशिल छन् । हाल नाइजेरियामा रहेका साहित्यकार हिक्मत थापाका अनुसार, नेपाल अफ्रिका साहित्य समाजले नेपाली साहित्यका केही कृतिहरु प्रकाशन गर्नुका साथै दार–ए सलाम, लेगोस र कम्पालामा गैरआवासीय नेपाली संघसंगको सहकार्यमा साहित्यिक कार्यक्रमहरु आयोजना गर्ने गरेको छ ।

अनेसास अफ्रिका च्याप्टरले ‘किलिमान्जारो’ नामक वार्षिक साहित्यिक संगालो प्रकाशन गर्नुका साथै अफ्रिकामा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

साहित्यकार हिक्मत थापा

नेपाली साहित्यको अमेरिकी उन्नयन

विश्वभरि छरिएर रहेका नेपालीमूलका व्यक्तिहरुलाई संगठित गरी नेपाली पहिचानको जगेर्ना र प्रवर्धन गर्न एउटा संस्थाको आवश्यकता महशुस भइ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको परिकल्पना गरियो। नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वभर रहेका नेपाली समुदायमाझ पुरयाउनु, नेपाली पुस्तक लेखन प्रकाशन, नेपाली भाषा साहित्य, कला र संस्कृतिको गोष्ठी सम्मेलन, नेपाली लेखक, शिक्षक र कलाकारको विशिष्ट योगदानलाई प्रोत्साहन, बालबालिकामाझ नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि कार्यक्रम तय गर्ने, विभिन्न भाषा, संस्कृतिको विकासलाई टेवा दिने पवित्र उद्देश्यका साथ सन् १९९१ मा स्थपना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सोही उद्देश्य पूरा गर्न लागि परेको छ।

अनेसासमा च्याप्टर, केन्द्रिय समिति र बोर्ड अफ ट्रस्टीज गरी ३ निकाय छन्। च्याप्टरहरु वैश्विक रुपमा छन् भने केन्द्रिय समितिको कार्यालय र बोर्ड अफ ट्रस्टीजको कार्यालय संयुक्त राज्य अमेरिकामा छन्।

आफ्नो ध्येय र लक्ष्य अनुसार अनेसासले नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन, उत्कृष्ट रचनाको अन्य भाषामा अनुवादन र प्रकाशन गर्दै आएको छ। यस अतिरिक्त आफ्नो साहित्यिक मुखपत्र अन्तर्दृष्टि र अनेसास दर्पणमार्फत नेपाली साहित्यको यथोचित सेवा गरेको प्रतीत हुन्छ। नेपाली भाषा पाठशाला सञ्चालन सबैभन्दा महत्वपूर्ण विषय हो। यस कार्यका लागि कतिपय स्थानमा हुने कार्यक्रमहरुमा एनआरएनए सित सहकार्य हुने गरेको छ ।

सन् २०२३ मार्च १०, ११ र १२ मा बोष्टन, संयुक्त राज्य अमेरिकामा सम्पन्न भएको पांचौ अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलनले प्रस्ताव गरेको १३ बुंदे घोषणापत्र छोट्करीमा यहां प्रस्तुत छ ।

(१)– नेपाली भाषा शिक्षण सिकाईमा एकरुपता ल्याउन पाठ्यक्रम तयारीको गृहकार्य गर्ने।

(२)– नेपाली भाषा शिक्षण सिकाइ (भाषिक जागरण) लाई प्रभावकारी बनाउने।

(३)– नेपाली साहित्य, कला र संस्कृतिको प्रभावकारी प्रचार प्रसार र प्रवर्धनमा जोड दिने।

(४)– प्रवासमा लेखिएका साहित्यिक कृतिहरुको अभिलेख राख्ने र अनेसास पुस्तकालय निर्माणमा जोड दिने।

(५)– कार्य योजनाको वार्षिक क्यालेण्डर निर्माण गर्ने।

(६)– सम्मेलन, अधिवेशन र बैठकहरु तय गर्ने।

(७) भावी योजनाहरुको प्राथमिकता हेरी कार्यान्वयन गर्ने।

(८) कृति समीक्षा बोर्ड बनाएर प्रवासमा प्रकाशित कृतिहरुको मूल्यांकन गर्ने।

(९)– भाषा अनुवाद, नेपाली शिक्षा अध्यायन गर्न चाहने प्रवासी नेपालीलाई छात्रवृत्तिको पहल गर्ने।

(१०)– उत्कृष्ट कृति छनौट तथा अन्य भाषामा अनुवाद गराउने।

(११)– पुरस्कारको प्रभावकारितामा पारदर्शीता अवलम्बन गर्ने।

(१२)– अनुगमन, कार्यसम्पादन र बजेट व्यावस्थापनको राम्रो व्यवस्था गर्ने।

(१३)– महिलाको सहभागिता, प्रतिनिधित्व र अवसरको विषयमा उपयोगी कार्यक्रम सन्चालन गर्ने।

अमेरिकाको ओहायोमा रहेका मुक्तकमणी तीर्थराज अधिकारी भन्छन्, ‘जति नेपाली युवा परदेश जान्छन् आफ्नो नेपाली परम्परा र संस्कृति पनि लिएर गएका हुन्छन्। नेपाल भन्दा टाढा अन्य विभिन्न देशमा रहेका नेपालीहरूको अथक प्रयासबाट आज अन्तर्राष्ट्रिय नेपाली साहित्य समृद्ध बनेको छ ।’

अधिकारीको भनाइमा प्रवासी साहित्यकारले आफ्नो कलमबाट आफ्नो अनुभव र भावना साझा गरेको हुन्छ। आफू जहां रहे पनि मन र आत्मा देशकै माटोमा रहेको हुन्छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य विशेष कुनै दर्शन, सिद्धान्त तथा चिन्तनसंग जोडिएको छैन्। यसले घर भन्दा पर आफूले भोगेको मानसिक अवस्था र दुःखको चित्रण पनि गरेको हुन्छ। तसर्थ यस प्रकारको साहित्यलाई साहित्यिक मापदण्डले मात्र हेर्न मिल्दैन। यसै भएर नै प्रवासी नेपालीहरूले आफ्नो लेखनको माध्यम नेपाली नै बनाए। प्रवासी नेपाली लेखकले प्रवासको संवेदनशीलतालाई नेपाली संस्कारसित जोडेर विषमता जति अक्षरमा उतारेका हुन्छन्।

अमेरिकाको ओहायोमा रहेका मुक्तकमणी तीर्थराज अधिकारी

संयुक्त राज्य अमेरिकामा साहित्यिक गतिविधि

संयुक्त राज्य अमेरिकाका पछिल्ला केही साहित्यिक गतिविधि यहां प्रस्तुत गरिएको छ । सेप्टेम्बर पहिलो हप्ता जर्जियाको एटलान्टामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टर र नेप्लिज एसोसिएसन इन साउथ इष्ट अमेरिकाको संयुक्त आयोजनामा साहित्यिक कार्यक्रम भयो । उक्त कार्यक्रममा तीजगीत, कविता, नृत्य साथै स्वस्ति शान्ति वाचन पनि गरियो ।

केही समय अगाडि गठित अनेसास जर्जिया च्याप्टरले भानु जयन्तिको अवसरमा भानु पुस्तकालय पनि स्थापना गरेको छ ।

नेपाली कल्चरल सेन्टर, एनआरएनए, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र मधेशी एसोसिएसन इन अमेरिका (एमएए) को संयुक्त पहलमा नोभेम्बर पहिलो साता ‘श्रीमद्भागवत सप्ताह, ज्ञान महायज्ञ–एटलान्टा, आध्यात्मिक महोत्सव २०२३’ पनि हुंदैछ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका– नेपाली संस्कृति संरक्षण तथा संवर्धन समितिद्वारा प्रकाशित साहित्यिक कृति ‘साहित्य सौरभ’ ले अन्तर्राष्ट्रिय जगतमा गहकिलो छवि स्थापित गरेको छ । यो संस्थाले अमेरिकामा नेपाली साहित्यको संरक्षण र संवर्धनमा सहयोग पुग्ने गरी विविध साहित्यिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ। यसमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद संस्कृति तथा सम्पदा समितिको निकै देन छ ।

त्यसैगरि, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडा च्याप्टरको आयोजनामा अमेरिका र क्यानडाका साहित्यकारहरुलाई समावेश गरेर निआग्रा फल्स परिसरमा कविता वाचन तथा परिचय कार्यक्रम सञ्चालन हुने गरेको छ । अनेसास क्यानडाले गत वर्ष डिसेम्बर १० तारिखका दिन 
‘हजुर आमा–हजुर बा’ दिवस आयोजना गरेको थियो।

यसमा क्यानडा र संयुक्त राज्य अमेरिकाका धेरै प्रमुख शहरहरुबाट सहभागिता हुने गर्दछ । यस च्याप्टरले सञ्चालन गरेको ‘प्रवासमा नेपाली शिक्षा’ (कक्षा १–४), सीप विकास तथा विभिन्न शैक्षिक कार्यक्रम उल्लेख्य छन्। यसका लागि अध्यक्ष तारा उप्रेतीका साथै सम्पूर्ण पदाधिकारी, डा कुसुमाकर शर्मा, डा. किस्मत भण्डारी, डा. गोविन्द सिंह रावत, डा. कृष्ण हरि गौतम, उप्रेती सुरेनको सक्रियता उल्लेख्य मानिन्छ ।

अनेसास उत्तर अमेरिकी समिति निरन्तर नेपाली साहित्यको प्रवर्धनमा लागि परेको छ । संयुक्त राज्य अमेरिकामा रहेका २२ च्याप्टर (हाल १८ सक्रिय) र क्यानडा च्याप्टरको मासिक रुपमा सम्मेलन गरी छलफल, भावी कार्ययोजना, गोष्ठी सञ्चालन हुने गरेको छ। यसले गर्दा नेपाली साहित्य लेखन, पठन, मित्रता अभिवृद्धि, प्रकाशन आदिमा ठूलो योगदान पुगेको छ ।

उदाहरणका लागि ‘सिर्जनामा नारी’, ‘छोरीले जन्माएका आमाहरु’, ‘अनेसास ट्रष्टी चिनारी’, ‘साधनाको स्वर्ण वर्षः मुक्तकमणी तीर्थराज अधिकारी’ र अनेसासको इतिहास उल्लेख्य छन्। मुक्तक विधामा अमेरिका विशेषांक ‘मुक्तकसागर’ हालसालै प्रकाशन भएको छ।

अनेसास र एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को सहकार्यमा विविध नेपाली साहित्यक कार्यक्रम हुने गरेको छ। गत जुलाई २०२३ मा अमेरिकी राज्य कोलोराडोको डेन्भरमा भव्य नेपाली गजल वाचन कार्यक्रम सम्पन्न भएको थियो ।

अमेरिकामा क्रियाशील वरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको विचारमा वर्तमान समयमा सामाजिक न्याय तथा आधिकारिकताको क्षेत्रमा सुन्दर साहित्य सृजना भइरहेको छ । सामाजिक कुरीति, नारी शोषण, जातीय भेदभाव र धार्मिक असहिष्णुताको विषयमा रचित आधुनिक साहित्य आफ्नो कर्तब्यबोधप्रति सजग हुनुका साथै समाजलाई एक सूत्रमा बांध्ने कडीको रुपमा प्रयोग हुन खोजेको भान भएको बताउंदै साहित्यकार अधिकारी पछिल्लो समय विभिन्न विद्युतीय साधनको प्रभावले गर्दा लेखन साहित्यमा कुठाराघात हुन खोजेको अनुभूति पनि गर्छन् ।

प्रवासमा बढ्दैछन् साहित्यकार
प्रवासमा नेपालीमूलका साहित्यकारहरुको संख्या कति होला भन्ने आम जिज्ञासा छ । ठ्याक्कै संख्या यकिन गर्न गाह्रो छ तर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्यहरु विश्वभर २ हजार ४०० जना रहेको समाजको बोर्ड अफ ट्रष्टीज सल्लाहकार तीर्थराज अधिकारीले जनाए । समाजका ६० देशमा करिब ८० च्याप्टर छन् ।

फाट्टफुट्ट कविता र गजल लेख्नेको संख्या गन्ने हो भने संख्या धेरै हुन सक्छ । यद्यपि कृति प्रकाशित 
भइसकेका वा लेखनमा स्थापित भएकामध्ये युरोपका विभिन्न देशमा करिब ५० देखि ७० जना नेपाली कवि, लेखक रहेका गोपी सापकोटाको अनुमान छ ।

अमेरिकामा करिब १०० देखि १५० जना तथा अफ्रिकामा करिब १० देखि २० जना जति नेपालीमूलका साहित्यकारहरु रहेका नाइजेरियावासी साहित्यकार हिक्मत थापा बताउंछन् । तर, सक्रिय र निरन्तर रुपमा लेखिरहने साहित्यकारहरुको संख्या भने थोरै छ ।

युरोप, अमेरिका र अफ्रिकाबाहेक भुटान, म्यान्मार, हङकङ, दक्षिण कोरिया, इजरायल, रुस र अस्ट्रेलियामा पनि नेपाली लेखकहरुले सक्रिय रुपमा लेखिरहेका छन् ।

प्रवासमा नेपाली साहित्य प्रवर्धनमा एनआरएनएको भूमिका

प्रवासमा नेपाली साहित्यिकको प्रवर्धनमा एनआरएनएको भूमिका महत्वपूर्ण छ । गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समिति यसमा बढी अग्रसर छ । समितिले प्रवासमा नेपाली भाषा र साहित्यि प्रवर्धन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानसंग सहकार्य समेत गर्दै आएको छ ।

एनआरएनएको स्थापनासंगै संघको अन्तर्राष्ट्रिय समिति र राष्ट्रिय समन्वय समितिहरुले भाषा, साहित्य र संस्कृतिका विविध कार्यक्रम संसारभर गर्दै आएका छन् । उक्त समितिले अन्तराष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन आयोजना गर्नेदेखि लिएर विभिन्न साहित्यिक प्रतियोगिता गर्दै आएको छ । यसले नेपाली भाषा साहित्यका पुस्तक प्रकाशनदेखि विचार विमर्श र काव्य सन्ध्याहरु समेत गरिरहेको छ ।

गत वर्ष मात्र समितिले प्रवासी नेपाली लेखकहरुको नियात्रा संग्रह यात्रा– नियात्रा प्रकाशन गरेको थियो । यस अघि पनि कविता र कथाका संयुक्त संग्रहहरु प्रकाशन गरेको थियो ।

त्यसैगरि समितिले वार्षिक रु दुई लाख पुरस्कार रहेको अरनीको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने गरेको छ । प्रवासी नेपाली लेखकहरुको उत्कृष्ट पुस्तकलाई प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गरिन्छ ।

प्रवासमा नेपाली साहित्यको प्रवर्धनका लागि एनआरएनएले धेरै भूमिका खेल्न सक्ने ठान्छन् सापकोटा । ‘मलाई थाहा भए अनुसार एनआरएनएको भाषा साहित्य समिति सक्रिय छ । यसले प्रत्येक वर्ष नेपाल बाहिर बसेर लेख्ने नेपाली लेखकहरुले लेखेका कृतिहरु मध्येबाट एउटा उत्कृष्ट कृतिलाई अरनिको पुरस्कार दिने गर्छ । प्रवासमा साहित्य सिर्जना गर्नेहरुका लागि यो खुशीको खबर हो’, उनले भने ।

सापकोटाको विचारमा प्रत्येक देशका एनआरएनएको कार्यसमितिमा सो देशको एकजना लेखकलाई सदस्यको रुपमा मनोनित गरेर भाषा र साहित्यको क्षेत्रमा काम गर्न सक्छ । उक्त सदस्यले सम्बन्धित देशका साहित्यकार र साहित्यिक संस्थाहरुसँग समन्वय गरेर भाषा साहित्यको उत्थानमा काम गर्न सक्छ ।

साहित्यकारहरुलाई हौसला प्रदान गर्न पुरस्कार

प्रवासमा नेपाली भाषा साहित्य प्रवर्धनका लागि श्रष्टाहरुलाई हौसला प्रदान गर्न एनआरएनएदेखि विभिन्न व्यक्तिले पुरस्कार स्थापना गर्ने क्रम पनि बढ्दो छ ।

गैरआवासीय नेपाली संघले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना गरेको छ । उसले गैरआवासीय नेपाली लेखकहरुका कृति पठाउन आह्वान गर्ने गर्दछ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा 
संवर्धन समितिले वि.सं. २०७७ देखि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्न थालेको हो । यो पुरस्कारको राशी २ लाख रुपैयाँ नगद छ। त्यस्तै सम्मानपत्र पनि प्रदान गरिन्छ ।

संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्धन समितिका संयोजक हिक्मत थापा एनआरएनएले देशमा लगानी र आर्थिक अवसरमात्रै भित्रयाउने नभएर बाहिरी विश्वमा फैलिएको नेपाली भाषा–साहित्यमा उत्प्रेरकको कामसमेत गरि रहेको बताउंछन् ।

उनले नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धिमा योगदान पुरै रहेका श्रस्टाहरुको सम्मान गर्न पहिलो गैर आवासीय नेपाली ठानिएका कलाकार अरनिकोको नाममा संघले उक्त पुरस्कार स्थापना गरेको पनि बताए ।

गैर–आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समितिले नेपाल बाहिर बसेर पनि नेपाली भाषा साहित्यको विकास र श्रीवृद्धिमा योगदान दिंदै आएका साहित्यकारहरुको संक्षिप्त परिचयसहितको एउटा प्रवासी साहित्यकार तथ्यांक संग्रह प्रकाशित गर्ने योजनासहित काम अगाडि बढाइसकेको छ ।

युरोपलाई नै कर्मथलो बनाएका एनआरएनए पूर्व अध्यक्ष जीवा लामिछाने अध्यक्ष रहेको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशी रु. तीन–तीन लाख छ ।

वि.स. २०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहरयाएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

त्यस्तै वि.सं.२०६७ सालदेखि साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

चुनौतीः
प्रवासको साहित्यमा थुप्रै चुनौती छन् । हिक्मत थापाको बुझाइमा दोश्रो पुस्ताले नेपाली भाषा, संस्कृति र साहित्य भुल्दै छ । उनीहरुलाई नेपाली भाषा, संस्कृतितर्फको लगाव कायम राख्न भाषा विद्यालय, पाठ्यक्रम लगायतका कामहरु हुनु पर्ने जति भइराखेका छैनन् । नेपाली वाङ्ममयका पुस्तकहरु अंग्रेजी लगायत अन्तर्राष्ट्रिय भाषाहरुमा अनुवाद गरि प्रकाशन गर्नु छ । प्रवासका लेखक कलाकारहरुलाई निरन्तर प्रोत्साहन दिन र सहयोग गर्न जरुरी छ ।

अर्का साहित्यकार गोपी सापकोटाको भनाइमा प्रवासमा पठन र लेखनका लागि समयको अभाव हुन्छ । नेपाली पुस्तकहरु सजिलै उपलब्ध हुंदैनन् । प्रवासमा बसेर लेख्नेहरुका लागि प्रकाशन र वितरणको समस्या छ । ती सबै समस्या र चुनौतीहरुसंग जुध्नका लागि कुनै एउटा संस्थाले मात्रै केही गर्न सक्दैन । तर, सबै व्यक्ति तथा संस्थाले पठन संस्कृति बढाउनका लागि चेतनामूलक सन्देश प्रवाह गर्न सके धेरै समस्या समाधान हुन थाल्छ ।

अधिकारीका अनुसार, नेपालमा त नेपालीमा अङ्ग्रेजीको मिसावट छ भने अमेरिकामा नेपालीमा सेवा गर्ने भन्ने कुरा धेरै टाढाको विषय वस्तु हो।

नेपाली भाषा र साहित्यका लागि युरोपका विभिन्न संस्थाहरु र एनआरएनले महत्वपूर्ण कार्य गरिरहेका छन् । युरोपमा रहेका साहित्यिक संघसंस्थाहरु र एनआरएनका बीचमा सहकार्य हुनसके नेपाली भाषा स्कूल ब्यवस्थितरुपमा सञ्चालन हुन सक्ने बताउंछन् बजगाईं । ती स्कूलमा एकीकृत पाठ्यक्रम निर्माणका लागि एनआरएनले पहल गर्न सके विदेशमा नेपाली भाषा, साहित्य र संस्कृतिले जीवन पाउन सक्छ ।

लन्डन बस्ने साहित्यकार गोपी सापकोटा

सुझाव तथा निष्कर्षः

चार दशक भन्दा बढी रेडियो मस्कोको नेपाली सेवामा प्रस्तोता, सञ्चालक र अनुवादकको रुपमा सेवा गरेका कृष्ण प्रकाश श्रेष्ठको गत मार्च २०२१ मा देहावसान भयो। श्रेष्ठले रुसी साहित्यलाई नेपाली भाषामा र नेपाली साहित्यलाई रुसी भाषामा अनुदित गर्नुका साथै विभिन्न १०० भन्दा बढी कृति प्रकाशित गरे। लामो समय विदेशमा बसोबास गरी त्यहीँको भाषा, संस्कृति, रहनसहन अंगीकार गरेका श्रेष्ठ जस्ता लेखकहरूबाट सिर्जित डायस्पोरिक साहित्यले नेपाली साहित्यको श्रीवृद्धिमा पुरयाएको योगदान अतुलनीय छ । तर, यस्तो योगदानको अनुसन्धान र अभिलेखीकरण हुन बांकी नै छ।

प्रवासमा नेपाली साहित्यको विकास र प्रवर्धनका लागि धेरै साहित्यिक संस्थाहरु सक्रिय छन् । तर अहिले आएर प्रवासमा रहेका साहित्यकारहरुले प्रकाशन, वितरण र पाठकको समस्या व्यहोरिरहेका छन् । विदेशमा अति व्यस्तताका वाबजुद विदेशिएका नेपालीहरुले नेपाली भाषा साहित्यलाई संसारभर पुरयाएका छन् । विश्लेषकहरु भन्छन्, ‘नेपाली डायस्पोरिक लेखनमा एक किसिमको सृजनात्मक विष्फोट भएको छ र नेपाली साहित्यलाई थप समृद्ध बनाउन डायस्पोराले ठूलो भूमिका निर्वाह गरेको छ ।’

युरोपदेखि अमेरिकासम्म, एसियादेखि अफ्रिकासम्म नेपाली साहित्यकारहरु निरन्तर क्रियाशील छन्, तर प्रवासको साहित्यसामु थुप्रै चुनौती पनि छन् । एउटा प्रमुख चुनौती भनेको दोश्रो पुस्ताले नेपाली भाषा, संस्कृति र साहित्य भुल्दै जानु हो । उनीहरुलाई नेपाली भाषा, संस्कृतितर्फ जोड्न जति काम हुनु पर्ने हो त्यति भइरहेको छैन।

प्रवासमा सक्रिय नेपाली सर्जकहरुका अनुसार नेपाली भाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण तथा संवर्धन गर्न एनआरएनएले तत्काल गर्नु पर्ने कामहरु निम्न प्रकार छन्ः

१. नेपाली भाषा पठनपाठन हुने स्कूलहरुमा एकीकृत पाठ्यक्रम निर्माणका लागि पहल गर्ने,
२. प्रवासी साहित्यकारहरुलाई दिंदै आइएका पुरस्कारहरुको राशी बढाउनुका साथै पुरस्कारलाई समावेशी र पारदर्शी बनाउने,
३. संसारभरि नेपाली तथा नेपालका अन्य भाषासंग सम्बद्ध साहित्यिक संस्थाहरुसँग समन्वय गर्ने,
४. प्रवासी साहित्यकार तथ्यांक संग्रहलाई अद्यावधिक गर्ने,
५. आधुनिक प्रविधिको प्रयोग गरी प्रवासमा नेपाली प्रकाशनहरुको विक्री वितरण तथा पठन संस्कृति प्रवर्धनमा सहयोग गर्ने,
६. प्रवासस्थित नेपाली कूटनीतिक नियोगहरुसंग समन्वय गरी नेपाली भाषा साहित्यको उत्थानमा काम गर्ने, र
७. नेपाली भाषा, साहित्य तथा संस्कृतिको उत्थानका लागि नेपाली भाषी भुटानी लगायतका समुदायसंग सहकार्य गर्ने।

एनआरएनएको नयां नेतृत्वले यी विषयहरुमा पहलकदमी गर्नु वान्छनीय भइसकेको छ भने हाम्रो पहिचान जोगाउनका लागि पनि सबैले आआफ्नो ठाउंबाट स्वयंसेवी रुपमा नेपाली भाषा, साहित्य तथा संस्कृतिको जगेर्ना र प्रवर्धन गर्न जुट्नुको अब विकल्प छैन् ।

(यस आलेख एनआरएनए फेलोसीपबाट तयार भएको हो)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू