बुधबार, ८ अक्टोबर, २०२५
20:01 | ००:४६

बेलायतमा होमलेस व्यक्तिको मृत्युमा वृद्धि, एकै वर्षमा १ हजार ६ सय बढीको निधन

नेपाली लिङ्क अक्टोबर ८, २०२५

लन्डन । बेलायतमा होमलेस (घरविहीन) अवस्थामा रहेका व्यक्तिहरूको मृतक संख्या वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ ।

म्युजियम अफ होमलेसनेसले संकलन गरेको तथ्यांक अनुसार सन् २०२४ मा १ हजार ६ सय ११ जना होमलेस व्यक्तिको मृत्यु भएको छ जुन  तथ्यांक सन् २०२३ को तुलनामा ९ प्रतिशतले बढी हो ।

मृत्यु हुनेहरुमा अधिकांश घटना आत्महत्या र लागूपदार्थ प्रयोगसँग सम्बन्धित छन् । पछिला वर्षहरूमा ‘स्पाइस’ र ‘निटाजिन्स’ जस्ता कृत्रिम लागूपदार्थहरू अत्यन्त घातक बन्दै गएका छन् ।

बेलायतकी होमलेससम्बन्धि मन्त्री एलिसन म्याकगर्भनले यसलाई हृदयविदारक भन्दै सरकारले होमलेसहरुका मूल कारण समाधान गर्ने प्रयासलाई तीव्र बनाएको बताइन्।

आर्चर प्रोजेक्टका प्रमुख टिम रेनशाले भने, ‘हामीले सडकमा मानिस मरेको देखेर अचम्म मान्नु हुँदैन, किनभने हाम्रो आवास प्रणालीले गरिबहरूलाई घर उपलब्ध गराउन असफल भएको छ।’

उनका अनुसार होमलेस हुनको मुख्य कारण मानसिक स्वास्थ्य, आघात, डिप्रेशन र गरीबीसँग जोडिएको हुन्छ।

सार्वजनिक तथ्यांक अनुसार मृतकहरूमध्येका एक ५१ वर्षीय एन्टोनी मार्क्स, जसलाई सन् २०२४ को अगस्टमा लन्डनको किंग्स क्रस नजिक आक्रमण गरिएको थियो । अस्पतालबाट फर्किएपछि दुई हप्तामै उनी पुनः बिरामी परेर निधन भए । उनको मृत्युमा चार जनामाथि मुद्दा दायर गरिएको छ ।

सन् २०२४  नोभेम्बरमा शेफिल्डमा १० दिनभित्र तीनजना होमलेस महिलाको मृत्यु भएको थियो। तिमध्ये एक महिलाको अन्त्येष्टि समारोहमा कोहीपनि उपस्थित नभएको खबर सार्वजनिक भएको थियो ।

कुल मृतकमध्ये तीन चौथाइ पुरुष छन् भने ११ जना बालबालिका पनि छन्, यद्यपि मन्त्रालयले वास्तविक संख्या अझ बढी हुन सक्ने जनाएको छ।

इंग्ल्याण्डमा १ हजार १ सय ४२ जना, नर्दर्न आयरल्याण्डमा २ सय ११ जना, वेल्समा ९० जना र स्कटल्याण्डमा १ सय ६८ जना होमलेसको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

वेल्स र स्कटल्याण्डमा मृतक संख्यामा हल्का कमी देखिएको छ। यो तथ्यांकलाई वास्तविक स्रोतको माध्यमबाट ‘म्युजियम अफ होमलेसनेस’ को डाइङ होमलेस प्रोजेक्टले तयार पारेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू