शुक्रबार, वैशाख २१, २०८१
11:48 | १६:३३

बेलायतमा केयर व्यवसाय विस्तार गर्दै थापा दम्पत्ति, केन्टमा नयाँ शाखा सञ्चालन

नेपाली लिङ्क डिसेम्बर ६, २०२३

लन्डन्- बेलायतमा सोसल केयर व्यवसायमा सफल नेपाली मूलका व्यवसायी फत्त थापा र सोनिया थापा दम्पत्तिले आफ्नो व्यवसायलाई केन्टमा पनि बिस्तार गरेका छन्।

ज्येष्ठ नागरिकहरुलाई आवश्यक सामाजिक केयर प्रदान गर्ने कम्पनी ‘होम इन्स्टेड्’ को केन्ट सेभेनओक्सस्थित शोरह्याम, पेट्सवुड एन्ड लंगफिल्ड शाखाको स्वामित्व उनीहरुले हालै ग्रहण गरेका हुन्।

सन् २०१५ मा ‘होम इन्स्टेड्’ को ग्रीनवीच एन्ड बेक्सलीहिथ शाखाबाट केयर क्षेत्रमा व्यवसाय शुरु गरेका थापा दम्पत्तिले यसअघि सन् २०२२ मा सोही कम्पनीको सदर्क एन्ड लुइसम शाखा पनि आफ्नै स्वामित्वमा लिएर सञ्चालन गर्दै आएका छन्।

व्यवसाय बिस्तारसंगै थापा दम्पत्तिले आगामी वर्ष थप ५० रोजगारी सिर्जना गर्ने योजना बनाएका छन्। यसअघि नै उनीहरुले करिब दुई सय जनालाई रोजगारी दिंदै आएका छन्।

थापा दम्पत्ति

आफ्नो कार्यक्षेत्रभित्रका समुदायका सदस्यहरुको जीवनमा सुधार ल्याउने लक्ष्यमा केन्द्रित थापा दम्पत्तिले समुदायमा पुर्‍याएको योगदानको लागि कयौं प्रतिष्ठित पुरस्कार र अवार्डहरु प्राप्त गरेका छन्।

स्वर्गीय बेलायती महारानी एलिजावेथको प्लाटिनम जुब्ली उत्सवका अवसरमा समाजसेवाका क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएबापत् ‘प्लाटिनम च्याम्पियन’ को सम्मान पाउने बेलायतभरका ४ सय ९० जनामा थापा पनि एक थिए ।

ज्येष्ठ नागरिकहरुका लागि पुर्‍याएको विशेष योगदानका लागि उनीहरुको कम्पनीले प्रतिष्ठित सिभिक अवार्ड पनि जितिसकेको छ।

‘हामीले मुख्य गरी भूतपूर्व गोर्खा र गोर्खा विधवाहरुको लागि काम गर्दै आएका छौँ। उनीहरुलाई अंग्रेजी भाषा सिकाउने, स्थानीय समुदायमा अन्तरघुलनका लागि सघाउनेलगायतका सेवा र सहयोग हामीले उपलब्ध गराउने गरेका छौँ’- थापाले भने।

यसअघि सञ्चालित ग्रीनवीच एन्ड बेकसलीहिथ तथा सदर्क एन्ड लुइसम दुवै शाखा स्थानीय स्तरमा निकै लोकप्रिय छन्। सम्बन्धित क्षेत्रमा प्रतिष्ठित अवार्डहरु जित्नेमा पनि दुवै शाखा अग्रस्थानमा छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू