शनिबार, साउन १२, २०८१
06:32 | ११:१७

गोर्खा मुद्धामा त्रिपक्षीय वार्ता बिना निष्कर्ष, पेन्सन एजेन्डा अर्कोपटक छलफल हुने

नेपाली लिङ्क नोभेम्बर २२, २०२३

लन्डन । भूतपूर्व गोर्खाका मुद्धामा भएको त्रिपक्षीय वार्ता फेरि बिना निष्कर्ष टुंगिएको छ।

बुधबार दिउंसो लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा भूतपूर्व गोर्खा प्रतिनिधिसमेतको सहभागितामा सम्पन्न बेलायत र नेपालबीचको सरकारस्तरीय वार्ता कुनै ठोस उपलब्धि बिनै सकिएको हो।

वार्तामा सहभागी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले दुई पक्षबीच सहमति जुट्न नसकेपछि बुधबारको वार्ता पनि टुंगोमा पुग्न नसकेको बताइन्।

उनले नेपाली लिंकसँग भनिन्, ‘काउन्टर आर्गूमेन्ट भयो, दुवै पक्षले आ-आफ्ना प्रस्ताव राखियो । तर, एक पक्षको प्रस्तावमा अर्को पक्ष राजी नभएपछि अब समाधानका लागि फेरि अर्को चरणको वार्ता गर्नुपर्ने भएको छ ।’ अर्को वार्ता मिति तोकिन भने बांकी रहेको उनले जनाइन्।

करिब डेढ घण्टा चलेको वार्तामा गोर्खाहरुको प्रतिनिधित्व गर्दै सहभागी गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले वार्ता सकारात्मक भएपनि निष्कर्षमा पुग्न नसकेको बताए । वेलफेयरलगायत मुद्धामा बेलायती पक्षले सकारात्मक ‘रेस्पोन्स’ गरेपनि आजको वार्ता पेन्सन मुद्धामा प्रवेश नै नगरेको उनले बताए । बेलायती रक्षा राज्यमन्त्री एन्ड्रयू मरिसनले अर्को वार्ता मिति छिट्टै दिने र यस एजेण्डामा थप छलफल गर्ने बताएको राईले जनाए ।

वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य र बेलायत सरकारको नेतृत्व रक्षा राज्यमन्त्री मरिसनले गरेका थिए ।

भूतपूर्व गोर्खाहरुको प्रतिनिधित्व गर्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ र मेजर (रि.) जुदबहादुर गुरुङ सहभागी भएका थिए। साथै नेपाली राजदूतावासकी उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्न बहादुर गोदार तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता थियो।

वार्तामा यसअघि भएका द्विपक्षीय समितिका वैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन एवं कल्याणकारी सुविधाहरुबारे भएको प्रगतिको समीक्षा भएको दूतावासले जनाएको छ ।

बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका धेरैजसो विषयमा आफ्नो जवाफ प्रस्तुत गरिसकेपछि उक्त विषयमा नेपालको तर्फबाट राजदूत आचार्य एवं जुदबहादुर गुरुङ्गले ती विषयमा तर्कहरुसहित प्रतिउत्तर दिएका थिए ।

राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधारस्तम्भको रुपमा रहेका भूपू गोर्खाका मागहरुका विषयमा दीर्घकालीन समाधानका लागि अनुरोध गरेका थिए ।

बैठकमा परराष्ट्र मन्त्रालयका यूरोप अमेरिका महाशाखा प्रमुख गणेशप्रसाद ढकालले नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको सन्देशसहित भूपू गोर्खाका मागहरु शीघ्र सम्बोधन गर्ने विषयमा जोड दिए ।

आजको बैठकमा नसमेटिएका एवं थप अध्ययन गर्नुपर्ने विषयहरुमा पुनः अर्को बैठकमा छलफल गर्ने सहमति भएको दूतावासले जनाएको छ ।

आफ्ना मागहरुको पक्षमा दबाब बढाउन वार्तास्थलबाहिर सयौंको संख्यामा पूर्व गोर्खाहरु भेला भएका थिए।

तस्विर- शिव भण्डारी 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू